मदन भण्डारी र उनीप्रति बाँकेली जनताकाे सम्मान ( भिडीयाे सहित)

लाेकेन्द्र थापा
देशको राष्ट्रपति हुनुभएन, प्रधानमन्त्री पनि हुनु भएन, न त मन्त्री नै हुनुभयो । सरकारी उच्च ओहदामा नपुगे पनि चर्चा त त्यसबेला देखि अहिलेसम्म नै उहाँको हुने गरेको छ । देशलाई अप्ठेरो परेको बेला र राजनीतिमा विसंगति पैदा भएको बेला हरपल सम्झने नाम हो मदन भण्डारी ।
https://youtu.be/MmlB8qv-rJg
विश्व समुदाय, राष्ट्र, जनता र पार्टीहरुले खोज्ने, बुझ्ने, जान्ने, सुन्ने र नतमस्तक भएर श्रद्धा गर्ने महान योद्धाको नाम हो मदन भण्डारी । उहाँको रहस्यमय हत्या भएको २३ वर्ष समेत नाघि सकेकाे छ । नेपालको पूर्वी भागको ताप्लेजुङ जिल्लाको ढुंगेसाँघुमा देवीप्रसाद भण्डारी र चन्द्रकुमारी भण्डारीको माइला छोराको रुपमा २००९ साल असार १४ गते शुक्रबारको दिन उहाँको जन्म भएकाे थियाे । न्वारनको नाम मोतीप्रसाद भण्डारी भए पनि उहाँ मदन भण्डारीका नामले स्थापित हुनुहुन्छ ।
बाल्यकाल देखि नै तृष्ण बुद्धिका कारण चर्चित उहाँले चण्डी कण्ठाग्र गर्नु भएको थियो । २०२४ सालमा प्रवेशिका उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्न भारतको मथुरा जानुभएको उहाँ त्यसको दुई वर्षपछि देहरादुन हुँदै बनारस पुग्नुभएको थियो । बनारस विश्वविद्यालयबाट भाषा साहित्यमा स्नातकोत्तर गर्नु भएको थियो । बनारस बस्दा नेकपाका संस्थापक महासचिव कमरेड पुष्पलालसँग भेट भएपछि राजनीतिक यात्रा सुरु भएको थियो ।
२०२९ सालमा नेकपाको जनवादी साँस्कृतिक मोर्चाको केन्द्रीय सदस्य भएर काम सुरु गर्नुभएका मदन भण्डारी प्रभावशाली व्यक्तित्व र स्पष्ट राजनीतिक विचारधारा भएका कारण १ वर्षको अवधिमा नै राजनीतिक पूर्णकालीन कार्यकर्ता हुनुभयो ।
२०३३ सालमा ‘मुक्तिमोर्चा’ प्रकाशन मण्डल गठन भयो । उहाँ त्यसको केन्द्रीय सदस्य हुनुभयो । २०३४ सालमा त्यस प्रकाशन मण्डल र अन्य कमरेडहरुसहित पुष्पलालसँग अलग भई झापा आन्दोलनका क्रान्तिकारीहरुसँग हातेमालो गर्दै अगाडि बढ्ने निर्णयका साथ कोअर्डिनेसन कमिटीमा समाहित हुनुभयो । २०३५ सालमा नेकपा (माले)को स्थापना भयो । मदन भण्डारी केन्द्रीय सदस्य हुनुभयो ।
पार्टीलाइै वैचारिक रुपमा स्पष्ट बनाउने र समय सापेक्षा विचार सिद्धान्त र संगठन बनाउन नेतृत्वदायी भूमिकामा रहनुभयो । २०४१ सालमा पोलिटब्युरो सदस्य हुनुभयो । पार्टीको नेतृत्व गर्ने र विचार निमार्णमा अग्रणी भूमिका निर्वाह गरेका कारण २०४६ भाद्रमा भएको भूमिगत कालिन चौथो महाधिवेशन (सिराहा) द्वारा उहाँ महासचिव चयन भई पार्टीको नेतृत्व गर्नुभयो ।
२०४६ सालको आन्दोलनलाई सफलतामा पुर्याएर पार्टीभित्रको व्यवस्थापन मिलाएर २०४७ साल पुस २३ गते नेकपा (मा)सँग पार्टी एकीकरण गरेर मनमोहनलाई अध्यक्ष बनाई आफू महासचिव हुनुभयो ।
२०४७ सालको संविधानलाई आलोचनात्मक समर्थन गर्दै त्यो संविधानमा २७ वटा बुँदामा असहमति बुँदा राख्नुभयो । ती २७ वटा असहमतिका बुँदा १६ वर्षपछि जनआन्दोलन सफल भएपछि गणतान्त्रिक संविधान निर्माण गर्दा २०६३ सालको अन्तरिम संविधानमा हु–बहु राखेर निर्माण गरिएको छ । २०४८ सालको आम निर्वाचनमा उहाँले काठमाडौं क्षेत्र नं १ र ५ बाट विजयी हुनुभयो ।
अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई उहाँबाट पराजित हुनुभयो । २०४९ सालको पाँचौं महाधिवेशनमा जबजको कार्यक्रम पारित भई उहाँ पार्टीको महासचिव हुनुभयो । जबजको प्रकाशमा पार्टी र राष्ट्रलाई अगाडी बढाउने क्रम शुरु भएको थियो । २०५० सालमा विश्वभरीका समाजवादीहरुको सम्मेलन कलकत्तामा भएको थियो । त्यस सम्मेलनमा मदन भण्डारीले पेस गर्नुभएको माक्र्सवादको सिर्जनात्मक ढंगले विकास गर्ने कार्यपत्रले निकै चर्चा पायो ।
उहाँका विचारहरु विश्वव्यापीकरण भईरहेका थिए । जबजलाई परिस्कृत र स्थापित गर्ने सन्दर्भमा अगाडि बढीरहेको अवस्थामा देशी–विदेशी प्रतिक्रियावादीहरुको रहस्यमय षडयन्त्रबाट २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा उहाँको जिप दुर्घटना गराई हत्या गरियो ।
देशले लोकतान्त्रिक, गणतान्त्रिक, वामपन्थी नेता गुमायो । जनताका आशा भरोसाका केन्द्र, राष्ट्रियताका पहरेदार, अभिभावक हामी सबैले गुमायौं । ४१ वर्षको युवा उमेरमा नै राष्ट्रलाई नेतृत्व दिने, कम्युनिस्ट आन्दोलनलाई वैचारिक मार्ग निर्देश दिने, विश्व कम्युनिष्ट आन्दोलनलाई सिर्जनात्मक ढंगले अगाडि बढाउने यो देशका शिखर पुरुष, सबै क्षेत्रका अगुवा महायन्ताको अवसान हुन पुग्यो अल्पायुमा नै ।
मदन भण्डारी र जबजको ‘एन्टिथेसिस’ को रुपमा अगाडि सारिएको ‘प्रचण्डपथ’ आज स्वयं माओवादीहरुबाट नै बेवारिसे भइसकेको छ । सशस्त्रबलबाट मात्रै राज्यसत्ता कब्जा गर्न सकिन्छ भन्नेहरु शान्तिपूर्ण जनआन्दोलनमा सहभागी भई संविधान सभाबाट लोकतान्त्रिक गणतान्त्रिक संविधान जारी गर्न सहभागी भए ।
बन्दुकको नाललाई शक्तिको स्रोत ठान्नेहरु जनमतलाई सर्वोपरि ठान्ने अवस्थामा आए । एकदलीय शासन व्यवस्था र जातीय शासन व्यवस्था र जातीय राज्यको वकालत गर्नेहरु अहिले बहुजातिय, बहुधार्मिक, बहुसांस्कृतिक समाज स्वीकार गर्दै बहुलवादी खुल्ला समाजको पक्षमा आएर बहुदलिय प्रतिस्पर्धालाई स्वीकार गरेका छन् । यसले जनताको बहुदलीय जनवादको श्रेष्ठता हासिल गरेको छ ।
नवउदारवादी प्रजातन्त्र, संवैधानिक राजतन्त्र, खुला बजार अर्थतन्त्रलाई मात्र शासन व्यवस्था ठान्ने कांग्रेस सामाजिक न्याय सहितका प्रजातन्त्र, गणतन्त्र र मिश्रित अर्थव्यवस्थामा आइपुग्नु जबजको प्रभाव हो । जबज नामसँग जसको जतिसुकै दुश्मनी होस्, आफूले बाँडेका फोस्रा सपनाहरुको आत्मदाहबाट बचाउन जवजले लिएको राजनीतिक बाटो नहिँडी कसैलाई पनि सुखै छैन । जबज राष्ट्रको मुलबाटो बनेको छ ।
जबजलाई भित्री आत्माबाट अस्वीकार गरे पनि ओठे भक्ति गरेर केही विद्वान आफूलाई जबज र मदन भण्डारीका सच्चा हिमायति देखाउन तल्लीन छन् । उनीहरु जबजलाई कमजोर बनाउन विभिन्न नक्कली परिस्थिति सिर्जना गर्दैछन्, केवल सस्तो लोकप्रियताका लागि जबज र मदन भण्डारीलाई प्रयोग गर्दै छन् ।
जबजको गहिरो अध्ययान नगरी अब जबजको औचित्य पुरा भयो । क्रान्ति सम्पन्न भयो, क्रान्ति सम्पन्न भएपछि जबजको उपदेयता पूर्ण भयो भन्नेहरु पनि छन् ।
क्रान्ति सम्पन्न भएपछि पनि जबजका ३ वटा चरण अझ बाँकी छन् । पुरानो समाज (सामान्तवाद)को अवशेषको अन्त्य गर्ने, नयाँ समाजमा जबजका मान्यता स्थापित गरी उत्पादन सम्बन्ध सुदृढ बनाउने, समाजवाद निर्माणका लागि आधार तयार बनाउने । यी ३ चरण पुरा गरी समाजवादमा प्रवेश गर्ने अहिलेको कार्यनीति हो । यतिबेला जबजका सच्चा पहरेदारहरुले मात्रै आन्दोलन र क्रान्लिाई टुंगोमा पुर्याउनेछन् ।
दिगो शान्ति स्थापना गरेर समृद्ध नेपाल निमार्णको महान अभियानमा जुट्ने छन् । नयाँ नेपालको निमार्ण गर्दै स्वतन्त्र र स्वाभिमान पूर्वक समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभिभारा पूरा गर्नेछन् । समयले दिएको जिम्मेवारी पूरा गरी जननेता मदन भण्डारीले दिनुभएको विचारको अगुवाइले भावी पुस्तामा विजयको यात्रा सुनिश्चित गरिरहनेछ यही नै मदन भण्डारी प्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।








