१ लाख ६८ हजार उद्योगको अनुगमन गर्न ७ लाख मात्र


असीम तिमल्सिना, काठमाडौं । सञ्चालनमा आएका कम्पनीको अनुगमन गर्न कम्पनी रजिष्ट्रार कार्यालयमा बजेट कम हुँदा बजार अनुगमन रोकिएको छ । कम्पनी सञ्चालन सम्बन्धी अनुगमन व्यवस्थाले महिनाको कम्तीमा तीन वटा उद्योगको अनुगमन गर्नुपर्ने भनेतापनि बजेट अभावले गर्दा चालु दुई महिना यता एउटै उद्योग तथा बजारको अनुगमन हुन नसकेको हो ।
आर्थिक वर्ष २०७३/०७४ मा बिनियोजन भएको बजेट सकिएकोले जेठदेखि बजार अनुगमन गर्न नसकिएको कम्पनी रजिष्ट्रार कार्यालयकी प्रमुख गीता कुमारी हुमागाईंले बताउनु भयो । ‘हरेक वर्षको अन्तिममा बजेट अभाव हुँदा बजार अनुगमन गर्न सकिएको छैन ।’ उहाँले पर्याप्त बजेट नहुँदा नै अनुगमन गर्न नसकिएको जिकिर गर्नुभयो ।

कम्पनी रजिष्ट्रार कार्यालयमा हाल एक लाख ६८ हजार भन्दा बढी उद्योग दर्ता छन् । ‘ती मध्ये कतिपय उद्योग बन्द भएका छन् । अनुगमनको अभावमा कुन उद्योग, ब्यवसाय कसरी चलेका छन् जानकारी लिन सकिएको छैन ।’ प्रमुख रजिष्ट्रार हुमागाईं भन्नुहुन्छ ।
आर्थिक वर्ष ०७३/०७४ को लागि सीप विकास अन्र्तगत रु ७ लाख एक हजार बजेट विनियोजन भएपनि देशभर अनुगमन गर्न सकिएन । ‘हामीले अर्थ र उद्योग मन्त्रालयमा बजेट बढाउन माग गरेपनि सुनुवाई भएको छैन, पर्याप्त बजेट नहुँदा हरेक आर्थिक वर्षको अन्तिम दुई महिना कुनै अनुगमन हुन सक्दैन ।’ कम्पनी रजिष्ट्रार कार्यालयका लेखा अधिकृत कर्णबहादुर भण्डारीले भन्नु भयो । ‘ बजेट बढाएरै माग गरिएपनि मन्त्रालयहरुले घटाई दिने गरेका छन् ।’ उनले भने । कार्यालयले आर्थिक वर्ष ०७४/०७५ का लागि रु १० लाख बजेट माग गरेको भएपनि अहिलेसम्म कति बजेट विनियोजन भयो थाहा छैन । ‘भर्खरै बजेट भाषण सकियो केहि दिनमा थाहा होला ।’ लेखा अधिकृत भण्डारी भन्नुहुन्छ ।
अनुगमन नाममात्रको
कार्यालयले मासिक तीन ओटा कम्पनीको अनुगमन गर्ने भनेपनि त्यो नाम मात्रको हुने गरेको छ । अनुगमनमा कम्पनीको आर्थिक, वातावरणीय तथा सामाजिक प्रभाव र अवस्थाका बारेमा निरिक्षण गर्नुपर्ने भएपनि पर्याप्त जनशक्ति अभावकै कारण राम्ररी अनुगमन गर्न सकिएको छैन ।
फाइल खोज्नै दिन जान्छ
सरकारले सबै सरकारी कार्यालयलाई कम्प्युटर सिष्टममा लैजाने भनेपनि कम्पनी रजिष्ट्रार कार्यालय अझै अपग्रेड भईसकेको छैन । कम्पनीको रजिष्ट्रार कार्यालय त्रिपुरेश्वर प्राङ्गणमा जानुभयो भने अस्तब्यस्त छ । कर्मचारीहरु दिनभरी फाइल र ढड्डा खोज्नमै ब्यस्त हुन्छन् । ‘हामीलाई बिहानदेखी बेलुकासम्म फाईलमै घोत्लिनु पर्ने अवस्था छ । धेरै फाईलहरु कम्प्युट्र्राइज्ड गर्न बाँकि छन् । बिस्तारै प्रशासनिक काम सकेर अनुगमनमा लाग्ने छौँ ।’ प्रमुख रजिष्ट्रार हुमागाईँ भन्नु हुन्छ । हाल कार्यालयमा ४६ जना कर्मचारी रहेका छन् ।
शाखा छैनन् रजिष्ट्रार कार्यालयको
कम्पनी रजिष्ट्रार कार्यालयले स्थापना भएको करिब ३५ वर्ष पुग्न लाग्दा समेत देशका अन्य क्षेत्रमा शाखा कार्यालय खोल्न सकेको छैन । यसले पनि प्रभावकारी अनुगमनमा बाधा पुर्याएको प्रमुख रजिष्ट्रार हुमागाईंको दावि छ ।
अघिल्लो आर्थिक वर्षमा कार्यालयले रु २० करोड राजश्व संकलन गरेकोमा चालू आर्थिक वर्ष ०७३/०७४ मा रु ६० करोड राजश्व संकलन गर्न सफल भएको छ ।








