ऋचा शर्मालाई शारीरिक रिलेशन भयो कि भएन सोध्दा किन रिसाउने ?


सञ्चारकर्मी ऋषि धमलालाई नचिन्ने सायदै होलान् । रिपोर्टस क्लब नेपालका अध्यक्ष धमला नेपाली पत्रकारिता क्षेत्रमा सदैव चर्चामा आउने नाम हो । टेलिभिजनको पर्दामा होस् वा रेडियो कार्यक्रममा ‘धमलाको हमला’बाट कोही बचेका छैनन् ।
दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय धमलाले नेपाली राजनीतिका शिर्षस्थ नेतादेखि फिल्मी क्षेत्रका सबै खाले कलाकारका अन्र्तवार्ता लिइसकेका छन् । धेरैले धमलालाई प्रश्नै प्रश्नले ‘हमला’ गर्ने पत्रकारका रूपमा समेत चिन्दछन् । उनी हिमालयन टेलिभिजनमा ‘धमलाको हमला’ नामक टक सो समेत चलाउँछन् । सबैलाई ‘हमला’ गर्ने धमलालाई यस पटक मकालु खबरले ‘हमला’ गरेको छ ।

अहिले के मा व्यस्त हुनुहुन्छ ?

प्रदेश नं. २ क्षेत्रको निर्वाचनमा एकदमै व्यस्त छु । हाम्रा नेताहरू चुनावका बेलामा मात्र मधेस जान्छन् । चुनावका बेलामा मात्र मधेसका एजेण्डा बनाइन्छ । मधेसको विकास र जनताका बारेमा काम गर्नुपर्छ भनेर कुनै पनि दलहरुमा सोच छैन । मधेसका लागि राजनीति गरेको भन्नेहरुले समेत केही गरेनन् । मधेस नेता विहिन छ । त्यही भएर रिपोर्टस क्लब नेपालले सप्तरी देखि विरगंजसम्मका जनताहरुसँग त्यस क्षेत्रका उम्मेद्वारहरुलाई राखेर मधेसको विकास, संवृद्धि, स्थायीत्व र अधिकारका बारेमा साक्षात्कार गराउने अभियान सञ्चालन गर्दैछ ।

नेपाली राजनीतिमा सबैभन्दा ग्ल्यामर भएको नेता को छ ?

पछिल्लो समयमा ‘प्रचण्ड’मा ग्ल्यामर देख्छु । जनतामा उनको क्रेज छ, भिजन पनि छ तर, पार्टी कमजोर छ । प्रचण्डमा मासलाई कन्ट्रोल गर्ने क्षमता भए पनि जनसमर्थन कमजोर छ । काँग्रेसका शेरबहादुर देउवा पनि पपुलर नै हुन् । तर, जनतालाई प्रभाव पार्न सक्ने र मास कमान्डिङ गर्ने क्षमता छैन ।

प्रचण्ड, शेरबहादुर र केपी ओली मध्ये कसलाई रोज्नुहुन्छ ?

तीन जनाको आ–आफ्नै विशेषता छ । एक जनालाई मात्र रोजेर हुँदैन । देउवाको आफ्नै विशेषता छ, प्रचण्डको आफ्नै भूमिका छ, केपी ओलीपनि पब्लिकको क्रेज भएको नेता हो । अहिलेको अवस्थामा यी मध्ये कुनै एउटालाई मात्र लिएर जान सकिन्न ।

तपाईँ सिधा जवाफ दिनुस्, एउटा नेता छान्नुपर्दा कसलाई छान्नुहुन्छ ?

म अहिलेको अवस्थामा प्रचण्ड, शेरबहादुर र केपी ओली मध्ये एउटालाई मात्र छान्न सक्दिन । अहिले कुनै एउटा नेताले देशको समस्या समाधान गर्न सक्दैन । यी तिन जना नेताहरू देशको आवश्यक्ता हो । उहाँहरूले लोकतन्त्र, शान्ति प्रक्रिया र सङ्घीयतामा जसरी एक हुनुभयो, अब राष्ट्रियता, जनता र विकासको पक्षमा एक हुन आवश्यक छ ।

तपाईँले धेरै नेताहरूको अन्र्तवार्ता लिनुभयो, दिनहुँ भेटघाट गर्नुहुन्छ । नेपालका नेताहरूमा भएको कमजोरी के हो ?

नेताहरूको सबैभन्दा ठुलो कमजोरी भनेको अध्ययनशील नहुनु र सूचना ग्रहण गर्न नसक्नु नै हो । नेताहरूमा इन्फरमेशन नै छैन । स्व. गिरिजा प्रसाद कोइरालामा अध्ययनशील, सूचना लिन सक्ने गुण थियो । बिहान साँढे ५ बजे फोन गरेर ‘ऋषि के छ सूचना, के भइरहेछ’ भनेर बोलाउनु हुन्थ्यो । अहिलेका नेताहरूमा समय सापेक्ष विषयमा अध्ययन गर्ने र बहस गर्ने क्षमता नै छैन ।

तपाईँले अन्र्तवार्ता लिइरहँदा त्यस्ता कमजोर नेताहरू को–को पाउनु भयो ?

धेरै छन्, म अन्र्तवार्ताकार भएको नाताले कुनै एउटाको मात्रै नाम उल्लेख गर्दिन । धेरै छन् जसको अन्र्तवार्ता लिँदा लिँदै विचैमा कहिले सकिएला ! भन्ने भएको छ । एउटाको मात्रै नाम उच्चारण गरेर आग्रह–पूर्वाग्रहको भन्दापनि आग्रह–पूर्वाग्रह भन्दा माथिको पत्रकारिता गर्न चाहन्छु ।

स्वर्गिय गिरिजा प्रसाद कोइराला तपाईँ सामु आइपुग्नु भयो भने तपाईँले सोध्न बाँकी रहेको प्रश्न के छ ?

स्व. गिरिजा प्रसाद कोइराला मेरो मनपर्ने नेता हो । उहाँको धेरै अन्र्तवार्ता लिएँ, धेरै घुलमिल भएँ । १८ वर्षसम्म मैले धेरै अन्र्तरंग वार्ताहरु गरेको छु । उहाँ वितेर गइसके पछिको कुरा नगरौं । उहाँले नेपालमा लोकतन्त्र, विधिको शासन, कानुनी राज्य दिनुभयो, १० वर्षको सशस्त्र जनयुद्ध गरेको माओवादीलाई १२ बुँदे सहमतिबाट शान्तिपूर्ण बाटोमा ल्याउन उहाँले गरेको योगदान अनुकरणीय छ । यस्ता पात्रहरु राजनीतिमा कमै जन्मिन्छन् ।

तपाईँले प्रश्न गर्दा प्रायः ‘जन्ता जान्न चाहन्छन्’ भन्नु हुन्छ यो थेगो कसरी आयो ?

हैन, जन्ता जान्न चाहन्छन् ! मैले धेरैको अन्र्तवार्ता लिइरहँदा धेरै पटक सोचें । मैले त जन्ताका लागि काम गरेको हो, अब मेरो मार्फत जनताले जान्नु पर्दछ । र यसका लागि अब हरेक अन्र्तवार्तामा म नेताहरूलाई सोध्छु ‘जन्ता जान्न चाहन्छन्’, मुगुको विकासका बारेमा ‘जन्ता जान्न चाहन्छन्’ तिमीहरूले के ग¥यौं ? सप्तरीका ‘जनता जान्न चाहन्छन्’ त्यहाँको विकासमा तिमीहरूले के ग¥यौं ?

तपाईँको २२ वर्षको पत्रकारिताको अनुभवमा नेपालको पत्रकारिता केका लागि गरिएको रहेछ ?

नेपाली पत्रकारिता केका लागि गरिएको भन्ने विषयमा म गहिरिएर जान चाहन्न । नेपाली पत्रकारिता जुन स्थानमा छ त्यसलाई सम्मान गर्छु । हामीले मिसन पत्रकारिता हैन, व्यावसायिक पत्रकारिता गर्नुपर्छ । पत्रकारिता व्यक्ति समूह पार्टीको लागि हैन जनता र देशको लागि गर्नुपर्छ । पार्टी र नेतालाई खुसी बनाउन पत्रकारिता गर्ने हैन, सिस्टमका लागि गर्ने हो । लोकतन्त्रमा व्यावसायिक पत्रकारिता फष्टाउँछ । नेपालमा क्वालिटी पत्रकारिताको विकास कमै भएको छ । व्यावसायिक पत्रकारिता गर्ने पत्रकारहरु औलामा गन्न सकिने मात्र छन् ।

तपाईँलाई कुन नेतासँग अन्र्तवार्ता लिँदा सहज हुन्छ ?

धेरै नेताहरू छन् । स्वर्गिय कृष्ण प्रसाद भट्टराईसँग ८७ ओटा अन्र्तवार्ता लिएँ । उहाँसँग अन्र्तवार्ता लिँदा आनन्द आउँथ्यो । सैद्धान्तिक, तार्किक कुरा गर्नुहुन्थ्यो । मैले १५ वर्षको उमेरमा उहाँको पहिलो अन्र्तवार्ता लिँदा सुरुमा पत्याउनु भएन । मलाई ‘१० ओटा प्रश्न लेखेर देऊ’ भन्नु भयो । प्रश्नहरू हेरिसकेपछि मात्र अन्र्तवार्ता दिनुभयो ।

स्व. मदन भण्डारी, साइकल चढेर हिँड्नुहुन्थ्यो । म दृष्टि साप्ताहिकमा काम गर्थे, उहाँले बागबजार कार्यालयमा आएर मलाई हेर्दे ‘तपाईँ पत्रकारिता गरेर टिक्ने की राजनीति गर्ने’ भनेर सोध्नु भयो ? मैले ‘म राजनीति गर्दिन पत्रकारितामै लाग्छु’ भनेर भने । उहाँको अन्र्तवार्तामा तार्किक र बौद्धिक कुरा हुन्थ्यो ।

गिरिजा प्रसाद कोइराला नलुकाई सबै कुरा भन्ने मान्छे । प्रचण्ड, बाबुराम भट्टराई, गगन थापा, नरहरी आचार्य, सुवास नेङवाङ, बामदेव गौतम, भलनाथ खनाल, केपी ओली, कृष्ण प्रसाद सिटौलाहरु अन्र्तवार्तामा सहजता हुन्छ ।

तपाईँले सबै प्रकारका व्यक्तिसँग अन्र्तवार्ता लिँदा ती सबै विषयसँग कसरी तादम्यता मिलाउनु हुन्छ ?

पत्रकार भएपछि सबै कुराको ज्ञान लिनु पर्छ । एउटा मात्रै विषयमा रहेर विज्ञता हासिल गर्छु भनेर सोच राख्नु हुँदैन । मलाई भारतका नेता ‘एम जे अकबर’ले भन्नु भएको थियो ‘मिष्टर धमला ! पत्रकारिता भनेको आर्यघाटमा नपुगुन्जेल सम्म सिक्ने पेसा हो है’ उहाँको यो वाक्य मैले सदैव सम्झने गर्दछु । म प्रत्येक दिन पत्रकारितामा सिकिरहेको छु ।

तपाईका प्रायः अन्र्तवार्ताहरु किन विवादमा आउँछन्, खास गरी सेलिब्रेटीसँगका अन्र्तवार्ता ?

मैले जतिपनि अन्र्तवार्ता गरेँ तथ्यमा आधारित भएर गरेको छु । मेरा धेरै अन्र्तवार्ताहरुमा विषय र प्रसङ्गले उठाएका कतिपय प्रश्नले धेरैलाई असर गरेको छ । कतिले राजीनामा नै दिनु परेको छ । रेखा थापादेखि ज्योति मगर, रिचा शर्मा, करिष्मा मानन्धर, राजेश हमाल, हरीबंश, मदनकृष्ण धेरैको अन्र्तवार्ता लिएँ । सबै अन्र्तवार्ताहरु तथ्यमा आधारित थिए ।

ऋचा शर्माले ‘म सात वर्षदेखि एउटा केटासँग सँगै बसें भनेर भनिरहँदा ‘सात वर्षसम्म सँगै बस्दा शारीरिक रिलेशन भयो कि भएन भनेर प्रश्न किन नसोध्ने ? एउटा अविवाहित युवती आफैँ ‘सात वर्षसम्म केटासँग सँगै बसें’ भन्छे भने, त्यहाँ शारीरिक सम्पर्कको कुरा गर्दा किन रिसाउने ? पत्रकारिता सबैलाई चित्त बुझाउनका गरिने कुरा पनि हैन । त्यस कारण यस्ता विवादहरु आइरहन्छन् ।

नेपालमा ग्लामर भएको कलाकार र नेताहरू को–को छन् ?

सबैले आ–आफ्ना तवरले विश्लेषण गर्छन् । वीपीलाई मैले देख्न पाइन । स्व. गिरिजा प्रसाद कोइराला जस्तो व्यक्तित्व भएको नेता कोही थिएनन् र भएनन् । प्रचण्ड जस्तो मान्छेलाई १२ बुदें समझदारीमा ल्याउन सक्ने मान्छे उहाँ हो । कलाकारितामा करिष्मा मानन्धर जत्तिको ब्यूटी भएको कोही भएन तर, पछिल्लो चरणमा उनी राजनीतिमा लाग्नाले ‘ब्याक फायर’ भयो । करिष्मा कलाकारै मात्र भएर बसेको भए राम्रो हुन्थ्यो । दुइटा डुङ्गामा खुट्टा राख्न हुन्नथ्यो ।

अहिलेसम्म सयौँ अन्र्तवार्ता लिनु भयो । कुनै त्यस्तो विषय छ जसमा अन्र्तवार्ता लिन सक्नु भएन ?

मैले सबै प्रकारका अन्र्तवार्ता लिइसकेको छु । विमर्श साप्ताहिकमा २०५२ सालमा मैले नै ‘प्रेम र जीवन’ भनेर स्तंभ सुरु गर्दा कुनै एउटा परिवारमा श्रीमान् श्रीमती बिच तीन महिनासम्म बोलचाल भएन । मैले नेपालका सबै नेताहरूको व्यक्तिगत प्रोफाइलहरु लेखेको छु । यसले समाजमा हाम्रा सेलिबेट्री, नेताहरूको व्यक्तित्व कस्तो रहेछ भन्ने देखाएको छ ।

छुटेकै विषय भन्दा पनि किशुनजीसँग बसेर एउटा दुई चार घण्टाको अन्र्तवार्ता लिनुपर्ने रहेछ भन्ने चैँ लागेको छ । गिरिजा प्रसाद कोइरालाले १२ बुँदे समझदारीमा गरेको योगदानका कुरा, मदन भण्डारीका कुरा राख्नुपर्ने रहेछ भन्ने महसुस चैँ हुन्छ ।

नेता र अभिनेतामा के फरक छ ?

धेरै फरक छ । नेता भनेको देश र जनताका लागि हुनुपर्छ । अभिनेता जनताको चाहना अनुसार प्रस्तुत हुनुपर्छ । नेताले देशलाई रूपान्तरण गर्ने, परिवर्तन गर्ने, विकास र जनताका चाहनालाई पुरा गर्ने हुनुपर्छ । अभिनेताले कलाकारिताबाट विषय वस्तुलाई पस्किने खालको हुनुपर्दछ । नेपालमा हरिबंश र मदन कृष्ण नै जनताका अभिनेता हुन् । पछिल्लो समय सिताराम कट्टेल र कुञ्जनाको काम पनि राष्ट्र र जनता प्रति देखिएको छ ।

कुरा चपाएर र नचपाईकन गर्ने नेता को को छन् ?

धेरै छन्, सुवास नेङवाङ कहिल्लै विवादमा आउन चाहनुहुन्न । कुटनीतिक जवाफ दिनुहुन्छ । प्रचण्ड, शेरबहादुर देउवा, बामदेव गौतमहरु मनमा लागेको कुरा भन्नु हुन्छ । यसले उहाँहरूको आलोचना बढी हुन्छ ।

ऋषि धमलालाई एकै पटक साधु र चोरको अन्र्तवार्ता लिनुपर्दा ?

चोर र साधुलाई एकै ठाउँमा राखेर कुरा लिन पत्रकार आचारसंहिताले दिँदैन । चोर र डाँकालाई सँगै राखेर लिन सकिएला । साधुलाई राजनीतिज्ञसँग राखेर लिन सकिएला । तर, चोर र साधु विपरीत धु्रवका भएकाले सकिन्न ।

ऋषि धमला एक दिनका लागि प्रधानमन्त्री भयो भने के गर्छ ?

त्यो म कल्पनै गर्दिन । नेपालमा एक दिन मात्र प्रधानमन्त्री हुनेले देश र समाजका लागि केही गर्छु भन्छ भने त्यो गलत हो । ५ वर्षमा त केही गर्न सकिन्न । मान्छेलाई समय चाहिन्छ । एक दिनमै देशलाई रूपान्तरण गर्ने भनेको फिल्ममा हुन्छ, व्यवहारमा हुँदैन । मान्छेलाई आलोचना गर्न सजिलो हुन्छ तर, काम गर्न त धेरै गाह्रो हुन्छ नि ।  तस्विरः  CR बस्नेत

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =