प्रमुख कर अधिकृत उप्रेतीद्धारा करछली गर्ने व्यवसायीलाई कारबाहीको चेतावनी

कात्तिक १, पोखरा । आन्तरिक राजश्व कार्यालय पोखराका नव आगन्तुक प्रमुख कर अधिकृत केशवकुमार उप्रेतीले पोखराका ब्यवसायीहरुले मूल्य अभिवृद्धीकर (भ्याट) छली गरेको भन्दै कारबाही गर्ने चेतावनी दिएका छन् । नव आगन्तुक अधिकृत उप्रेतीको स्वागतमा  पोखरा उद्योग वाणिज्य सङ्घले बुधवार पोखरामा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै अधिकृत उप्रेतीले यस्तो चेतावनी दिएका हुन् ।

देशकै पर्यटकीय नगरी र दोस्रो राजधानीकारुपमा रहेको पोखराले देशको कुल राजश्वमा करिब एक प्रतिशत मात्र राजश्व तिरेको भन्दै उनले पर्यटकीय होटलहरुले राजश्व कम तिरेको भन्दै आक्रोश पोखेका थिए ।

‘यहाँबाट मूल्य अभिवृद्धि कर(भ्याट) मा थोरै मात्र योगदान छ, यहाँका १७ वटा मात्र होटलले एक लाखभन्दा बढी भ्याट तिर्छन, त्यो पनि ५ लाखभन्दा बढी छैन’, उनले भने, ‘लेकसाइडभर पर्यटक भरिभराउ देखिन्छन, ब्यवबसायीले कर तिर्दैन्, यहाँका होटेल व्यवसायीलाई अनुगमन नपुगे जस्तो छ’ उनले भने ।‘ अबपनि व्यवसायी करको दायरामा नआउने हो भने कारबाहीको विकल्प छैन।’

अधिकृत उप्रेतीले सरकारले उद्योगी व्यवसायीलाई विश्वास गरेर स्वयम् कर निर्धारणको अधिकार दिएको बताउँदै पैसा कमाएपछि त्यसको स्रोत देखाउनु पर्ने वाध्यकारी नियमलाई ध्यान दिन व्यवसायीहरुलाई आग्रह गरे । कर प्रशासनले उद्योगी व्यवसायीलाई अनावश्यक दुृःख नदिने बताउँदै अधिकृत उप्रेतीले कर नतिर्ने ब्यावसायीलाई भने कुनै हालतमा छुट नदिने बताए ।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वशंकर पालिखेले फुटपाथको अनधिकृत व्यवसायी र पोके व्यापारीका कारण कर तिरेर व्यवसाय गर्ने ब्यवसायीहरु मर्कामा परेको बताए । कर तिर्नु नागरिकको कर्तव्य भएको उल्लेख गर्दै उनले पोखरा उद्योग वाणिज्य सङ्घ सदैव सामाजिक उत्तरदायित्वपूर्ण व्यवसायको पक्षमा रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 1 =