अपहरणपछि मारिएका निशानको दाहसंस्कार आज गरिँदै

काठमाडौं, २४ साउन । अपहरणपछि मारिएका ११ वर्षीय बालक निशान खड्काको बिहीबार अन्तिम संस्कार हुँदैछ ।

मृतक निशानको बुबा नेपाल फर्किएपछि उनको दाहसंस्कार गर्न लागिएको हो । घटनाको पाँच दिनपछि दाहसंस्कारका लागि निशानको शव पशुपति आर्यघाटतर्फ लगिएको छ ।

अपहरणाकारीद्वय गोपाल तामाङ र अजय तामाङले भक्तपुरको ठिमीमा आइतबार राति नै निशानको हत्या गरेका थिए ।

अपहरणमा परेका दिन आमालाई खेल्न जान्छु है भन्दै निशान बाहिर निस्केका थिए । सधैँ साढे ७ बजेसम्म खेलेर घर फर्कने निशान त्यस दिन साढे ८ बजेसम्म पनि नफर्किएपछि आमाले छिमेकीतिर खोजी गरेकी थिइन् । छिमेकीमा टिभी पो हेर्दै छ कि भनेर सोधीखोजी गर्दै गर्दा करीब ९ बजे चमेलीको नयाँ फोनमा घण्टी बज्यो ।

फोन उठाउने बित्तिकै अपहरणकारीले ‘तेरो छोरा हाम्रो कब्जामा छ, छोरा चाहिने भए ४० लाख ठीक पार, प्रहरीलाई खबर गरिस् भने ठीक हुन्न’ भनेर फोन राखिदिएको निशानकी आमाले बताएकी थिइन् ।

चिनजानकै व्यक्ति भएकाले अपहरणकारीसँग सजिलै उनीहरुको कोठामा पुगेका निशानकै अगाडि फिरौती रकम मागेपछि निशान कराएर चिच्याएको र पछि अपहरणको पोल खुल्ने डरले हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान लगाएको थियो ।

हत्यापछि लवटकै निर्माणाधीन घरको डिपिसीभित्र गाडेर फरार भएको र खोजी गर्ने क्रममा सूर्यविनायक जंगलमा प्रहरीले अपहरणकारीलाई इन्काउन्टर गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *