दशहजार देखि दश अर्बसम्म भष्ट्रचार गर्ने थुनामा
साउन १०, नेपालगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासत टंगालमा यतिवेला दुई जना सहसचिवहरू थुनिएका छन् । एकजनालाई कर मिनाहा गरी भ्रष्ट्राचार गरेको आरोपमा र अर्कालाई घूस खाएको आरोपमा अख्तियारले समातेको हो । दुबै जना एउटै हिरासतमा थुनिएका छन् । तर, अनौठो के छ भने एक जना १० अर्ब भन्दा बढीको रकम भ्रष्ट्राचार गरेको आरोपमा थुनिएका छन् । भने, अर्का चाहिँ १० हजार रुपैयाँ घुस खाएको आरोपमा थुनामा छन् ।
आन्तरिक राजश्व विभागका निलम्वित महानिर्देशक चूडामणि शर्मालाई कर फस्योट आयोग मार्फत अबौं रुपैयाँ कर छूट दिइ भ्रष्टाचार गरेको आरोपमा अख्तियारले कार्यालयबाट पक्राउ गरेर लग्यो । हालसम्मका फाइल खोल्दा शर्माले कर फर्स्योट अयोग मार्फत १० अर्व बढी रकम हिनामिना गराएको आरोप अख्तियारले लगाएको छ । उक्त रकम उनी एक्लैले अपचलन गरेका चाहिँ होइनन् ।
कर फर्स्योट आयोगका अन्य दुई सदस्य अमेरिका पुगेर लुकेपछि उनी अहिले अख्तियारको थुनामा छन् । शर्मा सहित तीन जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ । कर फर्स्योट आयोग मार्फत ब्यापारीहरुसँग मिलेमतो गरेर अर्वौं रकम छुट दिएको आरोपमा शर्मा पक्राउ परेका हुन् । तर, शर्मालाई गैह्र कानूनी हिसावले थुनारामा राखेको भन्दै उनकी पत्नीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेपछि मुद्दाले अहिले अर्कै रुप लिएको छ ।
शर्मा अख्तियारकै हिरासतमा भएपनि उनी विरुद्ध दायर भएको मुद्दालाई यथास्थितिमै राख्न सर्वोच्चले विशेषलाई परमाआदेश दिएको छ । सर्वोच्चले बृहत पूर्ण इजलास मार्फत यो मुद्दाको अन्तिम फैसला गर्ने तयारी गरेको छ । हाल यो मुद्दाको पेसी हेर्दा हेर्दैको अवस्थामा राखिएको छ । अदालतमा मुद्दाले अर्कै रुप लिएको भएपनि शर्माले चाहिँ अख्तियारकै चिसो भूइँमा रात विताइरहेका छन् । सहसचिव शर्मा आन्तरिक राजश्व विभागका महानिर्देशक थिए ।
अख्तियारले सोमवार शर्माकै हैसियतका अर्का सह सचिवलाई पनि पक्राउ गरेको छ । तर, शर्माको तुलनामा उनको अवस्था चाहिँ ‘विचरा’ छ ।
अख्तियारले स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक डा. रमेश विक्रम सिंहलाई १० हजार घुस सहित कार्यालय परिसरबाटै पक्राउ गरेको हो । विभागका एक कर्मचारीको कार्यसम्पादन मूल्यांकनमा अंक बढाइदिए वापत उनले १० हजार घुस लिएको आरोप लगाउँदै अख्तियारले समातेको हो ।
‘शर्मा र सिंह दुबैमाथि अनुसन्धान भइरहेको छ,’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता जीवराज कोइरालाले भने, ‘शर्माको मुद्दा त अदालत प्रवेश गरिसकेको छ । सिंहलाई चाहिँ घुस लिइरहेको बेला अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो ।’ सिंह यसअघि क्षेत्रीय स्वास्थ्य कार्यालय हेटौंडामा कार्यरत थिए ।
१० हजार घुस लिएको हो कि होइन भन्ने विषयमा अहिले उनीमाथि अनुसन्धान भइरहेको छ । सानै रकम घुस खाएको भएपनि उनले पनि अख्तियारको चिसो भूइँमा एक रात विताइसकेका छन् ।