अध्ययन भन्छः हाइ काढ्नु बुद्धिमानीको सङ्केत

एजेन्सी । हाइ काढ्नुलाई निद्राको सङ्केत वा अल्छीपनाको सङ्केतका रूपमा मानिन्छ । तपाईँले दिउसो अकस्मात आउने हाईलाई लुकाउनको लागि मुख बन्द गरीगरी समेत हाइ काढ्नुहुन्छ होला । तर, अब यसो नगर्नुस् यदि हाइ आउँछ भने जुनसुकै बेला मुख खोलेर मज्जाले हाइ गर्नुस् । किनकि हाइ काढ्नु तपाईँको अल्छिपना वा सुताहापनाको द्योतक हाेइन । यसले तपाईँ बुद्धिमान तथा स्मार्ट हुनुहुन्छ भन्ने दर्शाउँछ ।
वैज्ञानिकहरूले मानिसले मानिसको मस्तिष्कको आकार र उसले हाइ काढ्ने क्रियाबीच गहिरो सम्बन्ध हुने र मस्तिष्क जति ठुलो तथा जटिल भयो मानिसले उति नै लामो हाइ काढ्ने निष्कर्ष निकालेका छन् । त्यसैले धेरै तथा लामो हाई काढ्ने मानिससँग जन्मजात क्षमता धेरै हुने र ऊ बढी स्मार्ट तथा बुद्धिमान हुने ठहर वैज्ञानिकहरुको छ ।

मानिस लगायत बाँदर, चिम्पान्जी जस्ता प्राइमेट वर्गका जिवहरुमा अन्य जनावरमा भन्दा निकै लामो हाइ आउँछ । यसको कारण उनीहरू अरूभन्दा बढी बुद्धिमान हुन्छन् ।वैज्ञानिकहरूले हाइ किन आउँछ भन्ने कुराको कारण समेत पत्ता लगाउने कोसिस गरेका छन् । उनीहरूका अनुसार मस्तिष्कलाई शीतल तथा शान्त बनाउनका लागि हाइ काढिन्छ, सम्भवतः ।
यद्यपि शरीरमा हाइ काढ्नुको खास कारण तथा प्रभाव अहिलेसम्म पनि रहस्यमै छ । थकाई लागेको, भोक लागेको तथा दिक्क लागेको जस्ता अवस्थामा पनि हाइ निकै आउँछ । त्यस्तै अरू मानिस तथा जनावरहरुले हाइ काढेको देख्दा पनि स्वतः स्फूर्त रूपमा हाइ आउँछ । यतिमात्र होइन कसैसँग फोनमा कुरा गरिरहँदा अर्को मान्छेले हाइ काढेको सुनियो भनेपनि हाइ आउँछ कहिलेकाहीँ ।
कतिपय वैज्ञानिकहरूले हाइ काढेपछि मस्तिष्कमा पर्याप्त अक्सिजन पुग्ने बताउँछन् । कतिले चाहिँ यसको सामाजिक महत्वसँग जोड्दै आफू थाकेको वा दिक्क लागेको कुरा अरूलाई जानकारी दिनका लागि प्राकृतिक रूपमा हाइ आउने गरेको बताउँछन् ।
त्यस्तै शत्रु सिकारी जीवबाट बच्नुपर्ने जनावरका लागि समूहका एक अर्कालाई सतर्क राख्नका लागि समेत हाइ कढाइको विकास भएको हुनसक्छ । युनिभर्सिटी अफ न्युयोर्कका शोधकर्ताहरुले गरेको यस सम्बन्धी शोध बायोलोजी लेटर्स नामक जर्नलमा प्रकाशित छ ।
शोधकर्ताहरुले विभिन्न २४ प्रजातिका १७७ जिवहरुले काढेका २०५ हाईको पूर्ण अध्ययन गरेका थिए । त्यसक्रममा मानिसको हाइ कढाइको औषत समय ७ सेकेण्ड थियो भने अफ्रिकी हात्तीको ६ सेकेण्ड । त्यस्तै उँटको ५ सेकेण्ड रहेको पाइयो ।








