नोवेल हस्पिटलको स्वास्थ्य शिविरमाथि प्रहरी हस्तक्षेप

मोरङ, २७ कार्तिक । विराटनगर स्थित नोबेल मेडिकल कलेज तथा हस्पिटलले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा प्रहरीले हस्तक्षेप गरेको छ । आज (आइतबार) मोरङको पथरी शनिश्चरेमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट अस्पतालका ६ जना चिकित्सकलाई समेत प्रक्राउ गरी तीन घण्टा नियन्त्रणमा लिएको छ ।

पथरी शनिश्चरेमा कलेजले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा नेकपा एमालेका नेता तथा पूर्व सांसद चण्डी राईको निर्देशनमा इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजन कार्कीको टोलीले चिकित्सकहरुलाई पक्राउ गरी तीन घण्टा नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा मेडिकल कलेजका डा.देवराज घिमिरे, डा.रोहित दाहाल, डा. बुद्ध भण्डारी नर्सहरु  सुवर्ण थापा, सरु दर्जी र ललिता थापालाई इप्रका पथरीले तीन घण्टा प्रहरी परिसरमा राखेको शिविरका चिकित्सक डा. देबराज घिमिरेले बताए ।

उनले स्वास्थ्य शिविर सञ्चालन गर्दै गर्दा पूर्व सांसद राईसहित प्रहरी प्रशासन आएर आफुहरुलाई लछार पछार समेत गरेको मकालु खबर डटकमलाई बताए । ‘हामीले कलेजको नियमित कार्यक्रम अन्तरगत नै स्वास्थ्य शिविर गरेका थियौँ । तर, उहाँहरू (चण्डी राई) ले एक्कासि आएर ‘किन स्वास्थ्य शिविर गरेको बन्द गर’ भन्दै प्रहरी नै लगाए ।’ एक्कासि स्वास्थ्य शिविरमा प्रहरी प्रशासनकै संरक्षणमा नेकपा एमालेका पूर्व सांसद सहितका युवाहरूले चिकित्सकहरुलाई लछारपछार गरेपछि शिविरमा स्वास्थ्य परीक्षण गर्न आएका सर्वसाधारण तथा स्थानीय जनताले समेत घटनाको विरोध गर्दा उल्टै प्रहरी निरिक्षक कार्कीले स्थानीयलाई धम्की समेत दिएको स्थानीयले बताए । उनीहरूले  निशुल्क स्वास्थ्य शिविरमाथी भएकाे अाक्रमणकाे विराेध गर्दै नाराबाजी समेत गरेका थिए ।

केही महिनादेखि मोरङका विभिन्न क्षेत्रमा कलेजले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएकोमा सोही कार्यक्रमको निरन्तरता दिन गरिएको कार्यक्रमलाई नेकपा एमालेले निर्वाचनसँग जोडेर हस्तक्षेप गरेको बुझिएको छ । सो क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेसबाट कलेजका निर्वतमान सञ्चालक प्रमुख डा. सुनिल शर्माले उम्मेदवारी दिएपछि डा. शर्मालाई जोडेर नोवेल कलेजको कार्यक्रममा हस्तक्षेप गरेको चिकित्सकहरुले बताएका छन् ।

उनीहरूले प्रहरी तथा नेकपा एमालेका पूर्व सांसद चण्डी राईले ‘तपाईँहरूको डाक्टरी प्रमाणपत्र खै’ समेत भन्दै अपशब्द प्रयोग गरेको एक चिकित्सकले बताए । आगामी मङ्सिर २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसबाट टिकट पाए लगत्तै कलेजबाट राजीनामा समेत दिएका डा. शर्मालाई जोडेर हस्पिटलको कार्यक्रम विथोलेको हो । सो क्षेत्रमा हस्पिटलले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहँदा नेकपा एमालेका कार्यकर्ताहरूले यसअघि पनि पटक पटक शिविर रोक्न प्रहरीलाई दबाब दिँदै आएका थिए । तर, मोरङका विभिन्न क्षेत्रमा स्थानीयले स्वतःस्फूर्त स्वास्थ्य शिविर बन्द गर्न नपाईने भन्दै प्रतिरोध गर्दै आएका थिए ।

नेकपा एमालेका केही व्यक्तिहरूले उच्च अदालत पाटनमा शिविर नै बन्द गर्नुपर्ने भन्दै मुद्दा हालेका थिए । उक्त मुद्दामा पाटन अदालतले समेत ‘शिविर सञ्चालनमा कुनै बाधा ब्यवधान नगर्न’ भन्दै अन्तरिम आदेश जारी गरेको छ । आज जारी अन्तरिम आदेशमा उच्च अदालतले सो अन्तरिम आदेश समेत जारी गरेको छ । उच्च अदालतका न्यायाधिश शेखर प्रसाद पौडेलको एकल इजलासले सो निर्णय गरेको हो ।

आजै नेपाल चिकित्सक सङ्घ, विराटनगर शाखाले प्रेस विज्ञप्ति जारी गर्दैै चिकित्सक माथि भएको घटनाको भत्सर्ना गरेको छ । सङ्घका कोसी अञ्चल शाखा अध्यक्ष डा. फरवार्ड सिलवालद्वारा जारी विज्ञप्तिमा जनताको आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रममा आक्रमण हुनु निन्दनिय भन्दै घटनाको छानबिनको माग गरिएको छ । घटनाका विषयमा इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक कार्कीसँग बुझ्न फाेन सम्पर्क गर्दा उनकाे फाेनमा सम्पर्क हुन सकेन । पथरी  स्राेतका अनुसार प्रहरी निरिक्षक कार्की नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्माकाे निर्देशनमा प्रहरी निरिक्षक भएका ब्यक्ती हुन । उनले गएकाे स्थानीय निर्वाचनमा समेत नेकपा एमालेलार्इ जिताउन सहयाेग गरेकाे, एमालेका कार्यकर्तालार्इ समर्थन गर्दै अन्य पार्टीका लार्इ दुखः दिएकाे भन्दै विराेध भएकाे थियाे ।

मेडिकल कलेजका निर्वतमान सञ्चालक प्रमुख डा.शर्माले चुनाव जित्नका लागि आफूले स्वास्थ्य शिविर सञ्चालन गरेको पाए आफूलाई तत्काल पक्राउन गर्न आदेश दिए । ‘यदि यो शिविर मेरो चुनावी अभियानका लागि गरिएको प्रमाणित हुन्छ भने, मलाई तत्कालै प्रक्राउ गरियोस् । उच्च अदालतबाट अन्तरिम आदेश जारी भइसकेको अवस्थामा मेरो चुनावी अभियानलाई जोडेर प्रहरी प्रशासनको रोहवरमा चिकित्सक माथि आक्रमण गरिनु कत्तिको न्यायोचित हो ? राज्य किन मौन छ ।’ उनलले भने । डा. शर्माले गरिब सर्वसाधारणको स्वास्थ्यमा हस्पिटलले केही योगदान गर्न सक्छ भनेर विगत वर्षदेखि नै सञ्चालन गर्दै आएको अभियानलाई चुनावसँग जोड्न नमिल्ने बताए । उनले नेकपा एमालेका उम्मेद्वारले हारको मानसिकतामा स्वास्थ्य शिविरमा खटिएका चिकित्सकमाथी आक्रमण गरेको जिकिर गर्दै घटनाले कानुनी राज्यको उपहास भएको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 6 =