नारायणगढ–मुग्लिन सडक तीनसय ५० मिटर छोटो हुँदै, अब ३५ मिनटमै पार गर्न सकिने

कात्तिक ३०, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड निर्माण सम्पन्न भएपछि ३५ मिनेटमै पार गर्न सकिने भएको छ । यसअघि यो सडक पार गर्न ७० मिनेट लाग्ने गर्दथ्यो । सडक निर्माण सम्पन्न भैसक्दा तीन सय ५० मिटर छोटो हुने भएको छ । सडकखण्डमा बन्ने पुल र सडकमा रहेका केही घुम्ती काँटिदा सडक दूरी घटने छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड आयोजनाका इन्जिनियर शिव खनालले सडक मर्मतकै कारण ५० मिटर छोटो हुने बताउँदै सडकखण्डमा बन्ने नयाँ पुलका कारण तीन सय मिटर छोटो हुने जानकारी दिए ।

उक्त सडकमा अहिले रहेको बढीमा पाँच मिटर फराकिलो पिचलाई सातदेखि ११ मिटरसम्म फराकिलो पार्न लागिएको हो । नारायणगढदेखि १६ किलोमिटर दूरीसम्म सडक ११ मिटर फराकिलो हुनेछ । त्यसपछि मुग्लिनसम्म सात मिटरको फराकिलो पिच हुने आयोजना कार्यालयले जानकारी दिएको छ ।

सन २०१५ मा गरिएको सर्वेक्षण अनुसार नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक ८ हजार ३ सय १७ गाडी गुड्ने गरेका छन् । कम्तीमा तीन हजार र बढीमा १० हजार सम्म सवारी गुड्ने गरेको तथ्यांक रहेको छ । राजधानीसँग जोड्ने मुख्य यो सडकखण्ड व्यपारीक आवताजावतका हिसाबले पनि मुख्य हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 15 =