मुलुकको ४० औं प्रधानमन्त्री भए देउवा

जेठ २३ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । मंगलबारको संसद बैठकमा उपस्थित कुल ५५८ सांसदहरुमध्ये देउवाले ३८८ मत पाएर चौथो पटक प्रधानमन्त्री भएका हुन् । । उनी गणतान्त्रिक नेपालको नवौं प्रधानमन्त्री हुन् ।
देउवा माओवादी केन्द्र र फोरम लोकतान्त्रिक लगायतको समर्थनमा प्रधानमन्त्री भएका हुन् । देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भनेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रस्ताव गरेका थिए भने कांग्रेस नेता रामचन्द्र पौडेल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार लगायतले समर्थन गरेका थिए ।
२००३ जेठ ३१ गते आसिग्राम–५ रुवाखोला डडेल्धुरामा देउवाको जन्म भएको हो । उनी कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको राजनीतिक प्रेरणाबाट नेपालको प्रजातान्त्रिक आन्दोलनमा होमिएका थिए । उनी विसं २०१७ को राजनीतिक घटनाक्रमपछि नेपाल विद्यार्थी संघको सभापति हुँदै कांग्रेसको राजनीतिमा उदाएका ब्यक्ति हुन् । राजनीति कै कारण १० वर्ष बढि उनले जेल जिवन विताएका छन् ।
विसं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित देउवा २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी भएका थिए ।
विसं २०४८ मा गृहमन्त्री बनेका देउवाले त्यसपछि तीन पटकसम्म प्रधानमन्त्री भए । उनी पहिलोपटक २०५२ सालमा दोस्रो पटक २०५८ साल र २०६१ सालमा तेस्रोपटक प्रधानमन्त्री भएका थिए । तर, राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई असक्षम भन्दै प्रधानमन्त्री पदबाट बर्खास्त गरेका थिए ।
प्रधानमन्त्री हुँदा उनले पिछडिएको भूभाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति र मधेसलाई राष्ट्रिय विकास प्रक्रियाको मूलधारमा ल्याउन कर्णाली–दलित–महिला–जनजाति–मधेस (कदमजम) को अवधारणा ल्याएका थिए । त्यस्तै उनकै पालामा विशेष वर्ग एवम् समुदायको उत्थानका लागि राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोगजस्ता विभिन्न आयोगहरू गठन भएका हुन् ।
त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक प्रधानमन्त्री देउवा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो हुन् । उनीकी पत्नी डा आरजु राणा देउवा सांसद छिन् भने छोरा लण्डनमा अध्ययनरत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =