नेपाल प्रहरी सवार बसमा तोडफोड

लहान । असार २ । घोषित स्थानीय तह निर्वाचनको विरोधमा आन्दोलनरत राजपा नेपालका कार्यकर्ताले आज बिहान पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको गोलबजारमा नेपाल प्रहरी सवार एक बसमा तोडफोड गरेका छन् । काठमाडौँबाट सुनसरीका लागि हिँडेका ना ५ ख १४४० नम्बरको बसमा राजपाका कार्यकर्ताले तोडफोड गरेका हुन् । बसमा ‘नेपाल प्रहरी’ को ब्यानर समेत झुन्ड्याइएको थियो ।

बजार बन्द गराउँदै गरेको अवस्थामा उक्त बस त्यहाँ आइपुगेपछि राजपाका कार्यकर्ताले ढुङ्गामुडा गरी बसको अगाडिको सिसा फुटाएका हुन् । बस तोडफोडको आरोपमा प्रहरीले राजपा नेपालका ललन झालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहान नगरपलिका– १२ मा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा आज विहान एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् ।

सडकमा बिग्रिएर रोकिराखेको स १ त १९५९ नम्बरको ट्याक्टरमा गए राति ११ बजे बा ३६ प ४८९५ नं को मोटरसाइकल पछाडिबाट ठोक्किँदा गम्भीर घाइते भएका सोहि ठाउँका मोटरसाइकल चालक २२ वर्षीय सञ्जित साहको उपचारको क्रममा लहानस्थित फ्रेन्डस मोडल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकलको पछाडी सवार भएका २० वर्षीय देवकुमार ठाकुर र १९ वर्षीय बालकृष्ण चौधरी गम्भीर घाइते भएको र ती दुबै जनालाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा पठाइएको प्रहरीले जानाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =