चुनाव हारेकाहरू मधेशको ठेक्का कसरी लिन सक्छन् ?

असार ११, कपिलवस्तु – केन्द्रिय स्तरमा चुनावको विरोध भएपछि पाँच नम्बर प्रदेश अन्तर्गत  तराईका जिल्लामा मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) को गतिविधि शून्य देखिएको छ । रुपन्देहीका दक्षिणी भेगमा केहीले स्वतन्त्र उम्मेदवारी दिएपनि कपिलवस्तुको दक्षिणी भेगमा चुनावको समयमा उनीहरुका क्रियाकलाप शिथिल छन् । राजपाले चुनावमा अवरोध गर्ने बताएपनि चुनावी कार्यक्रममा उनीहरुको अवरोध गरेको देखिदैन । संघीय समाजवादी फोरम नेपालका महासचिव समेत रहेका सांसद अभिषेक प्रताप शाहले चुनावको विरोध गर्नेहरु अहिले दुलो पसेको बताउनु भयो ।

‘यहाँ चुनावको अवरोध गर्ने हैसियत कसैको छैन । अबरोध गरे उल्टै कारवाहीमा पर्ने अवस्था छ’ सांसद शाहले शनिबार कृष्णनगरमा आयोजित एक सभालार्इ सम्भोधन गर्दै भन्नुभयो, ‘चुनाव भाँड्ने समूहको भागाभाग छ । उनीहरु मुख देखाउन नसक्ने अबस्थामा छन् । चुनावप्रेमी यहाँका जनताले त्यस्तालाई दुलोमा पसाइसके ।’

केही दिनअघि चुनाव भाँड्ने भनेर एउटा समुहले रातीदेखि प्रचार गर्यो । त्यो सुनेपछि स्थानीयबासी चनाखो बने । चुनाव भाँड्ने समुहलाई गाउँ कटाउने योजना बनाए । तर, त्यो समुह दिउँसो हल्ला गरे जस्तो कतै पनि नदेखिएको फोरमका नेताले बताए । चुनाव भाँड्न खोज्नेलाई जनताले लखेट्ने, गाउँमा पस्न नदिने रणनीति बनाएपछि त्यस्तो समूहको भागाभाग भएको स्थानीयहरुको भनाई रहेको छ । गत संविधानसभा निर्वाचनमा फोरमले चुनाव जितेको कृष्णनगर नगरपालिकाका सांसद साहका काका अभय प्रताप साह फोरमका तर्फबाट मेयरका उम्मेदवार छन् । चुनाव प्रचारको अन्तिम दिन आइतबार फोरम अध्यक्ष उपेन्द्र यादवले कपिलबस्तुको बहादुरगञ्जमा चुनावी सभालाई सम्वोधन गर्ने कार्यक्रम छ । जनतामा चुनावको अत्यन्तै उत्साह देखिएको सांसद साहले बताए । ‘आफै सांसद हारेका केही नेताले विरोध गर्दैमा चुनाव रोकिदैन । जो आफैँ चुनाव हारेका छन्, उनीहरुले मधेशको ठेक्का लिन कसरी सक्छन् ?’ काकाको प्रचारमा सक्रिय अभिषेकले भने ।

हजुरवुबाको योजना लागू गराउने लक्ष

भारतको बढौंनी नाकासँगै जोडिएको कृष्णनगरलाई तराईको आधुनिक शहर बनाउने फोरम उम्मेदवार साहको चुनावी एजेण्डा छ । अभयका हजुरबुवा राणाकालीन मन्त्री गयाप्रसाद साहले कृष्णनगरको विकास योजना बनाएका थिए । ‘कृष्णनगरलाई आधुनिक शहर बनाउने मेरो योजना छ । स्तरीय अस्पताल लगायत नगरपालिकामा आवश्यक भौतिक संरचना खडा गर्छु’ पूर्व गाविस अध्यक्ष समेत रहेका अभयले भने, ‘तपार्इँ सपना देख्नुस्, म पूरा गर्छु भनेर जनतालाई भनेको छु ।’

कृष्णनगर बहादुरगञ्ज क्षेत्रमा शाह परिवारको पूरानो राजनीतिक ‘लिगेसी’ छ । पहिलो संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचनतर्फ कान्छो उम्मेदवार (त्यतिवेला जम्मा २५ वर्ष) रहेका अभिषेकले दोस्रो संविधान सभामा पनि प्रत्यक्ष तर्फ चुनाव जितेका थिए । अभिषेकका बुवा अजय प्रताप शाह पनि राप्रपाका सांसद थिए । अजयको निधनपछि अभिषेक राजनीतिमा सक्रिय भएका हुन् । काका उम्मेदवार भएपनि कृष्णनगरका मतदाताहरु अभिषेकलाई नेता मान्छन् । चुनाव प्रचारको पोष्टरमा एकातर्फ काका अभय र अर्कोतर्फ अभिषेकको फोटो देखिन्छ ।

IMG_0171

शनिवार अपरान्ह नेपाल भारत सीमा नजिकै रहेको अभिषेकको घरमा झण्डै २ सय कार्यकर्ता र सुभेच्क्षुकको उपस्थिति थियो । ‘कार्यकर्ता, सुभेच्क्षुक र मतदाता खेतको काम छाडेर पनि चुनाव प्रचार प्रसारमा हिँडेका छन् । जनताले भोट हाल्ने दिन कहिले आउला भनेर कुरेका छन्’, सांसद साहले थपे ।

फोरमको प्रतिष्पर्धा काग्रेससँग

कृष्णनगर नगरपालिकामा संघीय समाजवादी फोरमको प्रतिष्पर्धा नेपाली काँग्रेससँग हुने देखिएको छ । कृष्णनगरको मेयरका लागि कांग्रेसका तर्फबाट वर्मानन्द उपाध्याय, नेकपा एमालेका तर्फवाट सुशील श्रीवास्तव र माओवादी केन्द्रका तर्फवाट श्रीप्रसाद जयसवाल प्रत्यासी छन् । फोरम नेपालले कृष्णनगरमा आफैले चुनाव जित्ने दावी गरेको छ । कांग्रेस र माओवादी केन्द्रले पनि चुनाव जित्ने दावी गरेका छन् । काग्रेस उम्मेदवार उपाध्याय र माओवादीका जयसवालले पनि आफूहरुको स्थिती बलियो रहेको दाबी गरे ।  ‘कृष्णनगरका जनताले विकास चाहेका छन् । त्यसको विकल्प भनेको वर्मानन्दको नेतृत्व हो’ चुनाव प्रचारमा हिंडेका कांग्रेसका एक कार्यकर्ताले बताए । मेयर र वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारले चुनाव प्रचारप्रसारलाई तीब्र बनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + two =