ह्याकरले पठाएकाे रकम राेक्का गर्न राष्ट्र बैङ्कद्वारा पत्राचार

कात्तिक ६, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले विभिन्न देशका केन्द्रीय बैंकलार्इ पत्रचार गरेकाे छ । ह्याकरले एनआइसी एसिया बैङ्कको स्वीफ्ट ह्याक गरी विभिन्न देशमा पठाएको रकम फिर्ता गर्न राष्ट्र बैङ्कले आइतबार पत्राचार गरेको हो । ह्याकरले लक्ष्मी पूजाका दिन स्वीफ्ट ह्याक गरी बैङ्कको विदेशी खातामा रहेको रकम आफ्नो खातामा सारेका थिए । आइतबार यो घटना थाहा पाएपछि बैङ्कले राष्ट्र बैङ्कलाई जानकारी गराएको थियो । बैङ्कको जानकारी लगत्तै राष्ट्र बैङ्कको टोलीले एनआइसी एसिया बैङ्कमा गएर विस्तृत जानकारी लिएको थियो ।

राष्ट्र बैङ्कको टोलीले गरेको स्थलगत अवलोकनमा ह्याकरले अमेरिका, सिंगापुर, मलेसिया, जर्मन, हङकङलगायतका देशमा रकम पठाएको फेला परेको छ । यस्तो तथ्य फेला परेपछि राष्ट्र बैङ्कले आइतबार नै सम्बन्धित देशका केन्द्रीय बैङ्कलाई यस्तो भुक्तानी रोक्न पत्राचार गरेको राष्ट्र बैङ्कका एक अधिकारीले जानकारी दिए ।

‘राष्ट्र बैङ्कले सम्बन्धित देशका केन्द्रीय बैङ्कलाई भुक्तानी रोक्का गरी एनआइसी एसिया बैङ्कको रकम फिर्ता गराउन पत्र पठाइसकेको छ,’ ती अधिकारीले भने, ‘पैसा फिर्ता हुन्छ, आत्तिनु पर्दैन ।’

ती अधिकारीका अनुसार कतिपय देशमा भुक्तानी भइसकेको पाइएको छ भने कतिपय देशमा भुक्तानी भएको छैन । भुक्तानी भइसकेको रकम सम्बन्धित देशको केन्द्रीय बैङ्कले फिर्ता गराउने र भुक्तानी हुन बाँकी रहेका देशका केन्द्रीय बैङ्कले भुक्तानी रोक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *