फोरमसँग मिलेर सरकार बन्छ, एकता पनि हुन्छ : महतो, अनुहार मिल्दैमा एकता हुन्छ भन्ने होईन : यादव

पुस ४ काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल(राजपा)का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले दुई नम्बर प्रदेशमा मधेसी गठबन्धनको सरकार बन्ने दावी गरेका छन् । महतोले संघीय समाजवादी फोरमसँग मिलेर सरकार बनाउने र पछि पार्टी एकता हुने बताए । मधेसी जनताको भावनाअनुसार नै गठबन्धन गरिएको र त्यसलाई जनताले अनुमोदन गरेको महतोले बताए ।
उनले निर्वाचनलाई पनि आफूहरुले आन्दोलनकै रुपमा लिएको र परिणाम अपेक्षाकृत भएको बताए। ‘जहाँजहाँ मधेस आन्दोलनमा जनता धेरै सहभागी भएका थिए, त्यहाँत्यहाँ नतिजा हाम्रो पक्षमा आएको छ,’ महतोले भने, ‘आन्दोलन कमजोर भएको ठाउँमा हारे पनि हामी सन्तुष्ट छौं।’

उनले एमाले र माओवादी गठबन्धनको सरकारमा सहभागी हुने विषयमा भने कुनै छलफल नभएको बताए। ‘उहाँहरु नै पर्याप्त हुनुहुन्छ, हामी चाहिएजस्तो लाग्दैन,’ महतोले भने, ‘सरकारमा आउनुस् भन्नुभयो भने पहिला हामी संविधान संशोधनको कुरा राख्छौं, त्यसलाई उहाँहरुले कसरी लिनुहुन्छ, धेरै कुरा त्यसैमा भर पर्छ।’
प्रदेश नम्बर २ का ६४ सिटमा फोरम र राजपाले २० र १५ सिट जितेका छन्। समानुपातिकमा राजपा दोस्रो भएको छ भने फोरम तेस्रो स्थानमा छ। प्रतिनिधि सभामा राजपा ११ सिट जितेको छ भने फोरम १० सिटमा विजयी भएको छ।
यता, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावताका राजपाका ६ जना अध्यक्ष मिलाउँदा मिलाउँदै आफू हैरान भएको बताएका छन्। यादवले राजपा पार्टी एक भए पनि अध्यक्ष छतिर फर्किएको बताए।
‘उहाँहरुसँग हाम्रो चुनावी तालमेल थियो, एउटै पार्टी भनेको त ६ जना अध्यक्ष ६ तिर फर्कने रैछन्,’ यादवले भने, ‘एक जनाले एउटा भन्ने अर्कोले अर्को भन्ने, मिलाउँदा मिलाउँदै हैरान भएँ।’ यादवले भने, ‘राजपासँग मधेसका मुद्दाबाहेकका कुरामा हाम्रो सिद्दान्त मिल्दैन।’
उनले फोरम हिमाल, पहाड र मधेसका सबै जनताको प्रतिनिधित्व गर्ने लोकतान्त्रिक समाजवादमा विश्वास गर्ने राष्ट्रिय पार्टी भएको तर राजपासँग यस्तो दार्श्निक आधार नरहेको बताए। राजपा मधेस केन्द्रीतमात्र भएकाले उससँग एकता नै हुने सम्भावना तत्काल नरहेको यादवको भनाइ छ।
‘अनुहार मिल्दैमा एकता हुन्छ भन्ने होइन, एकता हुन विचार र सिद्दान्त मिल्नुपर्छ,’ यादवले भने, ‘अहिले हाम्रो र राजपाको धेरै विचार मिल्दैन, उहाँहरु परिवर्तित भएर आउनुभयो भने पछि पार्टी एकता नहुने भन्ने पनि होइन्।’








