अध्यक्ष र अस्पताल प्रमुख बीच विवाद हुँदा सिटामोलको समेत अभाव

आदर्श केसी । रुकुम जेठ २६ । अस्पताल ब्यवस्थापनको लागि निकासी भएको बजेट बारे अध्यक्ष र अस्पताल प्रमुख बीच विवाद हुँदा रुकुमको जिल्ला अस्पताल अस्तब्यस्त बनेको छ । अस्पतालले प्रदान गर्ने सेवामा लापरबाही हुनका साथै पूर्वाधारको अभावका कारण बिरामीले सास्ती खेप्नु परेको छ । अस्पतालमा दुई हप्ता देखि सिटामोल समेत नपाएको बिरामीका आफन्तले गुनासो गरेका छन् । सरकारले निःशुल्क रुपमा उपलब्ध गराउने औषधीको अभाव भए पनि विवादका कारण खरिद र ढुवानी प्रक्रिया सुरु हुन सकेको छैन । 

यस्तै अस्पताल फोहोर हुन थालेपछि विरामीले थप सास्ती खेप्नु परेको छ । शौचालयको दुर्गन्ध फैलिन थालेपछि बिरामीसँगै कुरुवालाई पनि अन्य रोगको संक्रमणको खतरा बढेको छ । बिरामी कुर्न बस्दा पनि दुर्गन्धका कारण नाक मुख छोप्नु पर्ने बाध्यता छ । अस्पतालमा खानेपानीको अभाव हुँदा किनेर खानु परेको बिरामीले गुनासो गरेका छन् ।  अस्पतालका प्रमुख डाक्टर राजेन्द्र जिसी र अस्पताल व्यबस्थापन समितिका अध्यक्ष शिव आचार्यले विनियोजित रकम आफू खुशी लिन खोजे पछि विवाद भएको अस्पताल स्रोतले जनाएको छ ।  विवादका कारण अस्पतालको नाममा निकासी भएको ८० लाख रुपैयाँ फ्रिज हुने अवस्थामा पुगेको छ ।

अस्पतालका १४ वटा शौचालय मध्य ६ वटा पानीको अभाबले काम नलाग्ने गरी दुर्गन्धित बनेका छन् । अस्पतालको शौचालय नजिक जाँदा वान्ता हुने अवस्था छ । अस्पतालको विकास र सुधारको लागि प्रशस्त बजेट भए पनि अस्पतालका प्रमुख डाक्टर राजेन्द्र जिसीको कार्यशैलीका कारण कामै हुन नसकेको स्थानीय बासिन्दाको गुनासो छ । अस्पताल व्यबस्थापन समितिका अध्यक्ष शिव आचार्यले आफ्नो नाममा पेश्की लिन खोज्ने तर अस्पताल प्रमुख डा. राजेन्द्र जिसीले आफैले मनोमानी गर्न खाजेको कारण उक्त बजेट प्रयोगमा आउन नसकेको स्रोतले जनाएको छ ।

बिरामी भर्ना भएका वार्डका बेडहरु गन्हाउने र कपडाहरु ओड्न नमिल्ने अवस्थामा हुँदा पनि सुधार तर्फ कसैको चासो नरहेको देखिन्छ । वर्षेनी व्यबस्थापनको नाममा आउने बजेट कागजमै सिमित हुँदा अस्पतालको भौतिक अवस्था झन् झन् नाजुक बन्दै गएको पाइन्छ ।

‘पिउने पानी समेत नहुने अस्पतालबाट अरु सेवाको अपेक्षा नगर्दा हुन्छ’  एक बिरामी कुरुवा सन्जय खड्काले भन्नुभयो, ‘सुत्केरीले समेत सरसफाइका लागि बजारबाट पानी किनेर ल्याउनु परेको छ । अस्पताल आसपास पानी कतै भेटिँदैन अनि बीस देखि पचास रुपयाँसम्म बोतलको पानी किनेर ल्याउनु पर्छ ।’

यस बारेमा जिल्ला अस्पताल रुकुमका प्रमुख डाक्टर राजेन्द्र जिसीसँग कुरा गर्न खोज्दा उहाँले कुनै प्रतिक्रिया दिन मान्नु भएन । अस्पतालमा शौचालय र पिउने पानीको ब्यवस्था नहुँदा बिरामी र बिरामीका आफन्तहरुले ब्यापक गुनासो गर्दै आएका छन् । अन्य भौतिक पूर्वाधारको अवस्था पनि नाजुक रहेको भन्दै सेवाग्राहीहरुले विरोध गर्न थालेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 15 =