कथा–चिया पसल

सन्तोष बस्नेत
आन्टी ! चिया पिउँ त एक कप।” अगाडिको बेन्चमा बस्ने बित्तिकै बोलेँ म।
“ए निरु ! सरलाइ एक कप चिया बनाइदे त।” आन्टिले छोरिलाइ अराइन्। त्यहिँ नजिकै गिलास पखाली रहेकी उसले एक पटक म तिर हेरि अनि अलिकती मुस्कुराइ। लगत्तै सिर निहुराएर चुलो भएतिर लागी। म त्यही बेन्चको छेउमा भएको पत्रीका तानेर पल्टाउन थालेँ।
“चिया !” उसले मेरो अगाडी चिया तेर्स्याउँदै मधुरो स्वरमा बोली।
मैले पत्रीकाबाट नजर हटाएर उसको अनुहारमा हेरेँ अनि अलिकती मुस्कुराउँदै चियाको गिलास पकडेँ। गिलास पकड्दा मेरा चिसा औँंलाहरुले उसका कोमल अनि न्याना औँलाहरुमा हलुका स्पर्स गरे। मैले चिया पकड्ने बित्तिकै उसले आफ्नो हात तानी अनि फनक्क फर्किएर गइ।
”ए निरु ! म कोठा पुगेर आउँछु। एकछिन् हेर्दै गर् है !” आन्टी पसलबाट बाहिर निस्किँदै बोलिन्। उसले मौन स्विकृती दिइ।
आन्टी पसलबाट केहि पर पुगेपछी मैले बोलेँ “ए साहुनी ! एउटा चुरोट पाउँ न।”
उसले म तिर पुलुक्क हेरि अनि रिसाए झैँ मुख फुलाइ।
”सुर्य चुरोट है साहुनी ?” मैले उसको अनुहारमा हेरेर मुस्कुराउँदै बोलेँ।
उसले मलाइ खाउँला झैँ गरेर आँखा तरी। मैले आफैँ नजर झुकाएर पत्रीकामा लगाएँ।
“लु !” उसले चुरोटको खिल्लि म तिर तेर्स्याउँदै बोलि।

मैले चुरोटको खिल्ली पकड्द्दै उसको अनुहारमा हेरेँ। उसले उस्तै रिसाएर मलाइ हेरिरहेकी थिइ। मैले नजिकै रहेको सलाइ तानेर चुरोट सल्काएँ। सल्काउने बित्तिकै उसले मेरो मुखबाट चुरोट तानेर भुइँमा फ्यालिदिइ। मैले हाँंस्दै उसको अनुहारमा हेरेँ। उसका आँखा राता भएका थिए अनि मुख भने उस्तै फुलिरहेको थियो। मैले उसको अनुहारमा हेर्ने बित्तिकै ऊ फन्किएर पर कुर्सिमा गएर बसि। म त्यहिँ बसेर उसलाइ हेर्दै मुस्कुराइ रहेँ।
केहिबेरमा चिया सकियो। मैले उठेर पर्सबाट पैसा निकाल्दै बोलेँ “साहुनी पैसा लिनुस्।” ”मलाइ रिस नउठाउनुस् है धेरै।” ऊ मुर्मुरिँदै मेरो छेउमा आइ।
“मैले के गरेर रिस उठाएँ त अनि ?” मैले हाँस्दै बोलेँ।
”चिया खान यहाँ नआउनु भनेको किन नमान्नु ?”
“तिमिले पकाएको चिया अन्त कहाँ खान पाइन्छ त अनी ?”
“कुनदिन आमाले थाहा पाउनुहुन्छ अनि !” उसले केहि सान्त भएर बोली।
”थाहा भए झन् राम्रो नि। अहिले सर भन्नुहुन्छ त्यसपछि ज्वाइँ भन्नुहोला नि।” म हांसिदिएँ।
”खुबै होला ! त्यतिको आँटिले आउनु नि माग्न।” उसले तिखो बोलि।
“अब अर्को साल चाहिँ पक्का आउने हो।” मैले उसको चिउंडोमा हातले छुँदै बोलेँ।
”हेरौँला है त ?” उसले मेरो हात हटाउँदै बोलि।
मैले पचासको नोट निकालेर उसको हातमा राखिदिएँ। उसले पकडेर गल्लामा राखी अनि गल्ला बन्द गरेर मेरो अनुहारमा हेरेर निच्च दाँत देखाइ।
“फिर्ता पैसा खै त साहुनी ?” मैले हाँस्दै बोलेँ।
“केको फिर्ता नी ? सकियो हजुरको पैसा सबै।” ऊ पनि हाँसी।
“एक कप चियाको पचास रुपैयाँ पर्छ त ?”
”अनि चुरोट नि ?” उसले आँखा तर्दै बोलि।
“मैले चुरोट खाएँ र ?”
“के थाहा त अनि मलाइ। मैले दिएकै हो।” ऊ उस्तै हाँसिरही।
“तिमिले नै फालिदिएकी हैन चुरोटरु तिर्दिन म त्यसको पैसा।”
“फालेको छैन मैले कसैको चुरोट।” उसले फेरि मुख फुलाएर बोलि।
”अनि कसले फ्याँक्यो त अघि ?”
”तपाइँंकी गर्लफ्रेन्डले।” ऊ गलल हाँसी। ऊ सँगै म पनि हाँसिदिएँ।
“चुरोट र चिया नै जोडेर पनि त पचास त हुन्न नि। फिर्ता लेउ छिटो।” मैले हाँसो रोकेर फेरि बोलेँ।
“पाउनु हुन्न फिर्ता। सकियो भनेपछी सकियो।” उसले सिधा मेरो अनुहारमा हेरेर बोली।
”ठग साहुनी ! ग्राहकलाइ यसरी ठग्न पाइन्छ ?”
”मज्जाले पाइन्छ।” सस्तो खाने भए अन्तै जाने। मैले बनाएको चिया त महँगो नै पर्छ।” ऊ फेरि हाँसी।
”अहिले ठग्दै गर न। अर्को साल देखी जिन्दगिभर सित्तैमा चिया बनाएर खुवाउने तिमि नै हो क्यारे।” म हाँसिदिएं। ऊ अलिकति लजाए झैँं गर्दै मुस्कुराइ।
“ल त साहुनी। जान्छु अब म। ढिला हुन लाग्यो।” म पसलबाट निस्कन खोज्दै बोलेँ।
“हवस् मास्टरसाब। हजुर जान सक्नुहुन्छ।” उसले हाँस्दै बोलि।
“ए ! यता आउ ता एकछिन्।” अलिक अगाडी रोकिएर मैले उसलाइ बोलाएँ।
“किन ?”
ऊ मेरो अगाडी आएर उभिइ। मैले लगत्तै उसलाइ पकडेर ओठमा चुम्बन गरिदिएँ। ऊ झट्टै फुत्किएर म बाट पर गइ अनि यताउता नजर डुलाई। केहि नबोली रिसाए झैँ गर्दै मुख फुलाएर मलाइ हेरि। ”अब चाहिँ मेरो पैसा असुल भयो।” म हाँसिदिएँ। उसको ओठमा आइ सकेको मुस्कान पनि भित्रै दबाएर उसले मलाइ आँंखा तरिरही।
म हरेकदिन चियापसल गइरहने भए पनि यसरी ऊ सँग जिस्किने अनि चल्ने मौका भने कमै मात्र मिल्थ्यो। मौका मिलेको बेला भने म उसलाइ सधैँं चिढ्याइँ हाल्थेँ। कहिले चुरोट मागेर त कहिले अपरिचित ग्राहक झैँ गरेर। म कहिलेकाहिँ पसल पुगिन भने भेट्ने बित्तिकै “किन आउनु भएन” भनेर सोधी हाल्थी। अनि पसल जाँदा पनि “नआउँनु यहाँ चिया पिउन” भन्न छोड्दिन थिइ।”
म त्यही पसल नजिकैको ट्युसन सेन्टरमा पढाउथेँ। ऊ मेरि बिधार्थी पनि थिइ। बिबिएस दोश्रो बर्ष चल्दै थियो उसको। बेलुका चार बजेदेखी पाँच बजे सम्मको कक्षामा पड्थी ऊ। म कक्षामा पनि अरुले थाहा नपाउने गरि उसलाइ जिस्काइ दिन्थे काहिलेकाहिँ। ऊ उसै गरि मलाइ आँखा तर्थी। पढाइमा मध्यम बिधार्थी थिइ ऊ। तर ब्यबहारले परिपक्व थिइ। कहिलेकाहिँ आन्टी नहुँदा ऊ एक्लै पनि पसल चलाउथी। उसले दुख अनि अभाव बुझेकी थिइ। त्यही सानो पसल बाहेक अरु आयश्रोत केहि थिएन उसको परिवारको। उसका बा थिएनन्। उसका बाको पहिल्यै मृत्यु भएको हो वा आमालाइ छोडेका हुन्, मलाइ थाहा थिएन। मैले कहिल्यै सोधेको थिइन पनि। ऊ सामन्य कपडा लगाउथी। धेरैजसो कुर्ता सुरुवाल। धेरै मेकअप पनि गर्दैन थिइ। ऊ मैले पढाउने बिधार्थीहरु मध्ये सबैभन्दा राम्री त थिइन तर मलाइ ऊ सबैभन्दा बढी मन पर्थी।
एकदिन शुक्रबार ऊ ट्युसन आइन। कक्षा सकिने बित्तिकै म चिया पसल पुगेँ। ऊ चिया बनाउँदै थिइ। आन्टी सब्जी केलाउँदै थिइन्। म पसलमा पुग्ने बित्तिकै बेन्चमा बसेँ। आमा छोरी दुबैले मलाइ पुलुक्क हेरे। आन्टी मुसुक्क मुस्कुराइन्।
“मलाइ पनि चिया बनाउ है निरु ?” मैले बोलेँ। उसले केहि जवाफ दिइन।
“आज ट्युसन किन आएनौ तिमि ?” मैले सोधेँ।
“आज जान भ्याइन सर त्यो। म उर्लाबारी गएकी थिएँ। म हिँडेपछी त्यसले पसल हेर्नै पर्यो।” आन्टिले आँफै जवाफ दिइन्।
“ए ए, अब परिक्षा आउन लागी सक्यो। सकेसम्म नछुटाएको राम्रो नि !” मैले बोलेँ।
“के गर्नु। भएको यहि एउटा पसल हो। यो पनि बन्द गरेर नि भएन।” उनले अँध्यारो अनुहार बनाएर बोलिन्। चिया बनाउँदै गरेकी निरुको पनि अनुहार
अँध्यारो भयो। उनिहरुको अनुहार देखेर मेरो पनि अनुहार लत्रीयो।
“भोलि पठाइदिनु नि त। छुटेको म पढाइदिउँला। भोली सनिबार म पनि फुर्सदै हुन्छु।” मैले सानो स्वरमा बोलेँ। आन्टिले केहि बोलिनन्। सब्जी केलाइ रहिन्।
उसले चिया ल्याएर दिइ। मैले पकड्दै बोलेँ “भोली आउनु, म छुटेको पढाइ दिउँला।”
”कति बजे ?” सानो स्वरमा उसले सोधी।
”छुट्टिको दिन आठ बजे सम्म त म सुतेको हुन्छु। त्यसपछी जतिखेर आए नि हुन्छ।” मैले हाँस्दै बोलेँ। ऊ पनि अलिकती मुस्कुराइ।
भोली पल्ट बिहानको दस बजे ऊ आइ। मैले उसलाइ हेरेर जिस्काउँदै बोलेँ “किन आएकी हौ आज ? सनिबार भन्ने बिर्सियौ क्याहो ?”
“किन बोलाउनु त अनि हिजो ?” उसले आँखा तर्दै बोलि।
“मैले बोलाएको थिएँ र ?” म फेरि जिस्किएँ।
“नजिस्किनु है धेरै। कक्षा खोल्नु छिटो।” उसले थर्काइ।
“किन खोल्नु कक्षा ? तिमि एक्लै त हौ। माथी हिँंड कोठामा नै सिकाइदिन्छु।” यति भनेर म माथी कोठातिर लागेँ। ऊ पनि चुपचाप मेरो पछि आइ। कोठामा पसेपछी मैले ढोका बन्द गरेर चुकुल लगाएँ। उसले अनौठो नजरले मलाइ हेरि तर केहि बोलिन। ऊ पलङको छेउमा बसि अनि किताब र कपि फिँजाउन थाली।
“किताब खोल्न थाल्यौ त। मैले त सनिबार पढाउने गर्या छैन।” म उसलाइ चिँढ्याउन थालेँ।
“धेरै नजिस्की सिकाइदिनु खुरुक्क।” उसले घुर्कि लगाइ।
“यसरी एक्स्ट्रा क्लास लिएको पैसा कसले तिर्छ मलाई ?”
“म तिरौँला भोली।” उसले मुख फुलाउँदै बोली।
”साह्रै महँगो लिन्छु म एक्स्ट्रा क्लासको चार्ज फेरि।” म उसको छेउमा आउँदै बोलेँ।
”खुब होला। किन नि महंगो ?” उसले मलाइ पुलुक्क हेरर बोलि।
“तिमिले त कहिलेकाहिँ मनलागी लिन्छौ त चियाको दाम।” म हाँसिदिएँ। ऊ पनि म संगै हाँसी। म उसको छेउमा बसेँ। उसका र मेरा तिग्रा जोडिए। उसका तिग्राको न्यानोले मलाइ सिरिङ्ग बनायो। ऊ फनक्क म तिर फर्किइ अनि मेरो गर्धनमा पकडेर ओठमा ओठ ओठ जोडाइ। लगत्तै ओठ झिकी अनि भुइँ तिर नजर झुकाएर हाँस्दै बोलि “यतिले त पुग्छ होला नि हजुरलाइ एक्स्ट्रा क्लासको फिस् !”
मैले उसलाइ तानेर आफ्नो छातिमा जोडाएँ अनि उसका ओठ छेउमा ओठ लगेर सानो स्वरमा बोलेँ “अँहँ पुगेन त्यतिले। म आँफै लिउँ अरु ?”
उसले मेरो ढाडमा हात लगेर लजालु मुस्कुराहटको साथ टाउको हल्लाएर स्विकृती दिइ। मैले मेरा ओठलाइ उसका ओठमा खप्ट्याइ दिएँ। उसले आँखा बन्द गरि। मेरा ओठका बिचमा उसको तल्लो ओठ चेपियो केहिबेर। उसका हातहरु मेरा ढाडमा अझै कसिन थाले। बिस्तारै उसका पनि ओठहरु सलबलाए। केहिबेरमा नै हाम्रा जिब्राहरुको एकआपसमा स्पर्श हुन थाल्यो……..
सिथिल भएर म पलङमा पल्टिएपछी केहिबेर मौनता छायो। केहि समयपछी ऊ मेरो नजिकै आएर मेरो छातिमा टाउको राखी अनि सानो स्वरमा बोली “एउटा कुरा भनौँ ?”
”भनन के कुरा हो ?”
”हामी अर्को साल त बिहे गर्ने नि है ?”
”गर्ने त अनि। मैले सधैँ भनी राखेको त छु नि।”
”मलाइ त बिहे गरेर लानुहुन्छ। अनि मेरि आमा ?” उसले भारी स्वरमा बोली।
“हँ‘ आमा के त ?” म अकमकिएँ।
”मेरि आमाको म बाहेक अरु कोहि छैन। हामीले बिहे गरेपछी मेरि आमाको बारेमा केहि सोच्नु भएको छ ?” उसले मेरो अनुहारमा माया लाग्दो तरिकाले हेर्दै बोलि। मैले कहिले त्यो बारेमा सोचेको थिइनँ। मलाइ ऊ सँग बिबाह गर्न मन थियो। मेरि आमाले चाहे जस्तै घर गरिखाने बुहारी भित्र्याइदिने रहर थियो। तर
मैले कहिले सोचेको थिएन कि “उसकी आमाको जिम्मेवारी पनि निरु संगै छ” भनेर।
“केहि सोचौँला नि। अहिले नै बिहे गर्ने त हैन क्यारे। अझै एकसाल छ।” मैले हडबडाउँदै बोलेँ।
“त्यही पनि त। यसो सम्झाएको नि हजुरलाइ।” उसले थोरै अनुहार अँध्यारो बनाएर बोलि।
“सम्झाउनै पर्दैन नि। मलाइ सबै थाहा छ।” मैले अलिकती मुस्कुराएर बोलेँ।
सायद, उसले चाहे जस्तो उत्तर मैले दिइन। त्यसैले उसको अनुहार अझै खस्कियो। मैले उसलाइ अझै नजिक तानेर छातिमा जोडले कसेँ। ऊ केहि नबोली चुपचाप छातिमा टाँसिइरहि। ”अनि पढ्न पर्दैन ?” केहिबेरमा मैले उसलाइ झकझक्याउँदै सोधेँ । ऊ लजाए झैँ मुस्कुराउँदै उठेर कपडा लगाउन थाली। म पनि ऊ संगै उठेर कपडा लगाएँ।
लगभग आधा घन्टामा अघिल्लो दिनको पाठ उसलाइ सिकाएर सकियो। ऊ फर्कन कोठाबाट निस्कन लाग्दा मैले हाँस्दै उसको हात पकडेर तानेँ। ऊ हुरिएर मेरो छातीमा आइ। मैले उसलाइ पकडेर चुम्बन गर्न खोजेँ। उसले टाउको तर्काउँदैँ हाँसेर बोलि “फटाहा मान्छे ! अब तुरुन्तै ?”
“त्यतिले पुग्छ त ? मलाइ त सधैँ माया गरिराख्न मन छ।” म हाँसिदिएँ।
“अब अर्को साल देखी सधैँ माया गर्नु।” उसले पनि हाँसेरै बोली।
मैले जबरजस्ती तानेर ओठमा ओठ जोडाएँ। उसले बल गरेर मलाइ ठेली अनि हाँस्दै ढोकामा पुगेर बोलि “अब अरु अर्को पटक।”
त्यो ‘अर्को पटक’ कहिल्यै आएन। ऊ बिस्तारै बदलिँदै गइ। ऊ ट्युसन आउँथी अनि सकिने बित्तिकै सरासर पसल फर्किन्थी। म उसलाइ जिस्काउँथे पहिले जस्तै तर ऊ आँखा तर्दैन थिइ बरु नजर झुकाउँथि। म उसको पसल जान्थेँं। ऊ चिया बनाएर दिन्थी तर कहिल्यै बढी पैसा लिँदैन थिइ। म ठट्टा गर्न खोज्थेँ तर ऊ ब्यस्त भए झैं केहि न केहि काम गर्न थाल्थी।
बिस्तारै मेरो चिया पसल जाने क्रम पातलिँदै गयो। उसले पहिले झैँ ब्यबहार नगरेपछी जान मन पनि लाग्न छोड्यो। केहि समयपछी उसको ट्युसन पनि सकियो। ट्युसनको अन्तिम दिन मैले उसलाइ सोधेँ “किन बद्लिएकी छौ तिमी ? के भएको छ तिमिलाइरु मैले केहि गल्ती गरेँ कि ?”
”छैन त केहि भएको। उस्तै त छु नि म।” उसले भुइँमा नजर लगाएर बोली।
”अचेल त बोल्न पनि छोड्यौ त।”
“बोल्दै छु त अनि।” उसले सानो स्वरमा बोली।
”म मन पर्न छोड्यो हो ? बिहे नगर्ने अब मसँग ?” मैले ठाडो प्रश्न गरेँ।
”मन पर्छ। हजुर जस्तो मान्छे किन मन नपर्नु मलाइ। बिहे गर्न त पहिले हजुरले आमासँग पो कुरा गर्न पर्छ त।” उसले अगाडी आएको केशलाइ कानमा
राख्दै बोलि।
“माँग्न नि आउनु कि नआउनु भैसक्यो मलाइ त। तिमिले नै पराइ झैँ ब्यबहार गर्न थाल्यौ।” मैले उसको अनुहारमा हेरेर बोलेँ।
“आउने नआउने त हजुरको बिचार नि।” उसले ठाडो उत्तर फर्काइ। मलाई उसको उत्तर चित्त बुझेन।
”ए ल ल जाउ। ढिला भयो होला।” मैले निराश स्वरमा बोलेँ।
उसले एकपटक मेरो अनुहारमा हेरि अनी अँध्यारो अनुहार बनाएर त्यहाँबाट हिँडी।
त्यसपछी पनि म कहिलेकाहिँ चियापसल जान्थेँ। तर उसको ब्यबहार बद्लिएन। म जे अपेक्षा लिएर त्यहाँ जान्थे त्यो कहिले पुरा भएन। केहि समय पछिदेखि म बिर्तामोडको बैँकमा काम गर्न थालेँ। मैले दमक छोडेको थिएँ अनि सँगै छोडेको थिएँ उसको चियापसल पनि। बिस्तारै उसका यादहरु पनि पातलिँदै गए। केहिपटक उसलाइ फोन अनि म्यासेज गरेँ तर उसले खासै वास्ता नगरेपछी त्यो पनि छोडिदिएँ।
समय बित्त्दै गयो। ऊ मेरो यादमा पनि बिरलै मात्र आउँथी। उसलाइ सम्झँदा पनि मलाइ ऊ देखी रिश उठ्न थालेको थियो। मैले त्यती माया गर्दागर्दै पनि उसले पराइ झैँ गरेको सम्झिँदा मन गह्रौँ भएर आउँथ्यो।
छ बर्षपछी ! मेरो बिबाहको भोलिपल्ट मलाइ फेसबुक म्यासेन्जर खोलेर हेरेँ। म्यासेन्जरमा बधाइ अनि शुभकामना दिएका म्यासेजहरुको लस्कर थियो। म्यासेन्जरकै सिरानमा एउटा म्यासेज रिक्वेस्टको नोटिफिकेसन थियो। सुरुमै मैले त्यसैलाइ खोलेर हेरेँ। त्यो म्यासेज अरु कसैको नभएर उहि निरुको थियो।
म्यासेजमा लेखेको थियो “बधाइ छ सर। बिहे गर्नु भएछ, खुशी लाग्यो। म्याडमलाइ धेरै माया गर्नुहोला।” म्यासेज देखेर एकपटक झनक्क रिश उठ्यो। फेरि उसको बारेमा जान्न मन पनि लाग्यो। मैले ढिला नगरी उसको प्रोफाइल खोलेर हेरेँ। प्रोफाइल फोटोमा उसको समुन्द्र छेउमा उभिएको चिटिक्क परेको फोटो थियो। फोटोको मुनि पटि लेखिएको थियो “Lives in California”।
त्यो देख्दा एकपटक मुटु ढक्क फुल्यो। सायद जलन भएर आयो। मैले लगत्तै स्क्रोल गरेर केहि तल सारेँ। उसले भर्खरै केहि तस्बिरहरु अपलोड गरेकी थिइ। मैले एक एक गरेर तस्बिरहरु नियाल्न थालेँ। उसको श्रीमान अनि छोरीको तस्बिर देखेर मन अमीलो भएर आयो। धेरैबेर हेरिन, स्क्रोल गरिहालेँ। अर्को एउटा तस्बिर आएपछि म रोकिएँ। त्यो तस्बिर उसकी आमा यानिकी चिया पसलकी आन्टिको थियो। आन्टी पहिले भन्दा झनै जवान भए झैँ देखिएकी थिइन्। कालो अनि ठुलो चस्मा लगाएकी उनि गमक्क परेर मुस्कुराउँदै उभिएकी थिइन् समुन्द्र किनारमा। धेरैबेर सम्म एकहोरो तस्बिर नियालिरहेँ।
निरु संग उठेको रिस अनि जलन कतिखेर सान्त भयो पत्तै भएन। केहिबेरपछी मुस्कुराउँदै म्यासेन्जरमा फर्किएँ अनि उसको म्यासेजको रिप्लेमा लेखेँ
“धन्यवाद। तिमि पनि धेरै माया गर्नु तिम्रो श्रीमानालाई। मलाइ पनि खुशी लाग्यो तिम्रो बारेमा थाहा पाएर।”
समाप्त !








