कात्तिक १२ गतेदेखि स्माट टेलिकममा फोरजी मोबाइल सेवा

कात्तिक ९, काठमाडौँ । कात्तिक १२ गतेदेखि स्माट टेलिकमले फोरजी मोबाइल सेवा सुरु गर्ने भएकाे छ । कम्पनीले पहिलो चरणमा काठमाडौँ उपत्यका र पोखरा क्षेत्रबाट फोरजी मोबाइल फोन सेवा सुरु गर्न लागेको हो ।

टेलिकमका प्रमुख प्रशासकीय अधिकृत सजिन राजभण्डारीले पहिलो चरणमा काठमाडौँ उपत्यका र पोखराबाट सेवा सुरु गर्न लागेको जानकारी दिए । उनका अनुसार उपत्यकामा मात्रै कम्पनीले १५० वटा बिटिएस टावरबाट सेवा सञ्चालन गर्नेछ भने थप ८० वटा टावर राख्ने काम भइरहेको छ । त्यसै गरी, अन्य स्थानहरुमा पनि फोरजी मोबाइल सेवा सञ्चालन गर्ने तयारीमा कम्पनी रहेको उनले जानकारी दिए ।

कम्पनीले सेवा सञ्चालन गर्नु पूर्व प्राधिकरणलार्इ जानकारी गराउनु पर्ने प्रावधान रहेकाे छ । त्यसै अनुरूप कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी गराएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए ।

प्राधिकरणका अनुसार स्मार्ट टेलिकमले फोरजी सेवा सञ्चालन गर्न सम्पूर्ण राजस्व रकम बुझाएको हुनुपर्ने र प्राधिकरणका निर्देशन तथा सेवाका सर्तहरू पालना गर्नुपर्ने हुन्छ । कम्पनीले गत आर्थिक वर्षसम्मको रेभेन्यू फि, रोयल्टी र ग्रामीण दूरसञ्चार कोषका लागि तिर्नुपर्ने रकम तिरिसकेको छ । तर, प्राधिकरणको फ्रिक्वेन्सी शाखाका अनुसार भने कम्पनीले अझै फ्रिक्वेन्सी बापतको केही रकम बुझाउन बाँकी रहेको छ ।

‘कम्पनीले तिर्नुपर्ने फ्रिक्वेन्सी दस्तुरको १६ करोड रुपैयाँ तिरेको छ तर त्यसको थप दस्तुर बापतको १ करोड रुपैयाँ तिरेको छैन, हामीले यसको लागि चिठी पठाएका छौँ,’ प्राधिकरणका सम्बन्धित अधिकारीले भने ।

स्मार्ट टेलिकमले फोरजी सेवा सञ्चालन गर्नका लागि १८०० मेगाहर्ज ब्याण्डमा १२ मेगाहर्ज फ्रिक्वेन्सी लिएको प्राधिकरणले जानकारी दिएको छ, जसमा प्रविधि तथस्टताको आधारमा फोरजी सेवा सञ्चालन गर्नेछ । फोरजी सेवा सञ्चालनको लागि कम्तीमा ५ मेगाहर्ज आवश्यक पर्दछ ।

कम्पनीले हाल सेवा सञ्चालनका लागि काठमाडौँ उपत्यकासहित मुलुकभर करिब साढे ३ सय बिटिएस टावर स्थापना गरिसकेको छ । कम्पनीको वेबसाइटका अनुसार हाल १३ लाख ग्राहकहरुले सेवा लिइरहेका छन् । सन् २००८ मा स्थापना भएको कम्पनीले सन् २०१० देखि जिएसएम मोबाइल सेवा सञ्चालन गरिरहेको छ । कम्पनीले ३४ जिल्लाहरूमा सेवा प्रदान गरिरहेको जानकारी दिएको छ ।

स्मार्ट टेलिकमले सन् २०१३ अप्रिलमा यूनिफाईड लाइसेन्स अर्थात् एकीकृत दूरसञ्चार अनुमति पत्र प्राप्त गरेको थियो । स्मार्ट टेलिकमलाई गत साउन १५ गतेदेखि नै फोरजी सेवा सञ्चालन गर्न सक्नेगरी प्राधिकरणले अनुमति प्रदान गरेको थियो । यसअघि नेपाल टेलिकम र एनसेलले फोरजी सेवा सञ्चालन गरिसकेका छन् । अब स्मार्टले यस्तो सेवा गरेमा नेपालमा तीनवटा मोबाइल सेवा प्रदायकले फोरजी सेवा सञ्चालन गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =