म्यानचेस्टर सिटीको शानदार जित, गर्यो सात गोल

काठमाडौं, असोज २९ । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शानदार जित दर्ता गरेको छ ।
प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीले घरेलु मैदानमा भएको खेलमा स्टोक सिटीलाई ७–२ ले हराएको हो । म्यानचेस्टर सिटीको जितमा गाब्रियल जिससले दुई तथा रहिम स्ट्रर्लिङ, डेविड सिल्भा, फर्नानडिन्हो, लिरोय साने र बर्नार्डो सिल्भाले एक–एक गोल गरे ।
स्टोक सिटीका लागि मेम मिरम डिउफले एक गोल गरे । म्यानचेस्टर सिटीका केली वालकरले आत्मघाती गोल गरे । म्यानचेस्टर सिटीले प्रिमियर लिगका ८ खेलमा २९ गोल गरिसकेको छ ।
जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको २२ अंक भएको छ । जितपछि प्रशिक्षक पेप गार्डिवलाले आफू क्लब आएपछिको सबैभन्दा उत्कृष्ट जित रहेको बताएका छन् ।
उनले आफू निकै खुशी रहेको बताए । यो खेलमा केभिन डि ब्राउनले उत्कृष्ट प्रदर्शन गरे । उनले चार गोलका लागि सहयोग गरे ।
उनले सन् २०१५ देखि अहिलेसम्म प्रिमियर लिगमा ३२ गोलका लागि सहयोग गरेका छन् । जुन अरु कुनै खेलाडी भन्दा बढी हो । ब्राउनले सिटीबाट एक सयौं खेल खेलेका छन् ।













