दिवङ्गत दाहालको आजै अपरान्ह पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

मङ्सिर ३, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भएको अस्पतालले पुष्टि गरेको छ । थापाथलीस्थित नर्भिक अस्पतालले प्रकाश दाहालको आकस्मिक ह्रृदयघातका कारण निधन भएको पुष्टि गरेको हो ।

आइतबार बिहान ५ बजेर ५० मिनेटमा अस्पताल पु¥याइएका प्रकाशको अस्पतालले ६ बजेतिरै मृत घोषणा गरेको थियो । अस्पताल पुग्नु अघि नै प्रकाशको निधन भएको अस्पतालका चिकित्सक जेपी जैसवालले जानकारी दिए । उनले अस्पतालमा पुग्दा प्रकाशको मुटुको गति समेत बन्द भइसकेको पनि बताए । अस्पतालले चुनावी प्रचार अभियानका क्रममा झापा पुग्नु भएका पूर्व प्रधानमन्त्री दाहाल अस्पताल पुगेपछि मात्रै पत्रकार सम्मेलन गरेर प्रकाशको निधनबारे औपचारिक जानकारी गराएको हो ।

अस्पताल परिसरमा दाहाल परिवारजनको रुवावासी नै चलेको थियाे । यसैबिच, अहिले दिवङ्गत प्रकाश दाहालको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा पु¥याइएको छ । पूर्व प्रधानमन्त्री दाहाललाई पुत्र शोक परेकोमा राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, विभिन्न राजनीतिक दलका नेताहरूले गहिरो दुःख व्यक्त गरेका छन् ।

दिवङ्गत दाहालका दुई वटी श्रीमती र २ वटा छोराहरू छन् । अहिले दिवङ्गत दाहालको पार्थिक शरीरमा अन्तिम श्रद्धाञ्जली दिन माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, शुभेन्छुक, आफन्तजनको ठुलो भीड लागेको छ । दिवङ्गत दाहालको आजै अपरान्ह पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =