‘कान्छी’ को गीत ‘यो दिल दाउमा लगाउने’ मा दयाहाङ र स्वेता

काठमाडौँ , पुस २०। फिल्म ‘कान्छी’को दोस्रो गीत सार्वजनिक भएको छ। बिहीबार युट्युबमार्फत फिल्ममा समावेश ‘यो दिल दाउमा लगाउने’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक उक्त गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन्।
धर्मेन्द्र सेवानको स्वर रहेको गीतमा दयाराम पण्डेको शब्द छ। वसन्त श्रेष्ठको नृत्य निर्देशनमा तयार भएको भिडियोमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र स्वेता खड्का फिचरिङ छन्। भिडियोमा दयाहाङ र स्वेतासँगै अनु शाह, कामेश्वर चौरसिया, आशान्त शर्मा, भूमिका श्रेष्ठलाई पनि देख्न सकिन्छ।

निकै सुन्दर ठाउँमा छायांकन गरिएको भिडियोमा दयाहाङले स्वेता खड्कालाई माया व्यक्त गरिरहेका छन्। फागुन ४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई आकाश अधिकारीले निर्देशन गरेका छन्। काया फिल्म्स्’को व्यानरमा निर्माण भएको फिल्ममा स्वेता खड्का र शैलेश खड्काको लगानी रहेको छ।
फिल्ममा रविन खड्का सहनिर्माता रहेका छन्। पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई बनिश शाह र भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन्। यम थापाको लेखन रहेको यस फिल्ममा हिमाल केसीको द्वन्द्व रहेको छ।








