आफ्नाे उम्मेदवार जिताउन काँग्रेस र माओवादी केन्द्रकाे नयाँ रणनीति

काठमाडौ: भरतपुर महानगरपालिकाको मेयर पदमा रेणु दाहाललाई जिताउन काँग्रेस र माओवादी केन्द्रले नयाँ रणनीति बनाएका छन् । निर्वाचन आयोगले १९ नम्बर वडामा पुन मतगणना गर्ने निर्णय गरेपछि काँग्रेस र माओवादीले रेणुलाई जिताउने नयाँ रणनीति बनाएका हुन ।
काँग्रेस र माओवादी केन्द्रकाे चितवन जिल्ला समितिको आइतवार बसेको बैठकले १९ वडामा पुन मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई स्वागत गर्ने, छिटो भन्दा छिटो मतदानको मिति तोक्न माग गर्ने, वडा नम्बर १९ मा माओवादी केन्द्रले काँग्रेसका उम्मेदवारको प्यानलको पक्षमा मतदान गर्ने र काँग्रेसले आफनो सम्पूर्ण मत मेयर पदकी साझा उम्मेदवार रेणु दाहालका पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
माओवादी केन्द्रका तर्फबाट १९ नम्बर वडामा उम्मेदवार रहेका वडा अध्यक्षका उम्मेदवार खडग गुरुङ, महिला सदस्य विना गुरुङ, दलित महिला सदस्य शान्ति बिश्वकर्मा, सदस्यहरु राजेन्द्र बस्ताकोटी र दुर्गा लामाको उम्मेदवारी फिर्ता लिने निर्णय गरिएको अखिल (क्रान्ताकारी) का उपाध्यक्ष गोपालकृष्ण न्यौपानेले जानकारी दिनुभयो ।

माओवादी केन्द्र र काँग्रेसको गठबन्धनले मेयरमा रेणु दाहाल र उपमेयरमा पार्वती शाहलाई उम्मेदवार बनाएको थियो । सो वडाको मतगणना गर्दा ९० वटा मत च्यातिएको पाइएपछि निर्वाचन आयोगले शनिवार पुनमतदान गराउने निर्णय गरेको थियो । आयोगको निर्णयलाई एमालेले अस्वीकार गरेको छ । सो महानगरमा एमालेका उम्मेदवार देवी ज्ञवाली र माओवादी केन्द्र र काँग्रेस गठबन्धनकी साझा उम्मेदवार रेणु दाहाल बीच प्रतिस्पर्धात्मक मत प्राप्त भइरहेकाे थियाे ।
आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५० को उपदफा १ को खण्ड ख बमोजिम मतगणना स्थलको अनाधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आएको हुँदा सोही दफाको उपदफा ४ बमोजिम कब्जाबाट असर परेको सो वडाको मतदान केन्द्रको सम्पूर्ण मतपत्र अवैध घोषणा गरी मतदान रद्द गरेको छ ।
आयोगले सोही ऐनको दफा ५० को उपदफा ५ बमोजिम मतदान केन्द्रको मतदान हुने स्थान, मिति र समय तोकी पुनः मतदान गर्ने व्यवस्था मिलाउन भरतपुर महानगरपालिका चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । भरतपुर महानगरमा २९ वटा वडा छन् । ती मध्य वडा नं १९ को मतगणना हुदै गर्दा मतपत्र च्यातिएको थियाे । यस सहित वडा नं २० को मात्र मतगणना गर्न बाँकी छ ।
दुई वटा वडाको मतगणना गर्न बाँकी रहँदा नेकपा (एमाले) का तर्फबाट प्रमुख पदका उम्मेदवार ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार दाहाल भन्दा ७८४ मतले अगाडि रहनुभएको छ । वडा नं १९ मा एक हजार ८०० मत गन्दा यो मतान्तर घटेर ७३३ मा झरेको थियो । सो वडामा काँग्रेसका अध्यक्ष र सदस्यले अग्रता कायम गरेका थिए ।








