गच्छदार युगको अन्त्य हुनुपर्छः भगवती चौधरी

मङ्सिर १३, सुनसरी । सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधित्व गर्दै पटकपटक उपप्रधान तथा मन्त्री बन्न सफल विजयकुमार गच्छदारले स्थानीय जनताको रोजगार खोसेको पूर्व वन राज्य मन्त्री तथा प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले बताउनु भएको छ ।

सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योग धन्दा बन्दहुँदा समेत उद्योग कलकारखाना सञ्चालन गर्न कुनै सहयोग नगरेको भन्दै यो क्षेत्रका जनताको रोजगारी खोसिनुमा गच्छदार जिम्मेवार रहेको बताउनु भएको हो ।

सुनसरीको सोनापुरमा नेपाल मुस्लिम इत्तेहाद सङ्गठन र मुस्लिम मुक्ति मोर्चाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै २६ वर्षसम्म १८ पटक मन्त्री हुँदा समेत उद्योगी मजदुरका पक्षमा केही गर्न नसकेको आरोप लगाउनु भएको हो । सुनसरी–३ का जनतालाई सदैव गरिबीको रेखामुनि राखेर आफ्नो अघिल्तिर झुकाउन कुनै स्वदेशी विदेशी लगानी भित्र्याउन नखोजेको जिकिर गर्नुभयो । ‘पटकपटक मन्त्री बन्न सक्नेले आर्थिक संवृद्धिका लागि मजदुर र उद्यमीका लागि राम्रो वातावरण किन बनाउन सक्नु भएन ? किन यहाँका जनतालाई रोजगारीको ग्यारेण्टी गर्न सक्नुभएन ? अब जनताले प्रश्न गर्नुपर्ने बेला आएको छ ।’

पूर्व वन राज्यमन्त्री समेत रहनुभएकी चौधरीले सुनसरी क्षेत्र नं. ३ का अमाहीबेल्हा, बर्जु गाउँपालिका क्षेत्रका जनता अहिलेपनि कष्टपूर्णरुपमा जिवनयापन गर्नु पर्ने अवस्था आउनुमा समेत गच्छदार जिम्मेवार भएको जिकिर गर्नुभयो । कृषि क्षेत्रकालागि अत्यन्त उर्वराक्षेत्र भए पनि सो क्षेत्रमा आधुनिक कृषि प्रणाली भित्र्याउन नसक्नुमा समेत गच्छदार जिम्मेवार भएको भन्दै नेकपा एमालेकी केन्द्रीय सदस्य समेत रहनुभएकी चौधरीले गच्छदारलाई ‘भिजन नभएको नेता’ भन्नु भयो । ‘यदि उहाँमा भिजन र योजना थियो भने, आफ्नै गाउँठाउँको विकास र संवृद्धिका लागि २६ वर्षमा धेरै गर्न सक्नुहुन्थ्यो ।’ नेतृ चौधरीले ‘जबसम्म एकल सर्वसत्तावाद र सामन्ति गच्छदारलाई जरैदेखि उखेल्न सक्दैनौं तबसम्म महिला मुक्ति देखि यहाँका तमाम आदिवासी, जनजाति, थारु, मुस्लिम समुदायको मुक्ति सम्भव छैन ।’ भन्नु भयो ।

उहाँले परिवर्तन र मुक्तिकै लागि आफ्नो उम्मेदवारी भएको भन्दै गच्छदारले ‘भगवतीलाई यस पटक हराउन सके अरू कसैले टाउको उठाउन नसक्ने’ भन्दै हिँडेको जिकिर गर्नुभयो । ‘गच्छदार जीमा दम्भ बढेको छ, भगवतीलाई हराए भने, अर्को पटक न मुस्लिम, न जनजाति, न थारु कसैले टाउको उठाउन सक्दैन, त्यसपछि त मेरो छोराको राज्य रे । म भन्छु, राजाको छोरा राजा बन्दा जनतालाई न्याय दिन नसक्दा यही जनताले राज संस्था उखालेर फालिदियो भने, उहाँ को हुनुहुन्छ र ?’

बिहारमा पनि १५ वर्षसम्म लालूप्रसाद यादवले निरङ्कुश शासन गरे पनि जनताले ब्यालेटबाटै हटाएर विकासप्रेमी नितिशकुमार जस्तो व्यक्तिलाई शासन सत्तामा ल्याएको उल्लेख गर्दै नेतृ चौधरीले सुनसरी क्षेत्र नं. ३ बाट पनि गच्छदार युगको अन्त्य गर्नुपर्ने बताउनु भयाे ।

चौधरीले २०७० सालमा जनताले जिताएपनि राज्यसत्ताले आफूलाई हराएको स्मरण गर्दै अब यस पटक त्यो इतिहास नदोहोरिने जिकिर गर्नुभयो । ‘सूर्य चिन्हमा तपाईहरुले नै ३१ सय बढी मतले जिताएकै हो, तर राज्य सत्ता नै लागेर मलाई अन्याय गर्‍यो । सूर्यमा स्वस्तीक छाप लगाएकाले तल नमस्कारमा गएर ल्याप्चे लगाउनै सक्दैन । त्यो त राज्य सत्ता लागेर विगारेकै हो ।’ उनले भन्नुभयाे ।

अहिले गच्छदारले आफूसँग विकासको एजेन्डा नभएपछि सोझासाझा जनतालाई भगवतीको चुनाव चिन्हपनि यही हो भन्दै रुख देखाउँदै हिँडेको भन्दै त्यस्तो भ्रममा नपर्न जनतालाई आग्रह गर्नुभयाे ।

सभामा बोल्दै क्षेत्र नं. ३ (क)का प्रदेश सभा उम्मेदवार लिलम बस्नेतले सुनसरी–३ लाई बनाउने कि बिगार्ने जनताकै हातमा निर्णायक भोट रहेको भन्दै बाम गठबन्धन परिवर्तन र विकासका लागि भएको बताउनुभयाे । उहाँले २६ वर्षसम्म यो क्षेत्रमा जरो गाडेर बसेकालाई नहटाएसम्म यो क्षेत्रमा परिवर्तन नहुने जिकिर गर्नुभयाे । कार्यक्रममा बोल्दै प्रदेश सभा (ख)का उम्मेदवार रामदेव यादवले प्राविधिक शिक्षा, आधुनिक कृषि प्रणाली, युवा स्वरोजगार तथा महिला शशक्तिकरणका लागि बाम गठबन्धनलाई अत्याधिक मतले विजयी गराउन आग्रह गर्नुभयाे ।

चुनावीसभामा सम्बोधन गर्दै नेकपा एमालेकी समानुपातिक उम्मेदवार निरुपालले परिवर्तन, विकास र स्थायी शान्तिका लागि बाम उम्मेद्वारलाई जिताउनु पर्ने भन्दै भगवती चौधरीले जितेको खण्डमा पार्टीले मन्त्री मण्डलमा समेत लागे भएकोले यो क्षेत्रमा विकास र संवृद्धिको ढोका खोल्न पार्टी प्रतिबद्ध रहेको बताउनु भयो ।

सभामा नेपाल मुस्लिम सङ्घका समिम अन्सारीले गच्छदारले मुस्लिम समुदायमा भ्रम छर्दै दुई चारहजार पैसाको लोभमा भोट किन्ने आँट गरे पनि यस पटक कुनै पनि मुस्लिम समुदाय प्रलोभनमा नपर्ने दाबी गरे । सभामा मुस्लिम समाजका रमजान अलि, मुस्लिम अगुवा नेता तैयब हुसैन, माओवादी केन्द्रका भानु मैनाली लगायतले सम्बोधन गरेका थिए ।

चुनावी सभामा सो क्षेत्रका हज्जारौं मुस्लिम समुदायको सहभागिता रहेको थियो । विगतमा यो क्षेत्र नेपाली काँग्रेसको गढको रूपमा गनिन्थ्यो । यस पटक यहाँका मुस्लिम समुदायहरू परिवर्तन र विकासका लागि भन्दै खुलेर भगवती चौधरीको पक्षमा लागेका छन् । सभामा विभिन्न पार्टी परित्याग गरी दुर्इ दर्जन मुस्लीम युवा तथा अगुवाहरू एमालेमा प्रवेश गरेका थिए ।

बुधवार चौधरीले सो क्षेत्रका अमाहीबेल्हा, पूर्वकुशाहा, औराबनी, दुहवी क्षेत्रका मतदातासँग घरदैलो समेत गरेकी थिइन् । यस पटक यो क्षेत्रका अधिकांश ग्रामीण भेगका जनता समेत भगवती चौधरीका पक्षमा देखिएका छन् । विगतमा अमाहीबेल्हा, औरावनी, पचिरा, पूर्वकुशाहा, छातावेली जस्ता क्षेत्र काँग्रेसको गढ मानिन्थ्यो । यस पटक यी क्षेत्रबाट काँग्रेसले आफ्नो परम्परागत मतसमेत गुमाउने अवस्था आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + two =