बिदेशमा अध्ययन गरिरहेका विद्यार्थीहरु कसरी मानसिक तनावबाट मुक्त हुन सक्छन् ?

प्रसिद्ध उत्प्रेरक तथा लेखक नेपोलिअन हिल भन्छन् ‘मानिसको दिमागले जुन जुन कुराहरु सोच्छ अनी कल्पना गर्छ, त्यही कुरा मानिसले प्राप्त गर्दछ ।’ यो कुरा धेरै हदसम्म सही छ किनकी धेरैले आफ्नो सपना साकार पार्न सकारात्मक कुराहरु सोच्नु अनी कल्पना गर्नुपर्दछ ।

महान बैज्ञानीक अल्बर्ट आइन्स्टाइनले भनेका छन् ‘कल्पना ज्ञान भन्दा ठुलो हुन्छ ।’ तपाईंले जे कुरा कल्पना गर्नुहुन्छ वा चिताउनुहुन्छ त्यही कुरा वास्तविकतामा प्राप्त गर्नुहुन्छ धेरै हदसम्म ।

यस अर्थमा नेपालबाट बैदेशिक अध्ययनमा जाने धेरै विद्यार्थीहरुले आफुले चाहेको देशको कलेज वा युनिभर्सिटीमा पढ्न जाने सपना बुन्छन, सोच्छन, कल्पना गर्छन् अनी अन्तमा आफ्नो सपना साकार पारेरै छोड्छन ।

नेपाली विद्यार्थीहरु संसारका धेरै देशहरुमा अध्ययन गर्न जान्छन । जस्तै अस्ट्रेलिया, अमेरिका, युके, क्यानडा, जापान, न्यूजिलेण्ड, फ्रान्स, साइप्रस लगायत अन्य धेरै देशहरु । उनिहरुले ति देशमा अध्ययन गरी नेपाल फर्केर आफ्नो उज्वल भबिश्य बनाउँछु भन्ने सोच राखेका हुन्छन । यो राम्रो कुरा हो तर, त्यहाँ उनिहरु अध्ययन गर्दा उनिहरुले बिभिन्न मानसिक तनाबहरु झेल्नुपर्ने समस्या आउन सक्छ ।

तसर्थ आज यो लेखमार्फत बिदेशमा अध्ययन गरिरहेका विद्यार्थीहरुमा मानसिक तनाबका कारणहरु र कसरी मानसिक तनाब वा स्ट्रेस्बाट मुक्त हुनसक्छन भन्ने कुराको म चर्चा गर्न चाहन्छु ।

मानसिक तनाबका कारणहरुः

१) सांस्कृतिक भिन्नताः

बैदेशिक अध्ययनमा जाने विद्यार्थीहरुलाई मानसिक तनाब गराउने मुख्य कारणहरुमध्ये सांस्कृतिक भिन्नता एक हो । एक देशबाट अर्को देशमा अध्ययन गर्न जाँदा त्यहाँको फरक संस्कृति र रहनसहनसँग घुलमिल हुन निकै समय लाग्नसक्छ जस्ले गर्दा एक किसिमको फरकपन, मनमा तिक्तता अनी तनाब उत्पन्न हुनसक्छ ।

मान्छे एउटा बिशेष साँस्कृतिक परिबेशमा हुर्केको हुन्छ । स्वभावैले उस्लाई अर्को फरक संस्कृतिमा अभ्यस्त हुन केही समय लाग्छ । तसर्थ साँस्कृतिक भिन्नता तनाबको एक प्रमुख कारण हो ।

२ होम सिक्नेसः

होम सिक्नेस वा घर परिवार अनी साथीभाइ सम्झेर बिदेसी भुमिमा न्यास्रो मान्नु बिदेशमा पढ्न जाने विद्यार्थीहरुलाई तनाब गराउने अर्को कारण हो । आफ्नो घरबाट टाढा रहँदा आफ्नो परिवार, साथीभाइ, अनी आफन्तलाई धेरै याद गर्ने मानबिय स्वभाब नै हो । यही कारणले पनि उनिहरुमा सुरु सुरुमा अली तनाब महसुस हुनसक्छ ।

३) फरक सिकाइ प्रणालीः

नेपालको सिकाइ प्रणाली भन्दा बिल्कुल फरक टिचिङ मेथडको कारण पनि बिदेश पढ्न गएका विद्यार्थीहरुमा सुरु सुरुमा सामान्य स्ट्रेस महसुस हुन सक्छ ।

४) अति उच्च महत्वकांक्षाः

नेपाली विद्यार्थीहरु बिदेश पढ्न जाँदा धेरै महत्वकांक्षी भएको मैले महसुस गरेको छु । उनिहरुको अनावश्यक महत्वकांक्षा पनि तनाब गराउने अर्को कारक तत्व हो ।

५) आफु नौलो ठाउँमा बाँच्न सकिने हो होइन भन्ने चिन्ता अर्को कारक तत्व हो तनाबको । धेरै जसो विद्यार्थीहरु यो बिषयमा निकै गम्भिर भएको मैले पाएको छु ।

अब आफुलाई कसरी तनाबमुक्त राख्ने भन्ने बारे छोटो चर्चा गरौँ ।

१) संधै आफ्नो ख्याल राख्नेः

वास्तवमा बिदेश पढ्ने तपाईंको आफ्नो इच्छा अनी निर्णय भएकोले यो कुरामा खुशी हुँदै सदा ख्याल राख्नुहोस् आफ्नो । आराम गर्ने, समयमा खाने, समयमा सुत्ने सकेसम्मा प्रयास गर्नुहोस् । आफ्नो स्वास्थ्य राम्रो बनाउने कृयाकलापहरु गर्नुहोस् जस्ले तपाईंलाई सदैब तन्दुरुस्त बनाउन सहयोग गर्दछ । आफु स्वस्थ र तन्दुरुस्त भएपछी तपाईंले जस्तोसुकै चुनौती पनि सजिलै सामना गर्न सक्नुहुनेछ ।

२) नयाँ साथीहरु बनाउने अनि सामाजिक घुलमिल गर्नेः

तनाब कम गर्ने अर्को उपाय हो नयाँ साथीहरु बनाउने अनी सामाजिक कृयाकलापहरुमा सकृय बन्ने । बिभिन्न देशका नयाँ साथीहरुसंग चिनजान गर्ने, गफ गर्ने, अनी कलेजका कृयाकलापहरुमा सकृयरुपमा सहभागी बन्नुभयो भने तनाबबाट मुक्त बन्न सक्नुहुनेछ ।

३) अाफ्ना अनुभूतिहरू बाँड्रनुसः

होम सिक्नेसबाट मुक्त हुनको निम्ती तपाईं सामाजिक सन्जाल मार्फत आफ्ना परिवार अनी नजिकका साथीहरुसँग बेला बेला भिडियो कल मार्फत बोल्न सक्नुहुन्छ । आफ्ना भावनाहरु, अनुभुतिहरु बांड्न सक्नुहुन्छ । अनी रमाइलो महसुस गर्न सक्नुहुन्छ । यो मानसिक रुपमा प्रसन्न रहने अर्को महत्वपूर्ण उपाय हो ।

४) राम्रो संगत गर्नुहोस्ः

एउटा भनाइ नै छ । ‘तिम्रो आफ्नो परिचय तिम्रो संगत बाट थाहा हुन्छ ।’ हो वास्तवमा तपाईंं पनि खराब संगतमा फस्नु भयो भने तपाईंं खराब ब्यक्ती बन्नु हुनेछ । तसर्थ तपाईं जहिले पनि असल संगतमा लाग्नुहोस् । अनी आफ्नो उद्देश्यबाट बिचलित नबन्नुहोस् ।

५) सकारात्मक सोचाइ राख्नुहोस्ः

जिबनमा सफलता प्राप्त गर्नुछ भने तपाईंले जहिले पनि सकारात्मक सोच्न जरुरी छ । नकारात्मक सोच्ने मान्छेले सेलरोटीको बिच्को प्वाल मात्र देख्छ तर, सकारात्मक सोच राख्ने ब्यक्तिले सेलरोटी नै देख्छ । तपाईंं सकारात्मक सोचाइका साथ आफ्नो अध्ययनको अनी जिबनको उद्देश्यप्रति अडिग रहेर अघि बढ्नुहोस् । यस्ले तपाईंंलाई अझ बढी हौसला दिनेछ ।

६) तिब्र इच्छाशक्ती कायम राख्नुहोस्ः

आफुमा भएको तिब्र इच्छा शक्तीलाई मर्न नदिनुहोस् । सोच्नुहोस् मान्छेहरु अन्य ग्रहहरु पुगिसके अन्य ब्रह्मान्डमा पुग्ने कोशीस गर्दैछन । यस्ता अप्ठ्यारा कामहरुको दाँजोमा तपाईंको बिदेस पढाई र बसाइ अती नै सजिलो भनी सोच्नुहोस् ।

एक जना सडक बालक एड्विन सि बार्न्स भन्ने ब्यक्तिको आफ्नो तिब्र इच्छा शक्तिले महान बैज्ञानीक थोमस एल्बा एडिसनको कम्पनीमा शेअर होल्डर भएको थियो रे । त्यसरी नै तपाईंँमा पनि द्रिढ इच्छाशक्ति छ भने तपाईंले चिताएको कुरा अवश्य पनि प्राप्त गर्न सक्नुहुनेछ भनी सोच्नुस् ।

पढिसकेपछी के गर्ने हो ? जिबनमा कसरी सफल बन्ने ? कसरी आफ्नो करियरलाई अगाडी बढाउने भन्ने बिषयमा एउटा स्पष्ट भिजन बनाएर अघि बढ्नुहोस् । यस्ले तपाईंलाई तनाब हुनबाट जोगाउँछ ।

७) आफुलाई ब्यस्त राख्नेः

खाली दिमाग भयो भने राक्षसी बिचारहरु आउँछ भन्छन् । तसर्थ आफुलाई जहिले पनि सकारात्मक काममा ब्यस्त राख्नुहोस् । आफ्नो पढाईमा ध्यान दिने, असाइनमेन्टहरु समयमै सक्ने, पार्ट टाइम काम छ भने राम्ररी गर्ने अनी अन्य साथीभाइ तथा नयाँ नयाँ रचनात्मक काममा आफुलाई ब्यस्त राख्नुहोस । यस्ले तनाब उत्पन्न हुन दिँदैन ।

यी कुराहरु बिदेश पढ्ने नेपाली भाईबहिनिहरुले पालना गर्नुभयो भने मानसिक तनाबबाट धेरै हदसम्म आफुलाई टाढा राख्न सक्नुहुनेछ ।

 (म्यानेजिङ डाइरेक्टर ) सुरेश स्टडी भिजा सर्भिस, काठमाडौं

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *