सरकारलाई दिएको समर्थन फिर्ता लिने राजपाको संकेत, समर्थनको आधार भत्किदै गएको निष्कर्ष

काठमाडौं, साउन २ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ।

राष्ट्रिय जनता पार्टी, नेपालको बुधबार बसेको पार्टी अध्यक्ष मण्डलको बैठकले सरकारलाई दिएको समर्थनको आधार भत्किदै गएको निष्कर्ष निकाल्दै फिर्ता लिने विषयमा विचार गर्न सक्ने संकेत गरेको हो।

सरकारलाई दिइएको समर्थनको आधार भत्कदै गएको निष्कर्ष निकालिएको पार्टीका नेता राजकिशोर यादवले जानकारी दिए। लोकतन्त्रको मर्म विपरित, जनमतको दुरुपयोग गर्नेतर्फ सरकार उन्मुख रहेको निष्कर्ष निकाल्दै पार्टीले तत्सम्बन्धमा प्रधानमन्त्री केपी ओलीसँग बिहिबार भेट गरी छलफल गर्ने निर्णय पनि गरेको छ।

राजपाले वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन रक्षाका लागि गम्भिरताका साथ पहल गर्न पनि सरकारलाई दवाव दिएको छ।

त्यसैगरी बाढी र भूकम्प पीडित जनतालाई उचित राहतको व्यवस्था गर्न पनि बैठकले सरकारसँग माग गरेको नेता यादवले बताए।

पार्टीले सांसद रेशमलाल चौंधरीलगायतका पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको झुठा मुद्दा फिर्ता, संविधान संशोधन लगायतका माग तत्काल सम्बोधन गर्न पनि सरकारलाई दवाव दिँदै आएको छ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *