कात्तिक भित्र टेलिफोन सेवा सुधार हुन्छ: संचारमन्त्री बस्नेत
काठमाडौं, भदौ २१ । सरकारले आगामी कात्तिक मसान्तभित्र टेलिफोन सेवा सुधार नभए नेपाल टेलिकम प्रशासनलाई कडा कार्वाही गर्ने चेतावनी दिएको छ । सरकारका प्रवक्ता एवम् सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले टेलिकम डुबाउने काम टेलिकम भित्रकै कर्मचारीहरुबाटै भए, नभएको अनुगमन गरी कार्वाही गर्न लागिएको स्पष्ट पार्नुभएको हो ।
मन्त्री बस्नेतले टेलिकम भित्रैबाट संस्थालाई डुबाउने काम हुने गरेको पाइए जो कोहीलाई पनि कार्वाही गर्न बाध्य हुने तर्फ सचेत गराउनुभएको हो । आज नेपाल टेलिकमका प्राविधिकहरुको काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले टेलिकमको ठेक्का पट्टाको काम लिने तर नगर्ने कम्पनीहरुको सम्झौता रद्द गर्ने चेतावनी दिनुभयो । मन्त्री बस्नेतले कर्मचारीहरुले एक ढिक्का भएर निस्वार्थ भावका साथ काम गरे टेलिकम मुलुककै समृद्ध संस्था हुने र त्यसले मुलुकलाई आर्थिक रुपमा सबल बनाउने विश्वास व्यक्त गर्नुभयो ।