आज देशभरका निजी विद्यालय बन्द

काठमाडौं, पुस २५ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालले आज  देशभरका निजी विद्यालय बन्द गर्ने भएको छ। प्याब्सनका पूर्वअध्यक्ष डा बाबुराम पोखरेलेको निधनमा देशभरिका निजी विद्यालय बन्द गर्ने निर्णय गरेको प्याब्सनका महासचिव राजेन्द्र बानियाँले जानकारी दिनुभयो।

प्याब्सनका पूर्वअध्यक्ष पोखरेलेको आइतबार बिहान निधन भएको थियो। पोखरेलको निधनपछि बसेको प्याब्सनको आकस्मिक बैठकले आगामी मंगलबार, बुधबार र बिहीबार तीन दिनसम्म प्याब्सनका झन्डा झुकाउनेसमेत निर्णय गरेको छ।

पोखरेलको निधनप्रति दुःख व्यक्त गर्दै प्याब्सनले यही पुस २९ गतेसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्नेसमेत निर्णय गरेको छ। पोखरेल मुटु रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँ विनायकसुधा (भिएस) निकेतनका संस्थापक प्रधानाध्यापकसमेत हुनुहुन्थ्यो। प्याब्सनका सल्लाहकारसमेत रहेका ६७ वर्षीय डा पोखरेलको मंगलबार नै दाहसंस्कार गरिने महासचिव बानियाँले बताउनुभयो।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उहाँ तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बाट समानुपातिक सभासद् हुनुहुन्थ्यो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + three =