निर्वाचन बिथोल्न आएका भारतीय बमसहित पक्राउ

मंसिर २०, राजविराज । निर्वाचन विरोधी गतिविधि गर्ने तीन भारतीयसहित ११ जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामध्ये छ जना नेकपाका कार्यकर्ता रहेको बताइएको छ । अभियुक्तका साथबाट एक एक थान हतियार बम बरामद गरिएको छ । निर्वाचनका लागि सप्तरीमा सुरक्षा व्यवस्था कडा पार्नेक्रममा प्रहरीले विभिन्न स्थानबाट तिनलाई पक्राउ गरेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।
निर्वाचनका लागि सप्तरीमा सुरक्षा व्यवस्था कडा पारिनाका साथै नेपाल–भारत सीमा नाका आजदेखि ३६ घण्टाका लागि बन्द गरिएको छ । नाका बन्द भएपछि पैदल यात्रीबाहेकलाई आवतजावतमा रोक लगाउनाका साथै सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ ।
दुवै देशका सीमा सुरक्षा पदाधिकारीको बैठकपछि आजदेखि निर्वाचन हुने दिन बिहीबारसम्मका लागि ३६ घण्टा सवारी साधन र पैदल यात्रुलाई आवतजावतमा रोक लगाइएको छ । अतिआवश्यक समस्यामा परेकालाई भने सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीको विशेष जाँचपछि मात्र जान दिन सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला सुरक्षा समितिले निर्वाचन प्रयोजनका लागि सुरक्षा रणनीतिक तथा कार्यनीतिक योजनाअन्तर्गत जिल्लाका चार प्रतिनिधि र आठ वटै प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तैनाथ गरिएको छ ।
जिल्लामा चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्य निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारसहित १५२ उम्मेदवार चुनावी मैदानमा छन् ।








