नोबेल पुरस्कार विजेता जियाओबोको निधन
काठमाडौं,असार ३१ । लामो समयदेखि जेलमा थुनिएका नोबेल पुरस्कार विजेता ६१ बर्से चिनियाँ लिउ जियाओबोको बिहीबार निधन भएको छ ।
कलेजोको क्यान्सरपीडित लिउलाई केही दिन अघि मात्रै अन्तर्रा्ष्ट्रिय दबाबपछि जेल मुक्त गरी उपचारका लागि अस्पताल लगिएको थियो ।
उत्तरपूर्वी चीनको सेन्याङ प्रान्तस्थित फस्र्ट हस्पिटल अफ चाइना मेडिकल युनिभर्सिटीको कानुन विभागले उनको निधन भएको आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । उनलाई तीन दिनदेखि गहन उपचार गरिएको थियो ।उनको श्वासप्रश्वास प्रणालीमा अवरोध आएको र बुधबार अवस्था निकै कमजोर भएको अस्पताल स्रोतले जनाएको थियो ।
लिउको श्वासप्रश्वासमा अवरोध उत्पन्न भएपछि भेन्टिलेटरमा राखी कृत्रिम श्वासप्रस्वास गराउन उनको परिवारले अस्वीकार गरेको थियो ।चीनमा शासन व्यवस्थाको पुनःसंरचना गर्नुपर्ने, आधारभूत मानवअधिकारको उपयोग गर्न पाउनुपर्ने लगायत अभियान चालेका प्रजातान्त्रिक र मानवअधिकारका अभियन्ता लिउलाई सन् २००८ मा राज्यद्रोहको अभियोगमा पक्राउ गरिएको थियो । त्यसपछि सन् २००९ मा उनलाई ११ बर्से जेल सजाय सुनाइएपछि उनी केही दिनअघि सम्म पनि जेलमा नै थिए ।उनले सन् २०१० मा जेलमै भएका बेला नोबेल शान्ति पुरस्कार पाएका थिए ।
सन् १९३८ ताका हिटलरको शासनकालमा नोबेल पुरस्कार विजेता जर्मन कार्ल भान ओसित्स्कीको जेलमै मृत्यु भएझैँ चिनियाँ अधिकारकर्मी लिउको पनि जेलमै मृत्यु हुने सम्भावना बढेपछि उनलाई सघन उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।लिउको उपचारका बारेमा चासो दिँदै जर्मनी सरकारका प्रवक्ता स्टिफेन सेइबर्टले उनको सम्पूर्ण उपचार जिम्मा लिन जर्मनी तयार रहेको बताएका थिए । तर चिनियाँ सरकारले भने सम्भव भएसम्म स्वदेशी वरिष्ठ चिकित्सकहरूको संलग्नतामा उनको उपचार गरिएको दाबी गरेको थियो ।