मुक्तक मोह : टिकट काटेरै सुन्नेहरुको भीड

नारायणगढ, माघ १४ । साहित्यलाई पनि व्यवसायिकरूपमा अगाडि बढाउन सकिने रहेछ । नारायणगढमा टिकट काटेर मुक्तक कार्यक्रम सुन्नेहरुको भीड भएपछि साहित्यले व्यवसायिक रुप लिएको पुष्टि हुन्छ ।

हाम्रो मझेरी साहित्य प्रतिष्ठानले मुक्तक सुनाउन टिकट लिएर आयो । पाँचवटा चरणमा भएको मुक्तक कार्यक्रममा चितवनका चारजनासहित देशभरका २६ जना मुक्तककारले ६/६ वटा मुक्तक सुनाएका थिए । २०६३ सालमा टिकटमा गजल आयोजना गरेको प्रतिष्ठानले त्यसपछि धेरै पटक टिकटमा कार्यक्रम आयोजना गरिसकेको छ ।

संस्थाका अध्यक्ष पुष्प अधिकारी ‘अञ्जली’ले नेपाली साहित्यलाई व्यवसायिक बनाउन नसकेकोले अबको समयमा विस्तारै व्यवसायिक बनाउन आवश्यक रहेको बताए । सोही अनुरूप प्रतिष्ठानले प्रयास गरेको उनको भनाइ छ ।

मुक्तकमार्फत समाज परिवर्तन, मायाप्रेम, मातृभूमिको मायालगायतका विषयमा केन्द्रित मुक्तकहरू सुनाइएको थियो । काठमाडौँ, पोखरा, बझाङ, धादिङ, लमजुङ, मकवानपुर, सर्लाही, इलामलगायतका जिल्लाहरूबाट मुक्तक सुन्न र सुनाउनको लागि साहित्यकारहरू चितवन आएका थिए । प्रतिष्ठानले यसअघि पनि टिकटमा मुक्तक कार्यक्रम गरिसकेको छ । यसैलाई श्रृङ्खलाबद्ध तरिकाले आयोजना गर्दै जाने प्रतिष्ठानका सचिव सुवास अधिकारीले जानरकारी दिए । त्यसै पनि चितवनलाई साहित्यको उर्वर भूमि मानिन्छ । चितवनमा बसेर साहित्यिक कर्मलाई अगाडि बढाइरहेका साहित्यकारहरू उत्कृष्ट रचनाका लागि सफल भइसकेका छन् ।

हाम्रो मझेरी साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रम मार्फत् देशैभरका साहित्यकारहरूको जमघट हुने अवसर पाएको भन्दै मुक्तककार गौरी तमूले खुसी व्यक्त गरिन् । पोखरामा शिक्षण पेसामा रहेकी तमूले यस्तो खालको कार्यक्रमले घरभित्रै बसिरहने मानिसहरूलाई पनि घर बाहिर आउने वातावरण मिलाइदिएको बताइन् । अन्य साहित्यिक संस्थाहरूले पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ । मुक्तक सुन्नका लागि करिब १५० भन्दा बढी साहित्यकारहरू टिकट काटेरै चितवन साहित्य परिषद्को हलसम्म पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =