‘निरन्तरता दिन सके ढुङ्गा पनि पगाल्न सकिने रहेछ’

झट्ट हेर्दा कुनै चलचित्रको नायक झैँ लाग्ने व्यक्तित्व । कालो चस्मा, अग्लो कद, गहुँगोरो वर्ण, अनि फुर्र परेको कपाल । सबैले यो व्यक्तित्वको कल्पना गरेपछि ऊ संसारकै सुखी, भाग्यमानी र सफल व्यक्ति भनेर कल्पना गर्दछन् । तर, यस्ता धेरै दृश्य पछाडि सुख र सफलता मात्र हुँदैन । धेरै सँग दुखः सङ्घर्षका कहानी पनि हुन्छ । अग्लो कद, गहुँगोरो वर्ण, संघर्षशिल व्यक्ति भए पनि उनी हामीले हेर्दै आएको दृश्य र समाजबाट केही फरक छन् । अर्थात् उनी फरक क्षमता (दृष्टिविहिन) का व्यक्ति हुन् । उनी दुई वर्षको छँदा गाउँमा आँखा पाक्ने रोगको महामारी फैलियो । महामारी त नियन्त्रण भयो, तर, त्यही महामारीले उनको जीवनमा अन्धकार ल्याईदियो । आँखा पाक्ने रोगले उनको आँखा सदाका लागि लगिदियो । तरपनि जीवनको ४४ औँ वसन्त हिँड्दै गर्दा उनी आफ्नो विगतका तिता कुरालाई अन्र्तमनमा दवाएर ओठभरी मुस्कान सजाएर नै हिँड्ने गरेका छन् ।


‘परिस्थितिले जे सृजना गरोस्, जीवनको सार्थकता हार नमान्नुमै छ ।’
निकै दार्शनिक भएर उनले दिएको यस जवाफ वास्तवमा उनको जीवनको सारांश हो भन्दा फरक पर्दैन ।
‘फलानो त आँखै देख्दैन’ ‘फलानोले गरी खाँदैन’ उनका बाल्य  र किशोरावस्थामा धेरै सुनेका शब्दहरू हुन् । आज तिनै शब्द प्रहार गर्नेलाई उदाहरणीय र आदर्श व्यक्ति बन्न कृष्णभक्त राई सङ्घर्षको मैदानमा उत्रिएका छन् । र, मेहनतको फल मिठो हुन्छ भनेझैं उनलाई पहिला गाली गर्नेहरु अहिले ताली बजाउन थालेका छन् । ‘निरन्तरता दिन सके ढुङ्गा पनि पगाल्न सकिने रहेछ, मेरो वर्षाैंको मेहनतले गर्दा नै आज म सम्मान र इज्जतको हकदार भएको छु’ उनले भने ।
यसै त उनले सङ्गीत क्षेत्रमा प्राप्त गरेका सम्मान एवम् पुरस्कारको सूची निकै लामो छ । तथापि, उनको सफलताको टर्निङ प्वाइण्ट भने सन् २०१५ मा जापानमा आयोजित ‘अन्तर्राष्ट्रिय पियानो फेस्टिभल’ भयो । उक्त फेष्टिभलमा उनलाई त्यहाँ हज्जारौं दर्शकका बिच ‘इफोर्ट प्राइज’बाट सम्मानित गरिएको थियो ।

‘यसै त उनले सङ्गीत क्षेत्रमा प्राप्त गरेका सम्मान एवम् पुरस्कारको सूची निकै लामो छ । तथापि, उनको सफलताको टर्निङ प्वाइण्ट भने सन् २०१५ मा जापानमा आयोजित ‘अन्तर्राष्ट्रिय पियानो फेस्टिभल’ भयो’

जापान यात्रामा उनले सम्मान मात्र पाएनन् विश्व समुदायमाझ  नेपाली लोक धुनलाई समेत पु¥याई दिए । विनायो र सारंगीको धुनले सारा जापानलाई गुञ्जाइ दिए ।
नौ वर्षको उमेरदेखि सारंगीसँग मितेरी गाँसेका उनले त्यसपछि कहिल्यै परिवार र अरूसँग आश्रीत हुन परेन । बरु त्यसभन्दा अघि भाइको भविष्यलाई लिएर चिन्ता प्रकट गर्ने दाजुहरुलाई नै उनले सक्दो सहयोग गरे । गाउँघरमा विवाह, ब्रतबन्ध लगायतका सामाजिक कार्यमा सारंगी बजाएरै उनले नामसँगै जीवन धान्ने कला पनि कमाए ।
आफैँले गाएको ‘मेरो आफ्नै भाग्य खोटो देखेर रोएँ’ यो गीत उनलाई आफ्नै लागि पो लेखिएको रहेछ भन्ने हुन्थ्यो । तर,रामेश श्रेष्ठको ‘सङ्घर्ष हो जीवन जीवन सङ्घर्ष हो’ जस्ता गीतले हौसला पनि दिइरहेका थिए ।
१२ वर्षमा बुवा र १४ वर्षमा आमाको वियोगबाट गहिरो चोट पुगेको उनको हृदयमा सङ्गीतले नै आजसम्म मल्हम लगाएको छ । ‘सङ्गीतले मेरो व्यथा निको पार्न धेरै सहयोग गरेको छ । अरूले हेला गर्दापनि सङ्गीतले मलाई माया गरेको छ ।’ उनी भन्छन् ।  ‘बुवाआमा त फेरी पाउन सक्दिन तर, उहाँहरूको आत्मालाई सङ्गीत मार्फत ठुलो सन्तुष्टि प्रदान गर्न सक्छु ।’
आजको दिनसम्म आईपुग्दा उनले आफ्नो परिचय निकै फराकिलो बनाएका छन् । उनी एक गायक हुन्, अरेन्जर हुन्, सङ्गीतकार हुन् र साथै २६ वटा बाजा बजाउन जान्ने एक अभुतपुर्व बाध्यबाधक पनि ।
नारायण रायमाझीको सङ्गीत र लक्ष्मण रायमाझीको शब्द रहेको ‘नमुछे आमा दहीमा टिका’ लाई उनी आफ्नो पहिचान मान्दछन् । यस्तै ‘आज निष्ठुरीको फोटो देखेर रोएँ, उनको जीवन मेरो कथा’ लगायतका गीतहरू उनको चर्चित गीत मध्ये पर्छन् ।
गायनले व्यावसायिक हुन सिकाएपनि जीवन जिउने कला भने सारंगीले नै सिकाएको रहेछ उनलाई । यसमानेमा उनले निकै श्रध्दा पूर्वक उनको धर्मपिता एवम् गुरु अजम् बहादुर राईको नाम लिए ।
धनकुटा आहालेमा बिताएको क्षणलाई मोतीतुल्य मान्ने उनी आफ्नो श्रीमतीलाई भने जीवनको प्रेरणा मान्छन् । आफ्नै साथीको फुपुकि छोरीसँग प्रेम विवाह गर्न पुगेका कृष्णभक्तलाई सङ्गीतमा लाग्न होस्याउने र सङ्घर्षका दिनमा अटुट साथ दिने भनेकै जीवन सङ्गिनी आशा राई हुन् ।
कृष्णभक्त आशाको  कला र प्रतिभा, आँट देखेर नै फिदा भएका रहेछन् । उनकी श्रीमती राम्रा सायरी, गीत लेख्ने गर्छिन् । ‘बैँसको बेला थियो, मैले त उनले त्यसै जिस्किन पो चिठी लेखेकी होली भनेको त उनको भावना साँच्चै पो प्रकट गरेकी रहिछिन्’ आफ्नो प्रेम प्रसङ्ग कोट्याउँदै केही लजाए जस्तो गरेर उनले भने ।
सातवर्षसम्म चिठ्ठीबाटै प्रेम साटासाट गरेर विवाह बन्धनमा बाँधिएर काठमाडौँ आएका राई दम्पती त्यसपछि सुख दुखःमा एक अर्काका सारथी भएर अघि बढिरहेका छन् ।
विवाह हुनभन्दा अघिपनि काठमाडौँ (जतिबेला सबैको सपनाको सहर थियो) नआएका भने होइन रहेछन् । माया प्रेम भनेको क्षणिक खुसी हो भन्ने बुझेर ०४९ सालमै सङ्घर्ष गर्न र आफना टुटेफुटेका सपना सजाउन उनी काठमाडौँ आएका थिए ।
तर दृष्टिविहिन त्यसमाथि कसैको साहारा नपाएपछि निकै असहज भयो । ‘संसार नदेखेपछि जतिसुकै मान्छेको भिडमा पनि एक्लै हुनुपर्दाे रहेछ । एक्लो जीवन तीन महिना पनि टिकाउन सकिन यो सहरमा ।’ उनी आफ्ना सङ्घर्ष सम्झन्छन् ।


वाल्यकालमा चकचके र जिद्दी रहेका कृष्णभक्त सङ्गीतको समिपमा आएपछि निक्कै कोमल भएछन् । बाल्यकाल सम्झँदै उनी भन्छन् । ‘काईंला दाजुसँग लुकामारी खेल्दा लुक्नेक्रममा मौरीको घारमा पुगें टाउको चाँहि घारमै अड्कीयो । मौरीका झुण्डले चिलेर निकै दिनसम्म थला परें । अहिले मौरीको घार देख्ने बित्तिकै त्यही घटना सम्झिन पुग्छु ।’
बाल्यकालको संम्झनासँगै छुट्टिने बेलामा अबको यात्रा र चाहनाका बारेमा कुरा गर्दा भने उनी निक्कै भावुक भए । ‘म यसै दृष्टिविहिन के नै पो ठुलो सपना देख्न सक्छु र । बरु राज्यले हामी जस्ता फरक क्षमता भएकाहरुको श्रम र सीप प्रयोग गरेर बाँच्न पाउने आधार मिलाईदिए हुन्थ्यो ।’
नारायण गोपाल, अरुणा लामा, शम्भु राई, तारा देवी लगायतका गायकहरुबाट प्रेरित उनी हाल काँडाघारीमा दुई छोरा र श्रीमतीसँग बस्छन् । उनको जेठा छोरा भने उनकै पथ पछ्याउँदै जमलमा पियानो सिक्दैछन् । कान्छा छोरा भने, कक्षा ८ मा अध्ययन गर्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =