करिब एक लाख म्यादी प्रहरीका लागि आवेदन खुल्ला

असोज २४, काठमाडौँ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै सरकारले म्यादी प्रहरीको भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले मङ्गलवार एक सूचना जारी गर्दै ९८ हजार २ सय ६८ म्यादी प्रहरीमा भर्ना आह्वान गरेको हो ।

इच्छुक उम्मेदवारले मङ्गलवार (आजै) बाट दरखास्त दिन सक्ने छन् । दरखास्त ७५ वटै जिल्लाका प्रहरी कार्यालयबाट दिन सकिने व्यवस्था प्रहरी प्रधान कार्यालयले मिलाएको छ । काठमाडौँ उपत्यकाको हकमा भने प्रहरी परिसरबाट आवेदन दिन सकिनेछ । प्रधान कार्यालयले दरखास्तकाे म्याद असोज ३० गतेसम्मका लागि दिएकाे छ ।

१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको नेपाली नागरिकले म्यादी प्रहरीको दरखास्त दिन सक्नेछन् । भने, आवेदन दिने उम्मेदवार कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेको हुनुपर्नेछ । उम्मेदवार नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुर ठहर नभएको र शारीरिक तथा मानसिक रूपले तन्दुरुस्त हुनुपर्नेछ । शैक्षिक योग्यताको हकमा भने साधारण लेखपढ भए मात्रै पुग्नेछ ।

म्यादी प्रहरीको छनौट कात्तिक ५ गतेदेखि ८ गतेसम्मका सक्ने प्रहरी प्रधान कार्यालयको कार्यतालिकामा उल्लेख छ । नेपाल प्रहरीकाे जवान सरह म्यादी प्रहरीले ५५ दिनको पारिश्रमिक, राशन र स्थानीय भत्ता पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + twelve =