अब मिर्गौला, क्यान्सर र स्पाइनल कर्डका विरामीलार्इ मासिक पाँच हजार

माघ ११, काठमाडौं । सरकारले मिर्गौला, क्यान्सर र स्पाइनल कर्ड इन्जुरी भई प्यारालाइसिस भएका बिरामीलाई जिविकोपार्जन भत्ता वापतको मासिक पाँच हजार रुपैयाँ भत्ता वितरण सुरु गरेको छ । प्रधानमन्त्री शेरवहादुर देउवाले बिहीबार वीर अस्पतालले राष्ट्रिय ट्रमा सेन्टरमा आयोजित कार्यक्रममा २९ जना पीडितहरुलाई भत्तावापतको चेक प्रदान गर्दै भत्ता वितरण शुरू गरेका हुन् ।

भत्ता वितरण पश्चात्त कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले उक्त जिविकोपार्जन भत्ता राज्यको कोषबाट नभई सूर्त्तिजन्य पदार्थमा लगाएको अन्त शुल्क करबाट उठेको रकमबाट वितरण गरिने हुदाँ यसले राज्यलाई आर्थिक भार नपर्ने बताए । ‘राज्यलार्इ आर्थिक भार नपर्ने गरी जिविकोपार्जन भत्ता दिर्इन्छ । सूर्तिजन्य पदार्थमा लगार्इएको अन्त शुल्क करबाट भत्ताको ब्यवस्था गरिन्छ ।’ उनले भने–‘नेपालमा क्यान्सर, मिर्गौला रोगको बिरामीहरुको अवस्था भयावह रहेकाले त्यस्ता विरामीहरुको सहज जिविकोपार्जनका लागि पनि यस किसिमको भत्ता आवश्यक थियो, यसले स्पाइन, क्यान्सर तथा मिर्गौलाका विरामीलाई थोरै भएपनि सहयोग पुग्छ भन्ने आशा लिएको छु’ ।

भत्ता वितरणका क्रममा प्रधानमन्त्री देउवाको हातबाट ट्रमा सेन्टरमा प्यारालाइसिसको उपचार गराइरहेका ६ जना, बीर अस्पतालमा क्यान्सरको उपचार गराइरहेका १२ जना र मिर्गौलाको उपचार गराइरहेका ११ जनाले जिविकोपार्जन वापतको चेक लिएका थिए ।

कार्यक्रममा स्वास्थ्य मन्त्री दीपक बोहराले जिविकोपार्जन भत्ता कुनै राजनैतिक लोकप्रियताका लागि नभर्इ विशुद्ध सामाजिक दायित्व अन्तर्गत गरिएको स्पष्ट पार्दै यसले कमजोर आर्थिक अवस्था भएका परिवारलार्इ स्वास्थ्योपचारमा टेवा पुग्ने विस्वास ब्यक्त गरे ।जिविकोपार्जन भत्ता रकम सूर्त्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ अनुसार व्यवस्था गरिएको हुदाँ सो रकम सूर्त्ति कर कोषमा आउनुपर्ने २५ प्रतिशत रकमबाटै व्यवस्थापन गरिने मन्त्री बोहराले जानकारी दिए ।

कार्यक्रममा वीर अस्पतालका रजिष्टार किरण मानन्धरले भत्ताले गम्भीर रोगका विरामीहरुलाई सानै भएपनि राहत पुग्ने आशा व्यक्त गर्दै जनताको स्वास्थ्य सुरक्षा प्रति राज्य गम्भिर बनेकोमा खुशी लागेको बताए । स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. विनोद मान श्रेष्ठले कार्यक्रमको उद्देश्यबारे प्रष्ट पार्दै मृागैला, क्यान्सर रोगी तथा स्पाइन्ल कर्ड इन्जुरीका विरामीलाई दिइदै आएको एक लाख रुपैयाँ सहयोग अपुग भएकाले बिरामीको भरण, पोषण तथा सहज उपचारका लागि उक्त भत्ता वितरण सुरु गरेको बताए ।

वीर अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले यस वर्ष वीर अस्पतालमा दुई हजार ८ सय ३६ मिर्गौला रोगीहरुले डायलासिस सेवा लिएको जानकारी दिँदै जनतालार्इ सवर्सुलभ, छिटो, छरितो स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल प्रतिबद्ध रहेको बताए । डा. बस्नेतले अस्पतालले क्यान्सर तर्फ एक हजार १५२ जनाले उपचार सेवा लिएकोमा त्यसमध्ये प्रत्येक महिना दुई सय जना क्यान्सर रोगीहरु वीर अस्पतालमा उपचारका लागि आउने गरेको जनाए ।

जिविकोपार्जन भत्ता व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी अध्यक्ष, जिल्लास्थित सरकारी अस्पतालको प्रमुख सदस्य र जिल्ला स्वास्थ्य प्रमुख सदस्य सचिव रहनेछन् । भत्ता रकमको चेक लिनका लागि बिरामी स्वयम् उपस्थित हुनुपर्ने, स्वयम् उपस्थित हुन नसक्ने अवस्था रहेमा अस्पताल प्रमुखको स्वीकृतीमा बिरामीको अभिभावकलाई प्रदान गरिने, भत्ता पाउने बिरामीको मृत्यु भएमा आफन्तले सोको जानकारी गराउनुपर्ने नगराई भत्ता लिएमा नियमानुसार उपर गरिने ब्यवस्था गरिएको छ ।

मिर्गौला, क्यान्सर र स्पाइनल इन्जुरी भई पारालाइसिस भएका बिरामीलाई जिविकोपार्जन भत्ता उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७४ स्वीकृत भई सोही अनुसार यो व्यवस्था कार्यान्वयन हुनेछ ।

सरकारले हाल क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीलाई उपचारका लागि १ लाख रुपैयाँ सहयोग गर्दै आएको छ। मिर्गौलाका बिरामीका लागि निःशुल्क डायलाइसिस र प्रत्यारोपण गर्नुपरेमा प्रत्यारोपण गर्ने अस्पताललाई ४ लाख र बिरामीलाई प्रत्यारोपण अगाडि परीक्षणका लागि ५० हजार र प्रत्यारोपणपछि औषधि उपचारका लागि थप १ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ।

स्वास्थ्य मन्त्रालयको एक तथ्यांक अनुसार नेपालमा करिब १७ हजारको हाराहारीमा मिर्गौला रोग, क्यान्सर तथा स्पाइनल कर्ड इन्जुरीका विरामी रहेका छन् । कार्यक्रम वीर अस्पतालका उपकुलपति डा. गणेश गुरुङ्गको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − sixteen =