तीन विद्यार्थीको नतिजा रोकियो, उमेर पुगेको प्रमाण देखाउन आग्रह


२ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले एसएलसीको परिवर्तित रुप एसईई परीक्षामा सहभागी तीन परीक्षार्थीको नतिजा सार्वजनिक गरेको छैन । उमेर नपुगेको भन्दै नियमित तर्फका दुई छात्रा र एक्जाम्टेड तर्फको एक छात्रको नतिजा प्रकाशित नगरेको परिक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभएको छ ।
नियन्त्रक रेग्मीले एसईई परीक्षामा सहभागी हुन चैत मसान्त भित्र १४ वर्ष उमेर पुगेको हुनुपर्नेमा त्यसो नभएकाले तीन जना परीक्षार्थीको नतिजा ननिकालिएको बताउनु भयो । परीक्षा नियन्त्रक रेग्मीले भन्नुभयो, ‘चैत मसान्त भित्र १४ वर्ष पुगेको हुनुपर्छ भनेर हामीले पहिलेदेखि नै भन्दै आएका थियौं । तर, त्यसतर्फ ध्यान दिएको पाइएन ।’
उमेर पुगेको प्रमाण देखाउन आग्रह
परीक्षा दिनबाट बन्चित परीक्षार्थीको नामावली भने रेग्मीले खुलाउन चाहनु भएन । रेग्मीले सम्बन्धित विद्यालयबाट उमेर पुगेको प्रमाण पुर्याए नतिजा सार्बजनिक गरिने बताउनु भयो ।
रेग्मीले भन्नुभयो, ‘विद्यालयले उमेर पुगेको छ भनेर कागजपत्र ल्यायो भने हामीले नतिजा दिन्छौं । तर, हामीसँग अहिले प्राप्त कागजातमा उमेर पुगेको नदेखिएकाले रोकेका हौं ।’
रेग्मीका अनुसार परीक्षाको मर्यादा विपरित काम गरेको भन्दै २१९ जनाको परीक्षा रद्द समेत गरिएको छ ।
गत २०७३ चैत ३ गतेबाट एसईई परीक्षा सञ्चालन भएको थियो । नियमित तर्फ ४ लाख ४५ हजार ५६४ र एक्जाम्टेड तर्फ १६ हजार ५७२ गरी जम्मा ४ लाख ६२ हजार १३६ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।








