वाम गठबन्धनको कार्यदलको बैठक आज बस्दै

काठमाडौं, माघ १४ । राष्ट्रियसभा निर्वाचन र प्रादेशिक सरकार गठनमा सहमति जुटाउने जिम्मेवारी पाएको वाम गठबन्धनको कार्यदलको बैठक आज बस्ने भएको छ ।
प्रदेश सरकार गठनमा मुख्यमन्त्री बाँडफाँट गर्न शीर्ष नेताले दिएको निर्देशन अनुसार एमाले र माओवादी केन्द्रको कार्यदलले आज छलफल गर्नेछ ।
बैठक सिंहदरबारस्थित एमाले पार्टी कार्यालयमा बिहान ११ बजे बस्नेछ ।
राष्ट्रियसभा निर्वाचनको सिट बाँडफाँट सहमतिमै टुंगो लगाएको कार्यदललाई वाम गठबन्धनका शीर्ष नेताले प्रादेशिक सरकार गठनको समेत जिम्मेवारी दिएको छ ।
कार्यदलको यसअघिको बैठकले प्रदेश सरकार निर्माणको मापदण्ड तय गरेको थियो । प्रदेशमा दलगत स्थिति, एकताको स्पिरिट, योग्यता र सन्तुलनलाई केन्द्रमा राखेर कार्यदलले प्रदेश मुख्यमन्त्रीको भागबन्डा गर्नेछ ।
त्यस्तै, प्रदेशको सभामुख, उपसभामुख तथा मन्त्रीहरु लगायत अन्य विषयमा समेत सहमति जुटाउनेछ । कार्यदलको यसअघिको बैठकले जम्मा सदस्य संख्याको १० प्रतिशतको मात्र प्रादेशिक मन्त्रिमण्डल बनाउने सहमति गरेको थियो ।
संघीय सरकारको निर्माणसँगै धेरै आर्थिक व्ययभार राज्यलाई पर्ने भन्दै कार्यदलले बढीमा जम्मा सदस्य संख्याको १० प्रतिशत मात्रको मन्त्रिमण्डल गठन गर्ने सहमति गरेका छन् ।








