धरानमा नाम मात्रको अनुगमन,फेला पारेको सामान जफत गरिएन

“
सुनसरी,असार २८ । सर्बसाधारण उपभोक्ताहरु दैनिक रुपमा प्रयोग गरिने सरसामानमा दिनानुदिन ठगिदै आएको प्रति चासो नदिएको गुनासो आइरहेका बेला सम्बन्धित निकायले भने सुनसरीको धरान बजारलाई चुस्त पार्न बिहिबार बिभिन्न खाद्य तथा किराना पसलहरुमा अनुगमन गरेको छ ।
वाणिज्य बिभाग तथा राष्ट्रिय उपभोक्ता मञ्चले ईलाका प्रहरी कार्यालय धरानको सहयोगमा अखाद्य तथा ब्रेड र पेय पदार्थ फेला पारेर पनि जफत नगरिएको तर सो सामानहरु डिस्पोज गरी डस्टिविनमा हालेको पाईएको छ ।
जसले गर्दा उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने व्यक्तिहरुको मनोवल झनै बढेर गएको छ ।
अखाद्य वस्तु फेला परे पनि अनुगमन टोलीले सचेत मात्रै गराएको छ । धरान–१३ को कृषिबजार धरान वडा नं ४ को भवानी श्री टेड्रर्स, छाताचोकका बिभिन्न किराना पसलहरु, तथा नेपालमै नाम चलेका भाटभटेनी, गोर्खा डिपार्टमेन्ट स्टोर र सेल्सबेरी जस्ता डिपार्टमेन्ट स्टारेहरुमा गरिएको अनुगमनमा सामानहरु समय नाघेका तथा खराब भेटिए पनि सचेत मात्रै गराइएको छ ।
अनुगमन टोलीमा संलग्न कर्मचारीहरुले घुमाउरो पारामा नष्ट गर्नुपर्ने धारणा राखे पनि नष्ट गरिएको तर पुनः प्रयोगमा नआउने गरि कार्वाही गरिएको अनुगमन टोलीमा सहभागी राष्ट्रिय उपभोक्ता मञ्च सुनसरीका कोषाध्यक्ष पुर्ण राईले जानकारी दिएका छन् ।
धरान ४ लक्ष्मी सडकस्थित रहेको भवानी श्री टेड्रर्सका सञ्चालक राजकुमार अग्रहरीले आफुले जानीजानी गल्ती नगरेको र आगामी दिनमा यस्ता गल्ती सुधारेर जाने, बिग्रिएको सामानको लागी आफुले ल्याईएको कम्पनीकै गल्ती देखाई टोली समक्ष गुनासो गरेका थिए ।
त्यस्तै, धरानमा खुलेको नाम चलेकै भाटभटेनी सुपरमार्केटमा समेत ४२ बटा नरिवल कुहिएको तथा फलफुलमा समेत खाने अवस्थामा नरहेको पाइएको भेटिएको थियो भने सो टोलीले सो खाद्यवस्तु तत्कालै नष्ट गरिएको राईले बताए ।
उता गोर्खा डिपार्टमेन्ट स्टोर, सेल्सबेरी, तथा बराह डिपार्टमेन्ट स्टोरमा भने केही अखाद्य वस्तु नभेटीएको अनुगमन टोलीसंगै रिपोर्टीङको क्रममा रहेका धरानका पत्रकार केदार बस्नेतले जानकारी दिए ।
त्यस्तै प्रशासनबाट खटिएको टोलीले ती सामग्रीहरु डिस्पोज गर्न निर्देशन दिएको थियो ।
धरानका अन्य धेरै पसलहरुमा गरिएको अनुगमनमा अधिकांशले नवीकरण नगरेको नवीकरणको म्याद गुज्रेको पाइएको थियो भने कतिपयले घरेलु कार्यालयबाट इजाजत पत्र समेत नलिएको पाइएको थियो ।
उता अनुगमन टोलीमा वाणिज्य बिभागका अधिकृत रमेश श्रेष्ठ, अफिसर रामकृष्ण श्रेष्ठ, गोमा दाहाल तथा राष्ट्रिय उपभोक्ता मञ्च नेपालका केन्द्रीय सदस्य तिर्थ महर्जन, मञ्चकै सुनसरी जिल्ला अध्यक्ष नारायण राई लगायतको सहभागिता रहेपनि सुनसरी धरान लगायतका स्थानीय जनप्रतिनिधि र उद्योग बाण्ज्यि संघका प्रतिनिधिहरुले आफुहरुलाई जानकारी समेत नगराई अनुगमन गरिएको प्रति असन्तुष्टि व्यक्त गरेका थिए ।
“








