चितवन–२, शिक्षाविद् र कानुनविद्को लडाइँ

मङ्सिर ८, भरतपुर । चितवन प्रतिनिधिसभा क्षेत्र नम्बर–२ को चुनावी रणनीति हेर्दा यहाँ कडा प्रतिस्पर्धा हुने अवस्था देखिएकाे छ । लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनको दुई अनुभवी हस्ती एक अर्कालाई पराजित गर्न लागि परेका छन् । कसको तागतले को पछारिने हो, पत्तो छैन । दुवै गठबन्धनका उम्मेदवारमा केही कमी छैनन् । लोकतान्त्रिक तर्फका उम्मेदवार पुराना राजनीतिकर्मी र हालका शिक्षा राज्यमन्त्री हुन् । उनी शिक्षाविद्को रूपमा पनि चिनिन्छन् । वाम गठबन्धनका उम्मेदवार चर्चित कानुनविद् हुन् । उनी युवा नेता हुन् ।

लोकतान्त्रिक गठबन्धनबाट शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी रुख चुनाव चिन्ह लिएर मैदानमा छन् । भने, वाम गठबन्धनबाट कानुन व्यवसायी कृष्णभक्त पोख्रेल सूर्य चिन्हमा प्रतिस्पर्धा गर्दै छन् ।

अधिकारीले शहीद स्मृति क्याम्पस रत्ननगर टाँडीको व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरे । आफ्नो कार्यकालमा क्याम्पसको स्तरोन्नति गर्न उनले ठुलो भूमिका खेलेका थिए । पटकपटक गरी ८ वर्षको जेलजीवन भोगेका अधिकारी नेविसंघ चितवनको दोस्रो जिल्ला अध्यक्ष समेत हुन् । २०७० सालको संविधान सभाको चुनावमा चितवन क्षेत्र नम्बर २ बाट उनी विजयी भएका थिए । २०४८ सालमा अधिकारीले चितवन २ बाटै टिकट पाए पनि पराजित भएका थिए । हाल शेरबहादुर देउवाको सरकारमा अधिकारी शिक्षा राज्यमन्त्री भएर शिक्षाको क्षेत्रमा उल्लेखनीय भूमिका निभाइरहेका छन् ।

अर्कोतर्फ वाम गठबन्धनका उम्मेदवार कृष्णभक्त पोख्रेल कानुन व्यवसायी हुन् । उनले चितवनमै बसेर लामो समयसम्म कानुनी वकालत गरेका छन् । २०७० सालको चुनावमा उनी चितवन क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए । नेपालको नयाँ संविधान निर्माणमा संविधान मस्यौदा समितिमा बसेर पोख्रेलले महत्त्वपूर्ण भूमिका खेलेका थिए । पोख्रेल नेकपा एमालेका जिल्ला अध्यक्ष पनि हुन् । पोख्रेल पछिल्लो समय आफूलाई केन्द्रीयस्तरको नेताको रूपमा दरिने प्रयास गरिरहेका छन् ।

अधिकारीको एजेण्डा

लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अधिकारीले चितवनलाई वित्तीय राजधानी बनाउने संकल्प गरेका छन् । ‘चितवन औद्योगिक क्षेत्रका लागि उपयुक्त ठाउँ भएकाले वित्तीय राजधानी बनाउन सकिन्छ । आफूलाई यहाँका जनताले जिताए चितवनलाई वित्तीय राजधानी बनाएर छोड्नेछु’ अधिकारीले भने । नारायणगढको बस्ती नहटाइ वैकल्पिक सडक बिस्तार गर्ने आफ्नो एजेण्डा रहेको उनले बताए ।

नारायणगढ बजार व्यवस्थापन, नदीको उचित व्यवस्थापन, नारायणगढमा आकाशे पुल साथै औद्योगिक वातावरण निर्माण गरी समृृद्ध चितवन बनाउने अधिकारीको एजेण्डा छ । भरतपुर अस्पताललाई मेडिकल कलेज बनाउने, वीरेन्द्र क्याम्पसलाई प्रादेशिक विश्वविद्यालय बनाउने, उपर दाङगढी र इच्छाकामना मन्दिरलाई जोड्न केबलकार सञ्चालनका व्यवस्था मिलाइने, प्रत्येक वडामा शुद्ध खानेपानीको व्यवस्था गर्ने, देवघाटलाई धार्मिक पर्यटकीय क्षेत्रको प्रमुख गन्तव्य बनाइने लगायतका सयौँ एजेण्डा अधिकारीले लिएका छन् ।

पोख्रेलको एजेण्डा

वाम गठबन्धनका उम्मेदवार कृष्णभक्त पोख्रेलले चितवनलाई दोस्रो पर्यटकीय गन्तव्य बनाउने एजेण्डा लिएका छन् । पोखरेलले जनताको आवश्यकतालाई प्राथमकिताको आधारमा काम गर्दै चितवनलाई पर्यटकीय दृष्टिले विकास गर्ने बताए । उनले भने, ‘नारायणी नदीमा ¥याफ्टिङको विकास गरेर धेरै पर्यटक भित्र्याउन सकिन्छ, मैले जितेँ भने नारायणी नदीको उचित र सही तरिकाले व्यवस्थापन हुन्छ ।’ पहाडी क्षेत्रहरूमा रहेको विभिन्न मार्गहरुको स्तरोन्नति गर्ने, नारायणी पुललाई भार नपर्ने गरी अन्य ठाउँमा पुल निर्माण गर्ने, देवघाट, इच्छाकामना मन्दिरलाई देशकै प्रमुख धार्मिक पर्यटकीय क्षेत्र बनाउने, भरतपुरलाई मेडिकल सिटीको रूपमा विकास गर्ने, भरतपुरलाई देशकै शैक्षिक केन्द्र बनाउनेलगायतका सयौँ एजेण्डा पोख्रेलले लिएका छन् ।

स्थानीय चुनावको मत
क्षेत्र नम्बर २ मा १ लाख ८ हजार २१९ मतदाता छन् । यहाँ ४३ वटा मतदान स्थल तोकिएको छ कालीका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ७, १०, ११, १२ र २९ वडा समेटिएका छन् । इच्छाकामना गाउँपालिकामा स्थानीय तहको चुनावमा काँग्रेसले जितेको थियो । लोकतान्त्रिक र वाम गठबन्धनको मत जोड्दा वाम अगाडि देखिएको छ । स्थानीय तहको चुनावमा यस गाउँपालिकामा वामले ५ हजार ५०७ मत ल्याएको थियो ।

लोकतान्त्रिक गठबन्धनले ३ हजार २९१ मत ल्याएको थियो । कालीका नगरपालिकामा वामको ९ हजार ९७६ र लोकतान्त्रिकको मत ७ हजार ८३ रहेको छ । भरतपुर महानगरपालिकाको १० वटा वडामा वाम गठबन्धनको २३ हजार २१८ र लोकतान्त्रिक गठबन्धनको मत १६ हजार १६५ छ । एमालेले २७ हजार ६३८ र माओवादीले ११ हजार ६०४ मत ल्याएको थियो । यसै गरी नेपाली काँग्रेसले २४ हजार ७५५ र राप्रपाले एकहजार ७५४ मत प्राप्त गरेका थिए । क्षेत्र नं। २ मा लोकतान्त्रिकभन्दा वामपन्थी गठबन्धन १२ हजार ७३३ मतले अगाडि छ ।

दुवैको जित्ने दाबी
काँग्रेसले स्थानीय तहको चुनावमा हेरेर मात्र अहिलेको चुनाव आंकलन गर्न नमिल्ने बताएको छ । काँग्रेसले क्षेत्र नम्बर २ मा आफू निकै बलियो रहेको बताउँदै जित सुनिश्चित भएको दाबी गरेको छ । वाम गठबन्धनले सोचेको भन्दा उल्टो नतिजा आउने काँग्रेसको दाबी छ । यता बाम गठबन्धनले पनि स्थानीय चुनावलाई हेर्दा आफ्नो जित्ने आधार बलियो बनेको बताएको छ । वाम गठबन्धनले एजेण्डा र देशलाई कम्युनिस्टको बहुमतको बलियो सरकार आवश्यक पर्ने भएकाले वामकै जित हुने दाबी गरेको छ । दुवैले यसअघि जितेका हुन् । दुवै चिरपरिचित नेता हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − fifteen =