सोनीमा कपिलका प्रतिद्वन्द्वी कृष्णा अभिषेकलाई लिएर नयाँ शो अाउदै

एजेन्सी । सुनील ग्रोवरसँग विवादपछि कपिल शर्माको व्यवसायिक जीवन खस्कदैं गएको छ । विवादपछि सुनील सहित अली अस्गर, सुगन्धा मिश्रा, चन्दन लगायतका कलाकारले ‘द कपिल शर्मा शो’ छाडेर गए । विवादकै कारण शोको बजार खस्कदैं गएपछि सोनी च्यानलले विस्तारै कपिलको विकल्प खोज्दै गएको समाचारहरु आएका थिए ।
सोनीले कपिल शो बन्द नगरेपनि कपिलका प्रतिद्वन्द्वी मानिएका कृष्णा अभिषेकलाई लिएर नयाँ शो ल्याउने भएको छ । शो को नाम ‘द ड्रामा कम्पनी’ राखिएको छ र यो हाल कपिल शो भन्दा अघि आउने बताइएको छ । कृष्णाका साथै यसमा कपिलका पुराना साथीहरू हुनेछन् । हालै यो शोको प्रोमो शुटको बेलाका केही तस्बिरहरू सेयर गरिएका थिए । जस अनुसार शोमा सुगन्धा मिश्रा र अली असगर छन् । भारतीय समाचारमाध्यमका अनुसार कमेडियन सुदेश लहरी पनि यसमा हुने संकेत देखिएको छ ।

यति मात्र नभएर शोमा सुनील ग्रोवरको ‘स्पेशल अपिरियेन्स’ हुने र बलिउड अभिनेता मिथुन चक्रवर्ती यसमा जजको स्थानमा हुन सक्नेछन् । यी सबै कलाकारहरूका साथमा आउने ‘द ड्रामा कम्पनी’ ले दर्शकको मन कपिल शोले झैं जित्ला या नजित्ला भन्ने हेर्न बाँकी नै छ ।








