दिल्लीकाे जाडाेमा कठ्याँग्रिएका हात

कार्य ब्यस्तताले गर्दा मेरो दैनिक रुटिङ राति अबेर सम्म बस्ने अनि बिहान ढिलो उठ्ने छ । पाँच साता भयो मातृभूमि छाडेको । केही व्यक्तिगत कार्य र केही अफिसियल्ली कार्यले दिल्लीको बसाई दिन प्रतिदिन लम्बिदै गएको छ ।
मङ्सिर पहिलो साता नेपाल छाडेर आउँदा दिल्ली गर्मिलो थियो । मङ्सिर नलाग्दै नेपालको राजधानीमा चिसो बतास छिरिसक्छ, दिल्लीमा भने, साँझ बिहानको सिरेटो मात्र देख्न पाइने । महाराष्ट्रको राजधानी गर्मिलो हुनमा बढ्दो जनसङ्ख्या, सवारीको चाप र प्रदूषण पनि हो । धेरैले दिल्लीलाई एसियाकै प्रदूषण युक्त शहरपनि भन्दा रहेछन् । हुन पनि हो, दिल्लीको कुनै रोडमा सवारी खाली हुँदैनन्, चौरस्ता, चोक गल्लीमा मान्छे र गाडीहरूको ताँती । यस्तो लाग्छ यहाँ मान्छे र सवारी बराबरी छन् ।

अँ, अहिले पुस ५ गते वितिसक्दा यहाँ चिसो चैँ ५–१० डिग्री सेल्सिएसमा झरेको छ । दिउसो १२ बज्दा पनि घामको अनुहार देख्न मुस्किल छ । दिल्लीको धुलो र धुवाँले बाहिर वातावरण धुमिल बनाए जस्तै मेरो मनपनि धुमिल भएको छ ।
धेरैले दिल्लीलाई सपनाको राजधानी मान्छन्, तर, मलाई एक रत्तिपनि लागेन । साँझ नढल्दै शुरुहुने भिलिमिली बत्ती, लाउड म्युजिक, सुन्दर युवतीका मदहोस नयन केहीले छाेएन ।
आज बुधवार, व्यक्तिगत काममा धेरै दौडधुप गर्नुछ, समयमै निन्द्रादेवीको काखमा जान खोजेँ तर, खै किन हो मध्ये रातसम्म निन्द्रा लागेन । बिहानीको दुई बज्न लाग्यो । फेसबुक कति चलाउनु ? कहिलेकाहीँ त यो भर्चुअल दुनियाँबाट पनि दिक्क लाग्दो रैछ । ब्याङ्केट फालेर बार्दलीमा आए । चिसो सिरेटोले कानै काटेर लगेजस्तो भयो । नाकको टुप्पो रसाएर आयो । अगाडीका रोडमा पहेँला बत्तिबालेर गाडी दौडिईरहेका छन् । कुहिरीमण्डलमा गाडी हैन तीनका हेडलाईट मात्रै चम्कन्छन् । अपार्टमेन्टको पर्खालमा यसो नजर गयो, दुई केटा च्यात्तिएको बोरामा कठ्याङ्ग्रििएको देखेँ । लूगलूग काम्दै छन्, खै के भयो बार्दलीमा आएको सिरेटोको तिखो हावा एक्कासि मरुभूमीको तातो हावा लाग्न थाल्यो । कस्तो निर्दयी सहर ! कस्ता मुटु नभएका मान्छेहरू ! काठमाडौँ हुँदो हो त हतारिँदै बाहिर जान्थे, अनि तिनीहरूलाई भित्र ल्याउँथेँ, तातो बनाएर राख्थे ।
हेर्न सकिन ती दृश्यहरू, भित्र छिरेँ । निन्द्रा लागेको छैन, आफैँले चिया पकाएँ, र, ब्ल्याङ्केट भित्र छिर्दै ल्यापटप अन गरेँ । पुराना फोल्डरहरु खोतल्दै गएँ । धन्न ल्यापटप ल्याएछु । इन्टरनेट र ल्यापटपको सहायताले कार्यालयको काम गर्नपनि सहज नै भएको छ । प्रविधिको विकास सँगै काम गर्नको लागि अफिसमै धाउनु पर्ने बाध्यता रहेन । जहाँ इन्टरनेट अनि ल्यापटप त्यहाँबाट काम सुरु भईहाल्ने ।

केही फाइल खोज्ने क्रममा थिएँ, एक्कासि मेरा माउस चलाइरहेका औंलाहरु एउटा फोटा भएको फोल्डरमा ठोकिन पुग्यो । करिब साँढे चार महिना अघिको त्यो फोल्डरले मलाई पुनः बाहिरको दृश्य देखायो ।
साढें चार महिना अघि आएको अविरल वर्षा र त्यसपछिको बाढीले तराई मधेसमा वितण्डा मच्चाउँदा म लगायत मेरो टिमले तराईको घाउमा थोरै भए पनि मल्हम लगाउने काम गरेका थियौँ ।
२०७४ भदौ ३ गते सप्तरीको तिलाठि गाउँपालिका कोइलाडिमा आएको बाढीले पुरै गाउँनै सखाप भएको थियो । हज्जारौं नेपालीहरू बाढीको वितण्डामा परेका थिए । पुरै तराई–मधेस रोईरहेको बेला म लगायत मेरो कार्यालयका टिम पनि हाँसेर बस्ने अवस्था थिएन । त्यसपछि शुलभ मिडिया प्रा.लिई.को संयोजनमा केही अन्य मनकारी सङ्घ संस्था र मित्रको साथमा म पनि सप्तरीका विभिन्न स्थानमा राहत वितरण गर्न गएको थिए । चारैतिर जलमग्न थियो । तराई–मधेसका जनताका आँखा ओभाना थिएनन्, धेरैले आफ्ना परिवार गुमाएका थिए । घरबार गुमाएका थिए ।
कोईलाडी त्यही गाउँ थियो जहाँ मामाले १० बर्से भान्जालाई (सदगत) जलाउने ठाउँ नपाएर खोलामा बगाएका थिए । ती सबै दृश्य झल्झली आँखामा आए । बाढीको कहरबाट सयौँ बालबालिका प्रभावित भएका थिए । उनीहरूको आङ्मा एकसरो लुगा थिएन । खानका लागि एक गेडा अन्न थिएन । सयौँ बृद्धबृद्धाहरुको आँखा राहतको पर्खाईमा थिए । तर, सरकार मस्त निन्द्रामा थियो । राहतका नाममा हुनेखानेले लुट मच्चाएका थिए । कमजोर निम्छराहरु प्याक्प्याकी भएर बसेका थिए ।
‘सेवानै धर्म हो’ भन्ने कुरालाई मनन गर्दै ‘पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ, आँधी आए तराईमा पहाडले छेक्नुपर्छ’ भन्दै हामी दुःख बाँड्न गएका थियौँ । सबैले राज्यलाई धारेहात लगाइरहँदा हामीले व्यक्तिगत रूपमै भए पनि ‘देश दुखेको बेला गर्नुपर्छ’ भन्ने दायित्व बोध गर्दै धेरथोर केही पिडितहरुको घाउमा मल्हम लगाउन सफल भयौँ । ३ दिनको राहत वितरणमा झन्डै चार ओटा गाउँका पिडितहरुलाई खाद्यान्न, लत्ताकपडा र औषधी बाड्यौं । सँगै अझै दायित्व बढेको महसुस गर्दै शरीरमा एक थोपा रगत भएसम्म सामाजिक काम गर्ने अठोट गर्दै ती असहायलाई फेरि आउने बाचा गर्दै त्यहाँबाट बिदा भएको थियौँ ।
आज साँढे ४ महिनापछि एउटा बन्दकोठामा बस्दा मलाई ती नाङ्गा शरीरको याद आयो, यति बेला पुसको मध्ये जाडोमा ती कलिला हातहरू कठ्याङ्ग्रिँदै आगो खोज्दै होला ! बाक्ला लुगा नभएपनि एकसरो खोज्दै होला ! भत्किएको खरको घरले मुटु छेड्ने सिरेटो छेकेन होला !
हाम्रो तिर तराईमा चिसो हावा अनि शितलहर अत्याधिक हुन्छ, भएका लत्ता कपडा बाढीले लगिदिएपछि धेरै बालबालिका नाङ्गै थिए त्यत्तिबेलै । सायद अहिलेपनि त्यस्तै होला ! यस्तै यस्तै कुराहरूले मन अतालिरहेको थियो । एक किसिमको छटपटि भयो । अनि धिकार्न मन लाग्यो त्यो लाचार सरकारलाई, जो सिंहदरबारमा बसेर ‘हिटर’ तापिरहेछ । धिक्कार्न मन लाग्यो ती दलका नेताहरूलाई जो तराई र मधेसको नाममा सिंहदरबारको राजनीति गरिरहेछन् । धिक्कार्न मनलाग्यो जसले नेपाली नेपाली बिच फाटो ल्याउन तराईमा जातीय राजनीतिको बिउ छरिरहेछन् !
मधेसको ‘मसिहा’ भन्नेले मधेसका जनताको पिडामा मल्हम लगाउन सक्दैन भने, त्यो महिँसा हैन, राक्षस हो ।
म भन्न सक्छु, यहाँ कसैलेपनि मधेसको मुक्ति, मधेसको विकासका लागि राजनीति गरेका छैनन् । यहाँ मात्र आफ्नो व्यक्तिगत स्वार्थ पूर्ति गर्न सोझा जनतालाई मोहरा बनाइन्छ । यसपटकको निर्वाचनमा पनि त्यही भएको छ । तराई मधेसका धेरै ठाउँमा न्याय हारेको छ । विसौं वर्षदेखि सत्तामा रहेकाले कब्जा जमाएका छन् ।
तराईको अर्को समस्या भनेको अशिक्षा हो । यहाँका धेरै बालबालिकाका अभिभावकहरू शिक्षित छैनन् । त्यससँगै उनीहरूका बालबालिका पनि राम्रो विद्यालयमा गएर पढ्न सक्ने वातावरण छैन । अझ मुसहर बस्तीका करिब ५० भन्दा बढी बालबालिकाहरूले विद्यालयको मुख समेत देखेका छैनन् । जबसम्म त्यो बस्तीमा शिक्षाको उज्यालो ज्योति पुग्दैन तवसम्म त्यहाँको मुक्ति हुँदैन । यो कुरा राज्य, तराई मधेसका महिसा भनौदाहरुले बुझ्न जरुरी छ । अझैपनि जातीय, वर्गिय क्षेत्रीय रूपमा नेपाली नेपालीहरूलाई विभेद गरिरहने हो भने, विकास र संवृद्धि सम्भव छैन । राज्यले जनताको गाँस बास कपास र शिक्षाका ग्यारेण्टी गर्न सक्नुपर्छ । समाजमा व्याप्त कूसँस्कार र परम्परालाई नामेट बनाउन पर्छ ।मधेसको मसिहा हुँ भन्नेहरूले नै उत्पीडनमा परेका वर्गलाई दबाएर राखेका छन् । यसको छर्लङ्ग उदाहरण हो ‘मुसहर जाति भएकै कारण १० बर्से भान्जालाई पानीमा बगाएको यथार्थ । मधेसमा व्याप्त सामाजिक रुढिबाढि परम्परासँग कथित उपल्लो जातका शासकले नै राजनीति गरिरहेछन् । यो परिदृश्य नामेट गर्ने एउटै हतियार थियो जनताको ‘जनमत’ तर, त्यसमा पनि शक्ति र पैसाले जितेको छ ।
टिङटिङ घडीले बिहानको ६ बजेको सङ्केत दियो । ल्यापटपबाट आँखा हटे, मानसपटलमा भने त्यही बाढीले आक्रान्त नाङ्गेझार बालबालिका, रातभर खुल्ला आकाशमा बसेर फुटेका, चाउरी परेका अनुहार आइरह्यो ।
फेरी बार्दलीमा गएँ, ती केटाहरू मध्ये एउटा बोरामा गुजुल्टीएर काखीमा हात राख्दै काम्दै रहेछ, अर्को छेउछाउका कागज प्लास्टिक बटुलेर आगो बाल्न खोज्दै रहेछ, छितिजमा पारिबाट एउटा घामको किरण हुस्सु र कुहिरो छिचोलेर मेरो बार्दलीमा आउँदै रहेछ ।
अस्तु








