माग्ने बूढाको असन्तुष्टि–‘२० जनाभन्दा बढी मन्त्री हामीलाई चाहिएकै छैन’

हास्यअभिनेता केदार घिमिरे नचिन्ने सायदै होला । बालकदेखि वृद्ध सबैको माग्ने बुढो’ भनेर चर्चित बनेका उनी अभिनिति फिल्म ‘६क्का पञ्जा–२’ प्रर्दशनको तयारीमा छ। यसै सेरोफेरोमा आधारित रहेर गरिएको कुराकानी :
ठ्याक्कै अहिले के गर्दै हुनुहुन्छ ?
म भर्खरै उठेँ । जुरुक्कै उठेर यसो ल्यापटप हेर्दैछु। हिजो एउटा स्टाटस लेखेको थिएँ, के–के कमेन्ट आएछ, गाली धेरै गरे कि प्रशंसा गरे भनेर हेर्दैछु। म सधैँ उठ्नेवित्तिकै यसै गर्छु।
त्यहीँ प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल विस्तार गरेका विषयमा लेख्नुभएको स्टाटसको कुरा हो ? तपाईँले त विस्तार गर्दाका फाइदै–फाइदा पो देखाइदिनुभएको थियो त !
हो। व्यंग्य भनेकै यस्तै हो। व्यंग्य यस्तो हुनुपर्छ कि जसलाई गाली गरिएको छ उसले पनि त्यो हेरेर हाँसोस्। तर खासमा त्यसरी मन्त्रीमण्डल विस्तार गरेकोमा मेरो घोर आपत्ति छ। ६ सय १ जना सभासदलाई विभिन्न पदको सिर्जना गर्दै नियुक्ति गर्नु भनेको अनेक बहानामा राज्यको दोहोन गर्नु हो। यो सब सरकार ढल्ला कि भन्ने डर ले हो ! असन्तुष्ट पक्षलाई खुसी बनाउनलाई यसो गरिएको हो। नत्र २० जनाभन्दा बढी मन्त्री हामीलाई चाहिएकै छैन।
बिहान कति बजे उठ्नुहुन्छ ?
म प्रायः १०–११ बजे उठ्थेँ । आजचाँही ‘खासखुस’को सुटिङ भएकाले बुढीले बिहान–बिहानै डिस्टर्ब गरिन् अनि निन्द्रा बिग्रियो।
राति ढिला सुत्नुहुन्छ हो ?
प्रायः १० बज्छ। कहिलेकाँही ढिलामा १२ बजे सुत्छु। तर अझै डिप्रेसनको औषधी खाइरहेकाले निन्द्र अलि बढी लाग्ने हो। तर अहिले बिरामी सन्चो हुँदै गएको छ। औषधी घटाइरहेको छु।
व्यायाम गर्नुहुन्न ?
अलि कमै छ। ११ बजेतिर उठेर मर्निङ वार्क जाने कुरा पनि त भएन।
हिजोको दिन कस्तो रह्यो त ?
‘६क्का पञ्जा–२’ सिनेमा घरमा आउनै लागिसक्यो। फिल्मको प्रचारमा लागिएको छ। हिजो पनि एक ठाउँ अन्तरवार्ता दिन गइयो। त्यसपछि यमन श्रेष्ठसँग ‘खासखुस’को कथाका लागि सरसल्लाह भयो।
भनेपछि पुरै फिल्मको प्रचारमा लागिएको छ ?
लाग्न त लागिएको छ। तर अलि कम लागिएको छ कि भन्ने लागेको छ ।
‘६क्का पञ्जा–२’मा तपाईँको भूमिका कस्तो छ ?
म ‘६क्का पञ्जा’मा बेरोजगार युवा थिए । यहाँ चाहिँ रोजगार पाएको छु।
हिजोआज तपाईँको दिमागले के सोचिरहेको हुन्छ ?
अहिले त प्रायः ‘६क्का पञ्जा–२’ नै सोचिरहेको छ। युट्युबमा ट्रेलर मुनि धेरैले कमेन्टमा ‘माग्ने बुढो’को नाम लिनुभएको छ। म कुनै महान् व्यक्ति होइन, सामान्य कलाकार हुँ। तर यसरी दर्शकको अपार माया देख्दा कहिलेकाँही भावुक हुन्छु।
सामाजिक सञ्जालमा तपाईका तस्बिर राखेर पनि ट्रोल बन्ने गर्छन्। आफ्नो बारेमा बनाएको ट्रोल देख्दा कस्तो महसुस हुन्छ ?
मलाई दर्शकले फन्नी रूपमा लिँदारहेछन् भन्ने लाग्छ। भेट्टाएसम्म सेयर गरिरहेको हुन्छु।
अब अलिकति सिरियस कुरा गरौँ । नेपालको हास्यव्यंग्य वर्षौदेखि एउटै विषय वरपर घुमिरह्यो । सधैँ उही राजनीतिक अस्थिरता, अव्यवस्था र अराजकतामाथि नै व्यंग्य गरिरहँदा कहिलेकाँही हास्यव्यंग्य गर्नु नै बेकार रहेछ भन्ने लाग्दैन् ?
लाग्छ। गाईजात्रामा यति प्रहसन हुन्छन्, स्टेजमा व्यंग्य गरिन्छ तर कहीँकतैँ असर नभएको देख्दा व्यंग्य गर्नु नै बेकारजस्तो लाग्छ। तर हाम्रो व्यंग्यलाई जनताले त बुझेका हुन्छन् नि। त्यसैले अहिले सामाजिक सञ्जाल आएपछि विरोधका स्वरहरू सुनिन थालेका छन्। जसले गर्दा सम्बन्धित ठाउँमा असर पुगिरहेको हुन्छ।
हसाउनलाई स्टेजमा उक्लिनुअघि तपाईँ आफूलाई कसरी तयार गर्नुहुन्छ ?
म रिहर्सल गर्छु। डायलग नबिर्सिऊ भनेर नाट्यस्वरीको प्राथना गर्छु । विषय छनौटको कुरा गर्नुपर्दा मलाई जे कुरा चित्त बुझेको छैन र जनतालाई कहाँ मर्का कहाँ परिरहेको त्यसैलाई विषय बनाउन खोज्छु। ठाउँ हेरेर पनि प्रस्तुति दिइन्छ। जस्तो अस्ति ललितपुर,चापाँगाउमा कार्यक्रम थियो। वर्षौदेखि चाँपागाउको बाटो बनेको थिएन, खाल्डाखुल्डी थियो। मैले त्यो विषय पनि उठाएँ।
हसाउने बहानामा कमजोर वर्गलाई उडाउने र मजाक बनाउने ट्रेन्ड पनि नेपालमा व्यापक छ । तपाईँ त गरिखाने वर्गका प्रिय कलाकार यसरी हसाएको देख्दा कस्तो लाग्छ ?
कमजोर वर्गलाई उडाउनु हुँदैन । पत्रकार र हास्यकलाकारको काम भनेको विकृति र विसंगतिमाथि औला ठड्याएर सचेत गराउने हो। जाति, लिङ्ग, वर्णका आधारमा कसैलाई पनि उडाउनुहुँदैन, हेप्नुहुँदैन। यो राम्रो होइन। कसैले हास्यकलाकारिता सिक्ने क्रममा यस्तो गरेको हुनसक्छ। उहाँहरूले बिस्तारै बुझ्दै जानुहुन्छ।
अन्त्यमा, तपाईँको आजको प्लान के छ त ?
अहिलेसम्म त केही छैन। तर अब अन्तरवार्ताका लागि कहाँबाट फोन आउँछ र कहाँ जानुपर्छ त्यसको चाहिँ पत्तो छैन । नेपाल खबरबाट साभार








