लोकतान्त्रिक गठबन्धनले चुनावी तालमेलको टुंगो लगाउन नसकेपछि…

असाेज २२, काठमाडाै । नेपाली काँग्रेसको नेतृत्वमा बनेको लोकतान्त्रिक गठबन्धनको कार्यदलले चुनावी तालमेलको टुंगो लगाउन नसकेपछि त्यसको जिम्मा नेपाली काँग्रेसलाई दिइएको छ ।
आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धनमा रहने दलले के कति सङ्ख्यामा सिट लिने भन्ने विषय टुंगो लगाउन नसकेपछि कार्यदलले त्यसको अन्तिम टुंगो लगाउने जिम्मा काँग्रेसका शीर्ष तहका नेतालाई दिएको हो । दुई दिन सम्म बसेको कार्यदलले सिट, जिल्ला र पार्टीको छिनोफानो गर्ने जिम्मा कार्यदलको संयोजक समेत रहेका नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिलाई दिइएको कार्यदलका सदस्य रामजनम चौधरीले जानकारी दिए ।

स्थानीय तहको निर्वाचनमा पार्टीले प्राप्त गरेको सिट, मत तथा अघिल्ला दुई संविधानसभाको निर्वाचनमा पाएको मतका आधारमा शीर्ष नेतासँग परामर्श गरी सिट र क्षेत्र निर्धारण गर्ने सहमति कार्यदलमा भएको छ ।
कार्यदलको बैठकमा सहभागी विभिन्न पार्टीका नेताले सिट सङ्ख्यामा आ आफ्नाे दाबी गरेपछि त्यसको टुंगो सबै भन्दा ठुलो पार्टी काँग्रेसका शीर्ष नेताबाट लगाउन लागिएको हो । कुन पार्टीले कति सिट लिने र कुन क्षेत्र भन्ने निक्र्यौल भएपछि मात्रै आफूहरू जिल्लामा परिचालित हुने नेता रामजनम चौधरीले जानकारी दिए ।








