हिंसात्मक घटनाले प्रतिगमनलाई फाईदा पुग्ने : सिंह

कात्तिक २९, काठमाडौं । नेकपा(मसाल)का महामन्त्री मोहनविक्रम सिंहले आगामी चुनावका सन्दर्भमा भइरहेका हिंसात्मक घटनाले प्रतिगमनलाई नै फाइदा पुग्ने बताएका छन् । देशका विभिन्न भागमा भइरहेका हिंसात्मक घटनाहरू प्रति नेकपा (मसाल)को गम्भीर ध्यान आकर्षित भएको जनाउँदै सिंहले त्यस प्रकारका घटनाहरू बढ्दै गएमा अगामी चुनावमा नै बाधा पुग्ने र त्यसको परिणाम स्वरूप संविधानको कार्यान्वयन, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षतामा समेत गम्भीर आघात पुग्ने सम्भावनातिर ध्यान दिनुपर्ने बताएका छन् ।

मसाल महामन्त्री सिंहले देशमा हिंसात्मक घटनामा बृद्धि हुनुमा अहिले गृहमन्त्रीको समेत जिम्मा प्रधानमन्त्रीकै कमजोरी रहेको आंैल्याएका छन् । सिंहद्धारा जारी विज्ञप्तिमा भनिएको छ – ‘अहिले देशमा बढिरहेका हिंसात्मक घटनाहरूका पछाडि प्रधानमन्त्री वा सत्ताको नै कुनै भूमिका छ भन्नका लागि अहिलेसम्म हामीसित कुनै आधार छैन । तैपनि उनको कार्यक्षमताको कमीका कारणले उन(देउवा)ले गृहमन्त्रालयको काम राम्ररी सम्हाल्न नसकेको वा सुरक्षाको उचित व्यवस्था गर्न नसकेको कारणले पनि हिंसात्मक घटनाहरू एकपछि अर्को गर्दै बढ्दै गएका ता होइनन् ? प्रश्न उठाउनका लागि ठाउँ छ ।’

महामन्त्री सिंहले सरकारले माथिल्लो कर्णाली परियोजनाको समाप्त भइसकको अवधिलाई पुनः थप्ने निर्णय गरेको कार्यको समेत तीव्र शब्दमा विरोध र भ्रत्सना गरेका छन् । ‘माथिल्लो कर्णालीसम्बन्धी सम्झौता निश्चित रूपले राष्ट्रघाती सम्झौता हो । नेपालले स्वयं राष्ट्रिय लगानीमा त्यो परियोजना सम्पन्न गर्नसक्ने स्थिति हुँदाहुँदै त्यो परियोजनालाई विदेशी कम्पनीलाई दिने निर्णय गर्नु नै ठूलो राष्ट्रघाती कार्य थियो ।’ विज्ञप्तिमा भनिएको छ– ‘अहिले देउवा सरकारले पुनः त्यसको अवधि थपेर अत्यन्त गम्भीर प्रकारको राष्ट्रघाती कार्य गरेको छ । त्यो कार्यबाट वर्तमान सरकारको राष्ट्रघाती र भारतपरस्त चरित्र अरू उदाङ्गो भएको छ ।’

मसाल महामन्त्री सिंहले अहिले चुनावका सन्दर्भमा एमाले वा माओवादी केन्द्रसित भएको चुनावी तालमेलाई तात्कालिक चुनावका सन्दर्भमा मात्र होइन, लोकतन्त्र, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताका विरुद्ध नेपाली कांग्रेसको नेतृत्वमा बनेको गठबन्धनबाट सम्भावित गम्भीर प्रकारको खतराका विरुद्ध व्यापक राजनीतिक एकता कायम गर्ने आवश्यकताको सन्दर्भमा नै लिएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 1 =