‘मैले अर्काे फड्को हान्न बेर लगाउँदिन’ : प्रचण्ड

काठमाडौं, माघ २७ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धनबाट देश हितमा काम हुँदैन भन्ने लाग्यो भने आफुले अर्काे फड्को हान्न बेर नलगाउने बताएका छन् । आफूलाई अस्थिर भनेर व्यंग्य नगर्न चेतावनी दिंदै उनले भने, ‘अहिले म जहाँनेर छु, त्यहाँबाट देशको हित नहुने भन्ने लाग्यो भने मैले अर्को फड्को हान्न बेरै मान्दिनँ ।’

एमाले र माओवादीबीच पछिल्लो समयमा पार्टी एकताबारे विश्वासको संकट पैदा भइरहेको आकलन गरिएका बेला माओवादी अध्यक्ष प्रचण्डले यस्तो चेतावनी दिएका हुन् ।

शनिबार चितवनमा आयोजित एक कार्यक्रममा प्रचण्डले यसअघि एमाले छाडेर कांग्रेसतिर जानुको कारण प्रष्ट्याए– ‘कतिपय प्रधानमन्त्री बन्न मात्र गयो भन्ने परेको होला, त्यो सत्य होइन’ उनले अघि भने, ‘मलाई मैले मात्र पार्टीहरुको तिक्तता, जातिजाति तथा मधेस र पहाडबीच बढेको दुरी घटाउन सक्छु भन्ने लाग्यो ।’

प्रचण्डमाथि अस्थिर बनेको आरोप लाग्ने गरेको छ । एमालेसँग सत्तामा रहेका उनी भद्र सहमति अनुसार प्रधानमन्त्री नछाडेको भन्दै रातारात कांग्रेससँग गठबन्धन गरेर प्रधानमन्त्री बनेका थिए । कांग्रेससँग सरकारमा रहेका बेला गत दशैंताका विपक्षी एमालेसँग चुनावी तालमेलको सहमति गरेर अर्का सप्राइज दिए ।

तर, पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी  अध्यक्ष प्रचण्डले भने देश हितलाई हेरेर यस्ता फड्को मार्ने गरेको दाबी गरेका छन् ।

अहिले पनि कतिपय एमाले नेताहरूले प्रचण्ड अस्थिर भएकै कारण पार्टी एकताका लागि चाहिने विश्वास बन्न गाह्रो भइरहेको बताउने गरेका छन् ।

प्रचण्ड भनेकै अप्ठ्यारो पर्न लाग्यो भने कुनै न कुनै उपाय निकालेर अघि बढ्ने भएको उनको तर्क छ ।

बाल्मिकी पहिला डाँका रहेको र बुद्ध धर्मलाई स्थापित गर्ने राजा अशोक पनि युद्ध कमाण्डर भएको उनले स्मरण गरे । आफ्नो स्थिति पनि अरु पार्टी र नेताहरु भन्दा भिन्न रहेको भन्दै माओवादी अध्यक्ष प्रचण्डले भने, फरक हुनुमा मलाई गर्व छ ।’

राजनीतिबारे प्रतिकात्मक रुपमा मात्र बोलेको भन्दै उनले कुनै दिन साच्चीकै रुपमा भन्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 20 =