भरतपुर महानगरमा अब के होला ? मतगणना कि मतदान

किशोर खनाल, भरतपुर । भरतपुर महानगरपालिकाको रोकिएको मतगणनाको विषयलाई लिएर अहिले देशभर नै बहस भएको छ । भरतपुर महानगरपालिकाको १९ नं वडाको मतपत्र च्यातेपछि मतगणना कि मतदान भन्ने विषयमा बहस चलेको हो । नेकपा एमालले जहाँबाट रोकिएको हो, त्यहीबाट मतगणना हुनपर्ने माग गरेको छ भने, काँग्रेस र माओवादीले पुनः मतदान हुनुपर्ने माग गरेका छन् ।
छानविन समितिको प्रतिवेदनपछि भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान वा मतगणना भन्ने विषयमा निर्वाचन आयोगले निर्णय गर्ने जनाएको छ । आयोगले यसअघि जेठ १७ सम्मका लागि मतगणना रोक्न निर्देशन दिएको थियो ।
नेकपा एमाले चितवनका जिल्ला इन्चार्ज कृष्ण खनालले जहाँबाट मतगणना रोकिएको हो, त्यहीँबाट मतगणना हुनुपर्ने बताए । उनले भने, ‘पुनः मतदानतर्फ जाँदा निर्वाचनको प्रणाली र मूल्यमान्यतामा नै प्रश्न उठ्ने भएकाले च्यातिएका मतलाई अलग राखेर गणना गरी परिणाम घोषणा गर्न सकिन्छ ।’
उनले प्रश्न गर्दै भने, ‘आज एउटाले मतपत्र च्यात्यो, पुनः मतदान गरियो, भोलि अर्कोले च्यात्छ ? फेरि मतदान गर्ने ? कतिचोटी मतदान गर्ने ?’ इन्चार्ज खनालले मतपत्र च्यातेमा पुनः मतदान गर्न थालियो भने गलत नजिर बस्ने र एमालेलाई यस्तो गलत नजिर बसाल्ने खालका गतिविधि कुनै हालतमा स्वीकार्य नहुने बताए ।
उनले निर्वाचन आयोगले पनि गलत नजिर बस्ने निर्णय नगर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘निर्वाचन आयोगले गलत नजिर बस्ने गरी पुनः मतदानको निर्णय गर्लाजस्तो मलाई लाग्दैन । आयोगले यस्तो हर्कत कुनै हालतमा गर्दैन । च्यातिएको मतपत्र जोडेर भए पनि मतगणना गर्नुपर्छ ।’


च्यातिएको मतपत्र धुँजाधुँजा भएको खण्डमा आयोगले एउटा निर्णय गर्नुपर्ने र एकदुई मतपत्र गन्न नमिल्ने भए पनि त्यही हारजितको माध्यम नबन्ने खनालको भनाइ थियो । उनले छानबिन गरेर मतगणना सञ्चालन गरियोस् । एमाले हार्न तयार छ, तर देश, जनता र निर्वाचन पद्धतिले जित्नुपर्ने बताए । ‘यस्ता घटनामा पुनः मतदान गराउँदै जाने हो भने आगामी निर्वाचनमा परिणाम आफ्नो हातमा पार्न निश्चित नभएसम्म मतदान र गणना प्रक्रिया भत्काउने प्रवृत्तिले प्रोत्साहन पाउँछ ।’ खनालले भने ।
नेकपा माओवादी केन्द्रका जिल्ला सहइन्चार्ज घनश्याम दाहाल ‘अविनाश’ले मतपत्र च्यातिएको वडाको पुनः मतदान हुनुपर्ने बताए । उनले भने, ‘च्यातिएको मतपत्र कसरी गन्न सकिन्छ ? पुनः मतदानबाहेक अर्को विकल्प छैन ।’
जिल्ला सहइन्चार्ज अविनाशले निर्वाचन आयोगले बनाएको कार्याविधिमा मतपत्र च्यातिएको खण्डमा पुनः चुनाव हुनुपर्ने नियम रहेको बताए । उनले भने, ‘आयोगले बनाएको कार्याविधिअनुसार आयोग पनि जान्छ र हामी पनि जान्छौँ । पुनः निर्वाचनबाहेक अर्को उपाय छैन ।’
आयोगले यस विषयमा पुनः मतगणना नगरी पुनः मतदान गराउनुपर्ने उनको भनाइ थियो । उनले भने, ‘आयोग आफूले बनाएको नियम आफैँले मिच्ला भन्ने मलाई लाग्दैन, नियम मिचेर पुनः मतगणना ग¥यो भने त्यतिबेलै पार्टीले एउटा निर्णय लिनेछ ।’
मतपत्र च्यातिएको बारेमा छानविन गर्न आयोगले सहन्यायधिवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा गृह मन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी नायब महानिरीक्षक केदारमान सिंह भण्डारी सदस्य रहेको छानबिन टोली गठन गरेको थियो । छानविन टोलीले आज बुधवार प्रतिवेदन बुझाउँदैछ । प्रतिवेदनको आधारमा निर्वाचन आयोगले एउटा निर्णय गर्नेछ । त्यो निर्णय नै दलहरूले मान्नुपर्छ । भरतपुरमा वडा नं २० को मतगणना गर्न बाँकी छ भने अरू सबै वडाको मतगणना सकिएको छ ।
मतपत्र च्यातिएको घटनाबारे छानविन गर्न गठित टोलीले आज सरोकारवालासँग छलफल गरेको छ ।
निर्वाचन आयोगले गठन गरेको छानविन टोलीले राजनीतिक दल, सुरक्षाकर्मी, निर्वाचनमा खटिएका कर्मचारीलगायतसँग छलफल गरेको हो । टोलीले च्यातिएका मतपत्रहरु निरिक्षण नगरिकनै फर्किएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + five =