सुझाव दिनुस् बिग्रेको काँग्रेस सुधार्न जस्तोसुकै कदम चाल्न तयार छु : सिंह

पुस १०, काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसलाई सुधारको खाँचो रहेको बताएका छन् । नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका वडा नं १० ले आज यहाँ आयोजना गरेको ‘चियापान तथा भेटघाट’ कार्यक्रममा नेता सिंहले निर्वाचनमा काँग्रेसले कमजोर नतिजा ल्याएको भन्दै अब पार्टीमा सुधारको खाँचो रहेको बताए ।

“काँग्रेसका शुभेच्छुक र कार्यकर्ताले पार्टीलाई सुधारको आवश्यकता छ भनेर मलाई सुझाव दिइरहेका छन्, पार्टी सुधारका लागि सभापतिलाई दबाब दिन्छु”, नेता सिंहले भने ।

पार्टीका पूर्व महामन्त्रीसमेत रहेका नेता सिंहले विधानअनुसार चल्न नसक्दा पार्टीले कमजोर नतिजा ल्याएको बताए । “समानुपातिकमा प्राप्त मतले पनि काँग्रेसप्रतिको जनताको मोह घटेको छैन”, उनले भने ।

काँग्रेसले आफ्नो सरकारका पालामा गरेका राम्रा कामलाई प्रचारप्रसार गर्न नसक्दा कमजोर नतिजा आएको उनको भनाइ थियो । उनले विकासप्रति जनताले नेताको मुखमात्र ताक्नुभन्दा पनि नेताहरुलाई दबाब दिनुपर्ने बताए ।

‘एउटा अन्तक्र्रियामा ज्यूँदो कांग्रेस अहिले मृत अवस्थामा गइरहेको बेला तिमीहरुले के आवाज उठायौ भनेर भन्दा त म छाँगाबाट खसेजस्तो भएँ,’ प्रकाशमानले भने, ‘यस्तो अब्जरभेसन पिपुलले गरिरहेको छ । कांग्रेसलाई ब्लाइन्डली सपोर्ट गर्नेहरुले नै यस्तो भनेपछि त कुरा बिग्रिएकै रहेछ नी त । त्यो त चुनावको रिजल्टले पनि देखायो ।’

अब कांग्रेसलाई सुधार ल्याउने काममा जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने उनले बताए । उनले भने, ‘जस्तोसुकै कदम उठाउन परेता पनि यो पार्टीलाई फेरि हाम्रा आदरणीय संस्थापक नेताहरुले अत्यन्तै लोकप्रिय पार्टीको रुपमा कांग्रेसलाई परिचित गराउनुभएको थियो, त्यही स्टाटसमा लग्नका लागि आफ्नो ध्यान केन्द्रित गर्ने छु ।’

प्रधानमन्त्रीको उम्मेदवार अघि सार्नुपथ्र्याे
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनाव अघि नै पार्टी सभापति शेरबहादुर देउवालाई भावि प्रधानमन्त्री अघि सार्न सुझाव दिँदा पनि नमानेको बताए । नेता सिंहले चुनावअघि नै पद त्याग्न र भावि प्रधानमन्त्रीको रुपमा अर्को व्यक्तिलाई अघि सार्न आफूले सुझाव दिए पनि देउवाले नमानेको खुलासा गरे ।

‘कांग्रेसको अवस्था अत्यन्तै एन्टिकरेन्ट छ, तपाईंले सरकारको नेतृत्व गरेपछि कांग्रेसमा सन्तोषजनक फिलिङ छैन, कांग्रेसलाई समर्थन गर्नेहरुको पनि चित्त बुझेको छैन यसमा बिचार गर्नुपर्छ है पार्टी सभापति ज्यू भनेर मैले भनेको थिएँ,’ कार्यक्रममा उनले भने, ‘उहाँले के गर्नुपर्छ भन्नुभयो । मैले गिरिजाबाबुले किसुनजीलाई अघि सारेको जस्तै तपाईंले पनि कसैलाई सार्नुपर्‍यो ।’

तर आफूले दिएको यो सुझावमा देउवाले ध्यान नदिएको सिंहको भनाइ छ । कांग्रेस मृत अवस्थामा पुगेको भन्दै धेरै गुनासा र सुझावहरु आए पनि बेवास्ता गर्दा चुनावको नतिजामा असर परेको उनको ठहर छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + four =