जर्मनीमा थाइल्याण्डका राजामाथि गोली प्रहार

म्युनिख । जर्मनीमा थाइल्याण्डका राजामाथि गोली प्रहार भएको छ । दुई केटाहरुले अँध्यारोमा थाई राजामाथि गोली प्रहार गरेपनि उनी सुरक्षित रहेको जर्मनीका अधिकारीहरुले बताएका छन् । राजा महा भाजिरालोङकर्न आफ्नो धेरै समय जर्मनीमा नै बिताउने गरेका छन् । घटना भएको राती उनी म्युनिख विमानस्थल नजिकै साइकलमा यात्रा गरिरहेका थिए । अधिकारीहरुका अनुसार गत जुन १० मा १३ र १४ वर्ष उमेर समूहका केटाहरु अर्डिङमा रहेको उनीहरुको घरको झ्यालबाट एयर पिस्टल प्रयोग गरेर गोली प्रहार गरेका थिए ।
जर्मनीका अधिकारीहरुले थाई राजालाई गोली लागेको या नलागेको खुलाएका छैनन् । घटनामा कोही घाइते नभएको बताइएको छ । पिताको मृत्युपछि ६४ वर्षीय भाजिरालोङकर्नले गत वर्ष थाईल्याण्डको राजगद्दी सम्हालेका थिए ।

गोली प्रहार गर्ने दुई बालक मध्ये १४ वर्षीयमाथि अनुसन्धान भइरहेको बताइएको छ । १३ वर्षीय बालकमाथि भने जर्मन कानुन अनुसार अनुसन्धान गर्न उमेर पुग्दैन ।








