सल्यानको कपुरकोटमा कक्षा ८ को वार्षिक परीक्षा चैत्र ८ गतेबाट

सल्यान, माघ १९ । सल्यानको कपुरकोट गाउँपालिकाले यस वर्षको कक्षा ८ को वार्षिक परीक्षा आगामी चैत्र ८ गतेबाट सञ्चालन गर्ने भएको छ । संविधानले विद्यालय शिक्षाको सञ्चालन, व्यवस्थापन लगायतका कार्यहरू स्थानीय तहको क्षेत्राधिकारमा राखेको हुँदा त्यो अधिकार प्रयोग गरेर गाउँपालिकाले शिक्षा समिती तथा परीक्षा समिती नै गठन गरेर परीक्षा सञ्चालन गर्न लागेको हो ।
बिहीबार सम्पन्न कपुरकोट गाउँपालिकाका प्रधानाध्यापकहरुको बैठकले चैत्र ८ गते दिउँसो एक बजेबाट कक्षा ८ को वार्षिक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको कपुरकोट गाउँपालिकाका श्रोत व्यक्ति कृष्ण भण्डारीले जानकारी दिनुभयो ।
बैठकमा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले सम्पूर्ण प्रधानाध्यापकहरुलाई शैक्षिक गुणस्तर उकास्नेगरी काम गर्न आग्रह गर्नुभएको थियो । उहाँले अहिले गाउँपालिका भित्रका विद्यालयमा धेरै समस्या देखिएको भन्दै आफूहरुले फागुन महिनाभरी सबै विद्यालयको अनुगमन गरेर आवश्यक निर्णय लिने बताउनु्भयो ।
यसैबीच, बिहीबारको बैठकले रुम टू रिड नामक संस्थाले विद्यालयमा पुस्तकालय, कक्षा १ र २ मा नेपाली भाषा शिक्षण जस्ता कार्यक्रम सञ्चालन गर्ने भएकाले विद्यालयहरुले आवश्यक फाराम भर्ने निर्णय गरेको श्रोतव्यक्ति भण्डारीले जानकारी दिनुभयो ।
शैक्षिक वर्ष २०७५ का लागि वार्षिक शैक्षिक क्यालेन्डर बनाउन गाउँ शिक्षा समितीका संयोजक शिक्षा अधिकृत विनोद अधिकारीको संयोजकत्वमा ७ सदस्यीय समिती पनि गठन गरिएको छ । समितीमा गाउँपालिकाभित्र रहेका सबै माध्यामिक विद्यालयका प्रअ र श्रोत व्यक्ति रहेका छन् ।








