प्रधानमन्त्री र मन्त्रीहरु साधुको शरणमा

प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रिपरिषदका वरिष्ठ सदस्यहरुले मन्त्रालय सम्हाल्नु अघि सन्तको आशीर्वाद लिएको खुलेको छ ।

पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा उहाँलाई भैंसीको पूजा गराएर चर्चित भएका सन्त कृष्णदास जी महाराजसँग देउवा सहितका मन्त्रीहरुले आशीर्वाद लिएका हुन् । महाराजले आफ्नो फेसबुक पेजमा प्रधानमन्त्री र मन्त्रीहरुले आशीर्वाद लिइरहेको तस्बिर राख्नुभएको छ ।


तस्बिरमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजुको साथमा देखिनुहुन्छ । दुईवटा तस्बिर मध्य एउटा पुरानो र अर्को चाहिँ प्रधानमन्त्री भैसकेपछिको हो ।

तस्बिरमा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा सन्तलाई दण्डवत गर्दै हुनुहुन्छ ।

गलामा फूलको माला र खादा लगाएर उभिएका अर्का उपप्रधानमन्त्री विजयकुमार गच्छदार पनि शुभेच्छुकको साथमा सन्तसित हुनुहुन्छ ।

अनि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि सन्तसँग आशीर्वाद लिइरहनुभएको छ । सन्त कृष्णदास जीका अनुसार प्रधानमन्त्री देउवा र अर्थमन्त्री कार्कीको तस्बिर नयाँ तथा महरा र गच्छदारको तस्बिर चाहिँ पुरानो हो । प्रधानमन्त्री, मन्त्री र नेताहरु यसरी आफूलाई भेट्न र आशीर्वाद लिनको लागि प्रायः आइरहने उहाँले बताउनुभयो ।








