अपडेट: धादिङमा गएकाे पहिराेमा परि मृत्यु हुनेकाे संख्या ५ पुग्याे, नामसहित

धादिङ, असार १४ । धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने सत्यदेवी र मार्पाकमा गएराति पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ  । सात घर पहिरोले पुरिएको छ भने चारजना घाइते भएका छन् ।

दुई दिनदेखि परेको वर्षाका कारण खनीयाबास गाउँपालिका–५ स्थित सत्यदेवीको साईश्वाँरामा गोले जेठा भनिने राजु गोलेको घर पहिरोले बगाउँदा गोलेकी श्रीमती ३६ बर्षीया वसोधा गुरुङ, १० बर्षीया छोरी लक्ष्मी गुरुङ र ५ बर्षीया सरस्वती गुरुङको पहिरोमा परी मृत्यु भएको  छ ।

त्यस्तै खनीयावास गाउँपालिका–४ का ६५ वर्षीय शमशेर घले र ६२ वर्षीया कोप्ची घलेको पनि पहिराले बगाउँदा मृत्यु भएको छ । उनीहरुको शव आज विहान पहिरोबाट निकालिएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी नायब उपरिक्षक रामबहादुर केसीले बताउनुभयो ।

सो पहिरोबाट चार जनालाई घाइते अवस्थामा गाउँवासीले उद्धार गरी सत्यदेवी स्वास्थ्यचौकीमा उपचारका लागि लगिएको डिएसपी केसीले बताउनुभयो।

यसैगरी, नेत्रावती डपजोङ गाउँपालिकाको मार्पाकमा पाँच घर पहिरोले बगाएको छ । घटनास्थल सदरमुकामबाट एक दिनको पैदल दूरीमा पर्दछ । वर्षात्का कारण जिल्लाको उत्तरी भेगतर्फ जाने सडक भत्किएकाले सदरमुकामबाट मोटर चल्न छाडेको छ । इलाका प्रहरी कार्यालय, दार्खाको प्रहरी टोली चिउरीखर्क पुगिसकेको छ भने साईश्वाँरा भने अझै पुग्न सकेको छैन ।

घटनाको थप विवरण आउन बाँकी रहेको र घटनास्थलमा जतिसक्दो छिटो प्रहरी पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *