साविक विजेता विश्वकप बाहिरः जर्मनको पोस्टमा कोरियाको २ गोल

असार १३, काठमाडौं । विश्वकप फुटवलमा डिफेन्डिङ च्याम्पियन्स जर्मनी एशियाली टीम दक्षिण कोरियासँग स्तब्ध हुँदै घर फर्किएको छ । अहिले भएको ग्रुप एफको खेलमा साविक विजेता जर्मनी दक्षिण कोरियासँग २–० ले स्तब्ध भएको हो ।

७० प्रतिशत बल आफ्नो पोजिसनमा राख्न सफल भएका जर्मनहरु एशियाली टीमका डिफेन्ससँग कमजोर भए । रक्षात्मक र आक्रमक खेल खेल्दै दक्षिण कोरियाली टीमले फुटवलको बादशाह भनिने जर्मनलाई समुह चरणबाटै घर फर्काइ दिएपछि यसपटकको विश्वकप पनि रोचक बन्दै गएको छ ।

यसअघि अन्तिमपटक सन् १९३८ को विश्वकपमा मात्र जर्मनीले पहिलो चरण पार गर्न सकेको थिएन । विश्वकपमा साविक विजेता टोली पहिलो चरणबाटै बाहिरिएको यो लगातार तेस्रो पटक हो ।

खेलमा कोरियाले दुबै गोल इन्जुरी टाइममा पछि गर्न सफल भयो । पहिलो हाफ गोेलरहित बराबरीमा सकिएको थियो ।

कोरियाका लागि इन्जुरी टाइमको तेस्रो मिनेटमा समयमा योङ्ग किमले गोल गरे । उनको गोललाई सहायक रेफ्रीले अफसाइड दिएका थिए । तर, भीएआर रिभ्यूबाट गोल दिइयो ।

त्यसपछि निक्कै दबावमा आएको जर्मनीका गोलकिपर गोल पोस्ट नै छाडेर अगाडी बढेको मौकामा अन्तिम मिनेटमा र ह्युंग मिन सनले खाली पोष्टमा गोल गरी आफ्नो टीमलाई ऐतिहासिक जित दिलाए ।

जर्मनी र कोरिया विचको खेलमा नायक भए कोरियाली गोल रक्षक जो हिन्ह्यो । उनी आजका खेलका म्यान अफ द म्याच नै भए । अग्ला कदका हिन्ह्योले विपक्षीका हरेक प्रहारलाई निस्तेज पारे ।

कोरियाका डिफेन्डरले समेत आज उत्कृष्ट खेल पस्किए । सटिक र ग्राउण्ड बल खेलेका कोरियाली टिमले जर्मनका थोमस मुलर, ओजिल, वेरनरलाई खुलेर खेल्न दिएनन् । उनीहरुले गरेका हरेक प्रहार कि त पोस्ट बाहिर भए, कित कोरियाका गोल रक्षकले विफल पारिदिए ।

यसअघिका कुनै पनि संस्करणमा जर्मनी समूह चरणबाट बाहिरिएको इतिहास थिएन ।

कोरिया यस अघि नै प्रतियोगिताबाटै बाहिरीसकेको थियो । उसले अन्तिम खेलमा साविक विजेतालाई पराजित गरेर विश्वकपलाई सुखद विदाइ गरेको छ । कोरिया यस अघि पहिलो खेलमा स्विडेन सँग पराजित भएको थियो । दोस्रो खेलमा मेक्सिकोसँग पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + fourteen =