अदालतमा रिट हाल्नेहरु मतगणना हुनेमा ढुक्क

शारदानगर । भरतपुर वडा नं १९ मा पुनः मतगणना हुनुपर्छ भन्दै अदालतमा रिट हाल्नेहरु मतगणना हुनेमा ढुक्क भएका छन् । वडा नं १९ का खुला सदस्य गुञ्जमान विक र सोही वडाका अधिवक्ता तुलसीराम पाण्डेले वडा नं १९ मा निर्वाचन आयोगको पुनः मतदान गराउने निर्णय बदर गर्न माग गर्दै अदालतमा रिट हालेका थिए । उनीहरु आज आइतबार अदालतबाट पुनः मतगणनाको फैसला आउनेमा विश्वस्त भएका छन् ।

जेठ १४ गते राति मतगणनाको क्रममा भरतपुर महानगरपालीका वडा नं १९ को मतपत्र च्यातिएपछि भरतपुर महानगरपालिकाले मेयर सहित केही जनप्रतिनिधि अझै पाएको छैन । खुला सदस्यका उम्मेदवार विकले हार्ने भयपछि मतपत्र च्यात्ने गलत नजिर नबसोस् भन्नको लागि अदालतको ढोकासम्म पुगेको बताए । उनले भने, ‘म अदालतले पुनः मतगणना गराएर न्याय दिनेमा विश्वस्त छु ।’
यस्तै सोही वडाका बासिन्दा समेत रहेका अधिवक्ता तुलसीराम पाण्डेले पुनः मतदानमा जाने निर्णय अदालतले गरेमा आत्मघाती हुने बताए । लोकतन्त्रका मूल्य र मान्यता बचाउनको लागि पनि सम्मानित अदालत पुनः मतगणनाको पक्षमा उभिनुपर्ने बताए । पुनः मतगणनाको पक्षमा अदालतको निर्णय आउनेमा ढुक्क रहेको उनले बताए ।
न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले गत मंगलबार भरतपुर महानगरपालिकाको वडा नं १९ मा जेठ २८ गते आइतबारसम्म निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
भरतपुर महानगरपालिका १९ मा पुनःनिर्वाचन नगर्न–नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएसँगै यहाँका राजनीतिक दल फरक–फरक शैलीमा निर्वाचनको प्रचारप्रसारमा जुटेको पाइएको छ ।
नेकपा एमालेले पत्र बनाएर मतदाताको घर–घरमै पुगेर धन्यवाद ज्ञापन गर्दै मतपत्र च्यात्नेका बारेमा मतदातालाई जानकारी गराएको छ । एमालेले मतपत्र च्यात्ने विरुद्धमा जनचेतना अभियान भन्दै घरदैलो गरिरहेको छ । गठबन्धन माओवादी र कांग्रेसले वडाका चार स्थानमा संयुक्त सम्पर्क कार्यालय स्थापना गरी घरदैलो र कोणसभा गरिरहेको छ ।
आज सुनुवाई हुँदैछ भरतपुर महानगरको वडा नं १९ मा पुनः मतदान गर्ने निर्णय रोक्न दिएको अन्तरिम आदेशबारे सर्वोच्च अदालतमा आज सुनुवाई हुँदैछ ।








